ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कसको प्रशंसा गरूँ ?

२०७९ असार, ३  
तीतो मीठो
Image Not Found
author avatar मदन लम्साल

आज प्रशंसै प्रशंसाहरूका पुल बाँध्न मन छ । देखिरहनुभएकै छ मुलुकमा एकसे एक काम हुन थालेका छन् । हिजो यस्ता उस्ता भन्ठानिएकाहरू हेर्दा हेर्दै कस्ता कस्ता भए । व्यवस्थापनमा एउटा सिद्धान्त हुन्छ– राम्रो काम गर्नेलाई प्रोत्साहन र प्रशंसा गर्ने । त्यसैले म पनि कुनै त्यस्तो मौका खोजी नै रहेको छु कि राम्रो गर्नेलाई प्रशंसा गरूँ, नराम्रो नगर्न र राम्रो गर्न प्रेरित गरूँ भनेर ।

हुन त प्रशंसाको पुल बाँध्ने सम्पूर्ण ठेक्का बिचौलिया र चम्चाहरूका लागि छुट्टयाइएको हुन्छ ।

तपाईंले सिमेन्टको पुल देख्नुभएको छ, फलामको पुल हिँड्नुभएको छ, काठको पुल चढ्नुभएको छ । तर प्रशंसाको पुल देख्नुभएको छ त ? हो, म प्रशंसाको पुलबारे फुल कहानी भन्दै छु ।

वास्तवमा धेरै भयो कसैका प्रशंसामा पुल नबाँधेको पनि । देशमा नयाँ नयाँ पद पड्काउनेहरूको संख्या बढ्दो छ । कति गाली मात्र गर्नु यो भएन, त्यो भएन भनेर । तर अब भने प्रशंसाका पुलहरू बाँध्ने समय आएको छ । यसका लागि ‘वाह ! वाह ! तपाईं महान् हुनुहुन्छ, तपाईं जस्तो दुनियाँमा कोही छैन’ जस्ता सिमेन्ट, छड, ढुंगा, गिट्टी, बालुवाहरूको जोहो गर्नतिर लागेको छु ।

‘दुनियाँमा तपाईं नै एकमात्र महान् हो’ जस्तो गिट्टी बजारमा पाइएको छैन । तर नक्कली महानतावाला गिट्टीकै भए पनि जोहो गरेर असली गिट्टीमा मिसाइरहेको छु । वाह ! वाह ! को सिमेन्ट साह्रै महँगो छ, तर पनि बन्दोबस्त गर्दै छु । ‘तपाईंजस्तो कोही छैन’ जस्ता डण्डीको पनि हालत उस्तै छ । तर पुल त बनाउनु आवश्यक नै छ । जसोतसो यी सबै इँटा, ढुंगा, गिट्टी आदि टुक्राटाक्री जम्मा गरिरहेको छु ।

कतैको इँटा, कतैको गिट्टी, बालुवा जम्मा पारेर प्रशंसाको पुल त बाँधियो । तर समस्या के भयो भने नेताका बिचौलिया र चम्चाहरूले जसरी नेताका र विजेताका प्रशंसा गरिरहे, अरूले गरेको प्रशंसाको त त्यहाँ कुनै अर्थ नै भएन । जसरी एउटा नयाँ प्रेमी यस्ता प्रशंसाका पुल अगाडि आफ्नी प्रेमिकाका सामुन्ने लाचार, हताश र निराश हुन पुग्छ ।

हुन त प्रशंसाको पुल बाँध्ने सम्पूर्ण ठेक्का बिचौलिया र चम्चाहरूका लागि छुट्टयाइएको हुन्छ । यदि म जस्ता सामान्य मान्छे पनि प्रशंसाका पुल बाँध्नतिर लागे भने त यसले चम्चागिरीको महलमा चोरी गरेको नै मानिन्छ । त्यसैले प्रशंसाहरूका पुल बाँध्न सम्पूर्ण तयारी गरिसके पनि अहिलेसम्म यो निक्र्योल गर्न सकिरहेको छैन कि कसको चैं प्रशंसाको पुल बनाऊँ भनेर । बालेनको कि गोपीको ? धोतीको कि टोपीको ? राजेशको कि रेणुको ? कस्को ?

