ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वैदेशिक रोजगारीको नाममा ठगी बढ्दो

नक्कली/सक्कली छुट्ट्याउनै सकस

२०७९ असार, ३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगिएको भन्दै दाबी पर्ने क्रम बढेको छ । ठूलो रकम ठगिएको दाबीसाथ वैदेशिक रोजगार विभागमा उजुरी पर्ने क्रम बढ्दा पीडित दाबी गर्नेहरू साँच्चिकै ठगिएका हुन् वा अरू घटनालाई वैदेशिक रोजगारीमा जोडिएको हो, द्विविधा उत्पन्न भएको छ ।

विभागका महानिर्देशक शेषनारायण पौडेल सामान्य लेनदेनको विवाद र रिसइबीलाई समेत वैदेशिक रोजगार ठगी दाबी गर्ने क्रम बढेको बताउँछन् । वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगारीको नाममा ठगेको पुष्टि भए पीडितले बिगोमा ५० प्रतिशत थपेर क्षतिपूर्ति पाउने प्रावधान छ ।

लेनदेन वा अन्य कारोबारलाई वैदेशिक रोजगारीमा दाबी गर्न पाए बढी क्षतिपूर्ति पाइने लोभले विभागमा उजुरी गर्ने क्रम बढेको सम्बद्ध अधिकारी बताउँछन् । महानिर्देशक पौडेलले नक्कली दाबीका कारण वैदेशिक रोजगारीको ठगी समस्या जटिल बन्दै गएको बताए । ‘सक्कली पीडितको समस्या समाधान गर्न कठिन छैन,’ उनले भने, ‘नक्कली उजुरी टुंग्याउन समस्या छ ।’

विभागमा ६ वर्षमा परेका उजुरी केलाउँदा करीब ५ अर्ब रुपैयाँ ठगिएको देखिन्छ । आर्थिक वर्ष (आव) २०७७/७८ मा मात्रै १ अर्ब रुपैयाँभन्दा बढी ठगिएको उजुरी छ । पछिल्लो ६ आवमा परेका उजुरीमा करीब ८२ करोड रुपैयाँ क्षतिपूर्ति दिलाइएको छ । यस अवधिमा ९ हजारभन्दा बढी ठगीका उजुरी परेको विभागले जानकारी दिएको छ । कतिपयले प्रहरी, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा समेत उजुरी गर्छन् ।

कोरोना महामारीका बेला पनि वैदेशिक रोजगारीका नाममा ठगी भएको पाइएको छ, जबकि महामारीका बेला वैदेशिक रोजगारीमा जानेको संख्या निकै घटेको थियो । ‘विभागमा पर्ने धेरैजसो उजुरी दलाल र म्यानपावरविरुद्ध हुन्छ, घरायसी लेनदेन कारोबार नमिल्दा पनि वैदेशिक रोजगार ठगीमा उजुरी गरेको पाइएको छ,’ विभागका एक कर्मचारीले भने ।

सक्कली पीडित भने केही बदमासले घरायसी लेनदेनलाई वैदेशिक रोजगार ठगी भन्दै उजुरी गरे पनि धेरैको हकमा त्यस्तो नहुने बताउँछन् । ‘उजुरी दिँदैमा पैसा पाइने होइन,’ विदेश जान ५ लाख रुपैयाँ दलाललाई बुझाएका रामेछापका कमल कार्कीले भने, ‘ठगी भएको पुष्टि गर्न प्रमाण चाहिन्छ ।’ उनले घरायसी लेनदेनलाई वैदेशिक रोजगारीमा ठगी दाबी गर्न पीडित नभई दलाल सक्रिय भएको हुनसक्ने आशंका गरे ।

पछिल्लो समय दलालले विकसित मुलुकको प्रलोभन देखाएर ठगी धन्दा चलाएको सम्बद्ध पक्षको भनाइ छ । ‘यूरोप, अमेरिका, अस्ट्रेलिया जाने मोहमा धेरै ठगिने गरेको पाइन्छ,’ विभागका एक कर्मचारीले भने, ‘यसरी ठगिनेमा शिक्षित र जान्नेबुझ्ने पनि छन् ।’ आव २०७२/७३ मा विभागमा ठगीका १ हजार ६०० उजुरी परेको थियो । त्यस वर्ष म्यानपावर र दलालले ६९ करोड ५० लाख रुपैयाँ ठगेको दाबी गरिएको थियो । ती उजुरीमा विभागले १० करोड ३६ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको अभिलेख छ ।

त्यस्तै २०७३/७४ मा २ हजार ४०० उजुरीबाट ७५ करोड ७८ लाख रुपैयाँ दाबी गरिएको थियो । यसमा विभागले ४४६ मुद्दा फस्र्योट गरी पीडितलाई १६ करोड रुपैयाँ क्षतिपूर्ति भराइदिएको थियो । आव २०७४/७५ मा २ हजार १०० उजुरीमा १ अर्ब ५२ करोड रुपैयाँ माग दाबी गरिएको थियो । ती दाबीमा विभागले २० करोड १९ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो ।

आव २०७५/७६ मा विभागमा ठगीका १ हजार ३०० उजुरी परे । तिनमा साढे २९ करोड रुपैयाँ माग दाबी थियो । त्यस वर्ष विभागले पीडितलाई ९ करोड ५९ लाख रुपैयाँ क्षतिपूर्ति दिलाएको थियो । आव २०७६/७७ मा ९०० उजुरीमा ३४ करोड ६७ लाख रुपैयाँ माग दाबी गरेकोमा विभागले ५ करोड रुपैयाँ क्षतिपूर्ति दिलाएको अभिलेख छ ।

गत आव २०७७/७८ मा ७८० उजुरीमार्फत १ अर्ब ३२ करोड रुपैयाँ माग दाबी गरिएको थियो । विभागले १२० उजुरी टुंगो लगाउँदै पौने २२ करोड रुपैयाँ क्षतिपूर्ति दिलाएको छ ।

विभागका महानिर्देशक पौडेल पछिल्लो समय वैदेशिक रोजगारीको नाममा हुने ठगी न्यूनीकरण गर्न अनुसन्धान र छानविनमा जोड दिइएको बताउँछन् । ‘यतिखेर विभागका कर्मचारीले मात्र नभई प्रहरीले पनि ठगी गर्नेलाई कारबाही गर्न जोड दिइरहेको छ,’ उनले भने । केही समययता शैक्षिक परामर्शका नाममा स्थापना भएका कन्सल्टेन्सीबाट ठगी बढेको उनको भनाइ छ । त्यस्तै साउदी अरेबियाका रोजगारदाताबाट ठगिनेको संख्या पनि बढेको उनले जानकारी दिए । ‘ठगीको उजुरी बोकेर थुप्रै व्यक्ति आउन थालेका छन्,’ उनले भने, ‘तीमध्ये को सक्कली र को नक्कली छुट्ट्याउन कठिन भइरहेको छ ।’

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x