ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जनताको अपरिपक्व सोच कि सरकारको लाचारी

२०७९ असार, ३  
पाठक विचार
NA

हामी नेपाली भारतबाट नराम्रो काम चाहिँ चाँडोभन्दा चाँडो सक्छौं तर राम्रो कुरा चाहिँ सिक्नै खोज्दैनौं । के यसरी नै अरूले गरेको राम्रो काम चाहिँ नसिक्ने र नराम्रो काम चाहिँ प्रयोग ल्याउनाले देश विकास हुन्छ त ? पक्कै पनि हुँदैन । हामीले त अरूले गरेको नराम्रो काम होइन कि राम्रो कामको पो सिको गर्नुपर्छ अनि पो हामी स्वावलम्बी हुन सक्छौं । भारतमा योगी आदित्यनाथ मुख्यमन्त्री भएपछि आफ्नो प्रदेशमा पर्ने ठूलाठूला धार्मिक तीर्थस्थलका मन्दिर क्षेत्र वरिपरि रहेका स्थानीय बासिन्दालाई चलनचल्तीको भाउ दिएर घरजग्गा सरकारी बनाए । त्यहाँ व्यवस्थित तरीकाले गेस्ट हाउस, बगैंचा आदि बनाए । उनको यस कार्यमा तीर्थस्थलले पनि सघाएको छ । उनलाई यसो गर्न त्यहाँका ती ठूलाठूला मन्दिरहरूले पनि सघाएका छन् । भारतमा हामीकहाँ जस्तो मन्दिरको देवीदेवतालाई जस्तो पैसाले टाढैबाट हिर्काउने चलन छैन । भगवान्लाई अर्पण गरेको पैसा दान पेटिकामा हाल्ने चलन छ । यसले गर्दा देवतालाई अर्पण गरेको भेटीबाट मन्दिरका पुजारीहरूलाई तलब, सरसफाइ एवं मन्दिरको संरक्षण गर्नुका साथै त्यसबाट बचेको पैसा सरकारलाई विकासका लागि सापटी पनि दिने चलन छ । तर, नेपालमा पशुपतिनाथको भेटी अझै पनि राम्रोसँग व्यवस्थित भइसकेको छैन । अरू मन्दिरहरूको त कुरै छाडौं । हाम्रो पनि मुख्यमुख्य मन्दिरहरूको भेटी त्यसै गरी व्यवस्थित गर्न सकिएको भए २०७२ सालको महाभूकम्पबाट भत्किएका मन्दिरहरूका लागि विदेशी सहायताको आश गर्नुपर्ने थिएन । तर, हामी नेपाली जनता र हाम्रो सरकारको ध्यान नगएकाले त्यसो हुन सकेन । काम गर्ने इच्छाशक्ति नभएर हो वा योजना बनाउन नजानेर हो मन्दिरको भेटी सदुपयोग हुन सकेको छैन ।

हुन त हामी जनता पनि क्षणिक भावनामा लागेर सरकारका कामको विरोध गर्छौं । सरकारी कर्मचारीको विश्वास नभएर पनि यस्तो विरोध भएको हो कि ? पशुपतिनाथ मन्दिरको भेटी व्यवस्थापन गर्न किन सकिएन ? पशुपतिनाथमा भेटी मात्रै राखिएको छैन त्यहाँ पशुपतिनाथलाई चढाइएका सुनचाँदीहरू पनि छन् । त्यहाँ पहिलेदेखि नै राखिएका बहुमूल्य हीराहरू पनि छन् । त्यहाँ रहेका ती सामान कसकसको घरमा केकति पुगे कसैलाई थाहा छैन । यदि पशुपतिको सम्पत्तिको अभिलेख राखिएको भए जनतालाई पशुपतिको सम्पत्ति कति छ भन्ने थाहा हुने थियो । त्यहाँ भएको नगदलाई बैंकको मुद्दती खातामा राखेर सम्पत्ति अझ बढाउन सकिन्थ्यो । ब्याजबाट देशमा जीर्ण हुँदै गएका मठमन्दिरको मर्मतसम्भार गर्न सहज हुने थियो । त्यहाँ भएका सामान कसैले लुकाइछिपाई घर लाने सम्भावना पनि हुँदैन थियो । त्यहाँको अवस्था कस्तो छ भने त्यहाँ भएका ५/ ६ जना मिले भने त्यहाँबाट जेसुकै झिकेर लैजान सक्छन् । यसमा स्थानीयले पनि विचार गर्नु जरुरी छ । हरेक मुख्य मन्दिरहरूमा भएको आम्दानी जति पुजारी र तिनका केही आसेपासेको हातमा जाने गरेको छ । तर, मन्दिरको सरसफाइ, मर्मतसम्भारलगायत सम्पूर्ण काम चाहिँ सरकारको काँधमा पर्छ । त्यसैले यस्तो विषयमा जनताले पनि धैर्यपूर्वक सोच्न जरुरी छ । दुई चार जनाको लहैलहैमा अझ भनौं त्यहाँ कार्यरत पुजारीले आफ्नो स्वार्थका लागि केही पैसा दिएर उकासेको भरमा विरोध गर्नु कुनै पनि हालतमा सही मान्न सकिँदैन ।

बरु आफूलाई विश्वास लागेको प्रतिनिधि राखौं । तर, मन्दिरको आम्दानी व्यवस्थापन गरौं । त्यसलाई रेकर्डमा राखौं र मन्दिरकै विकासका लागि खर्च गरौं । भारतमा यो सम्भव भएको छ भने नेपालमा पनि सम्भव छ । मूर्तिमा पैसा चढाउँदा धर्म हुने र दानपेटिकामा चढाउँदा धर्म नहुने भन्ने होइन । त्यसैले दानपेटिकामा भेटी चढाउने र त्यसको आम्दानी र खर्च व्यवस्थित गर्ने गरौं ।

शिवप्रसाद अर्याल
काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x