तर प्रशंसा भने गर्न खुब मन लागिरहेको छ । यसले शरीरमा हलचल नै मच्चाएको छ । सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल भन्ने नीति शास्त्रको वचनले मन बढो प्रसन्न भइरहेको छ अचेल । रोटी चिल्ला मीठा, कुरा खस्रा मीठाको जमाना रहेन । यो त रोटी खस्रा मीठा कुरा चिल्ला मीठाको जमाना हो । यो ब्रह्मज्ञान भएपछि त मलाई अचेल मीठो बोल्ने चिल्लो बोल्ने अनि प्रशंसै प्रशंसा गरिरहनतिर मात्र ध्यान जान थालेको छ ।  

‘तिम्रा अनारजस्ता दन्तलहर, मृगका जस्ता नयन, चन्द्रमा जस्तो अनुहार’ जस्ता प्रशंसाका पुल बाँधी बाँधीकन कति छट्टुलालहरूले शक्तिमा रहेका कत्ति उग्रद्रष्टा र केकरलोचनाहरूलाई मुर्गा बनाइराखेका छन् । प्रशंसाका यस्ता कारोबार मान्छेलाई मूर्ख बनाउन प्रयोग भइनै रहेको छ । गल्लीका गुण्डा भिखारीप्रसादहरूलाई पनि कुर्सीमा बस्न परमयोग्य छन् भन्ने देखाएर चम्चाहरूले बजारमा खुबै हल्ला गरिरहकै छन् ।

मूर्खजस्तो देखिने हाकिमको प्रशंसाको पुल बाँधेर वर्षौंदेखि कत्ति बुद्धिमानी जन्तुहरूले आफ्नो दुनो सोझ्याउने काम गरिरहेका छन् । कहीँ पनि होस्, जस्तोसुकै होस् यदि प्रशंसा गर्दियो भने प्रशंसा गर्ने मान्छेको काम बनिहाल्छ । देशका समस्त कुर्सीधारीहरूलाई अब यसरी प्रशंसा गर्न थालौं कि हामीले सोचेको काम पूरा भइहाल्छ ।

अहिलेसम्म यो निर्क्योल गर्न सकिरहेको छैन कि कसको चैं प्रशंसाको पुल बनाऊँ भनेर । बालेनको कि गोपीको ? धोतीको कि टोपीको ? राजेशको कि रेणुको ? कस्को ?

कत्ति कुर्सीधारीहरू त आफ्नो कान केबल तारिफ सुन्न मात्र खुला राख्छन् । त्यसैले त अल्छी चम्चाहरू यसको फाइदा उठाइरहेका छन् । जसरी कतिपय पतिहरूले हस्तिनीलाई पनि मृगनयनी भनेर आफ्नो दुनो सोभ्याइरहेका हुन्छन् । यी सबै कुराहरूलाई विचार गर्दा मेरो मन पनि कसै कसैको तारिफ गर्नका लागि आतुर छ । तर अब ककसको तारिफको पुल बाँधूँ त, म बिलखबन्दमा छु ।

यसो हेर्छु, मन्त्री, प्रधानमन्त्रीहरूको तारिफमा पुल बाँधु न त भने हनुमानहरू बाहेक कोही यो मान्न तयार छैनन् कि उनीहरूले देशका लागि केही राम्रो काम गरेका छन् भनेर । कुनै सरकारी उच्च ओहोदाका पदाधिकारीकै प्रशंसाको पुल बाँधूँ न त भन्दा पनि साँच्चै त्यसका लायक कोही प्रशासक दिमागमै आउँदैनन् । बरु साहित्य वा संगीत क्षेत्रका व्यक्तिहरूकै प्रशंसामा केही लेखूँ, वा केही बोलूँ न त भन्दा पनि पुराना साहित्यकारहरू लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल आदिकै मात्र नाम अगाडि आउँछन् । अब यी हस्तीहरूको प्रशंसाको पुल बाँधेर के गर्नु ? किनकि उहिलेका कुरा खुइलिइसके भन्लान् ।

संगीत क्षेत्रमा पनि नारायण गोपाल, गोपाल योञ्जनहरूपछि नेपाली संगीत क्षेत्र खाली खाली जस्तो छ भन्छन् जान्नेसुन्नेहरू । उद्योगी, व्यवसायीहरूको त झन् के प्रशंसा गर्नु ? किनकि कसैले केही राम्रो गरेकै रहेछन् भने पनि नाम लियो भने कालाबजारीहरूलाई प्रशंसा गर्‍योे भनेर बन्द अर्थतन्त्रका हिमायतीहरू मिलेर जुलुस निकाल्न बेर लाउन्नन् ।

किन हो कुन्नि, हिजोआज प्रशंसाका पुलहरू बाँध्न त सारै मन लागिरहेको छ । त्यसैले कालिदासले उपयोग गरेका भन्दा धेरै र राम्रा उपमाहरू कण्ठस्थ पनि गरेको छु प्रशंसाका पुल बाँध्नैका लागि । तर सुपात्रहरू भेटिएका छैनन् । अब कसलाई सोध्न जाऊँ त ? के तपाईंलाई थाहा छ, अहिले ककसको प्रशंसामा पुल बाँध्न सकिन्छ ?

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x