ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

शेयर लगानीकर्ता आन्दोलनमा

२०७९ असार, ५  
पाठक विचार
NA

घट्दो शेयरबजारका कारण लगानीकर्ता त्रासमा छन् । लगानी आधा गुमाइसकेका कारण उनीहरूको धैर्य पनि टुट्दै गएको छ । त्यही भएर पूँजीबजार सुधारका लागि माग राख्दै भएको आन्दोलनमा समर्थकहरूको भीड लाग्ने गरेको छ ।

शनिवार उनीहरूले विरोध प्रदर्शन गरेका छन् । विगत केही दिनदेखि दैनिकजसो प्रदर्शन गर्दै आएका उनीहरूले बिदाको दिन पारेर पूँजीबजारको नियामक धितोपत्र बोर्डको कार्यालय रहेको खुमलटार क्षेत्रमा विरोध प्रदर्शन गरे । यसबाट कर्मचारी वर्ग नै शेयरबजारका अत्यधिक लगानीकर्ता भएको देखाउँछ ।

बजार सुधारका विभिन्न १९ बुँदे माग राखेर असार १ गतेदेखि लगानीकर्ता तिलक कोइराला आमरण अनशन बसिरहेका छन् । तर, उनको माग पूरा गर्न सरोकारवालाले खासै चासो दिएका छैनन् । त्यसो त शेयरको भाउ बढाउन आन्दोलन गरेको भनेर केही विश्लेषकहरूले आरोप लगाएका छन् । अर्थतन्त्र कमजोर भई शेयरको माग र आपूर्तिमा सन्तुलन नभएर बजार घटेको र अर्थतन्त्रमा सुधार आउनासाथ यो पुनः सही दिशमा अघि बढ्ने उनीहरूको भनाइ छ ।

लगानीकर्ताहरूले शेयर धितोकर्जामा राष्ट्र बैंकले लगाएको ४/१२ करोडको क्याप खारेजी गर्न माग गरेका छन् । तर, नेपाल राष्ट्र बैंकका गभर्नर यो परिवर्तन गर्ने पक्षमा रहेको देखिँदैन । ब्रोकरहरूको सेवा विस्तार तथा बैंकलाई ब्रोकर लाइसेन्स, पूँजीगत लाभकरमा समयसापेक्ष समायोजन, विगतमा भएका सम्झौताको अक्षरशः कार्यान्वयन लगायत माग लगानीकर्ताले राखेका छन् ।

विगतमा पनि यस्तै आन्दोलनका कारण केही माग पूरा भएपछि शेयरबजार बढ्ने गरेको थियो । त्यही भएर लगानीकर्ता आन्दोलनको पक्षमा देखिएका हुन् । सरकारकै कारण शेयरबजार ओरालो लागेको आरोप लगानीकर्ताको छ । जोखीम वहन क्षमता विचार नराखी लगानी गर्नेहरू अहिले निकै तनावमा छन् । यसले बजार झनै तल ओराल्न सक्छ । सरकारले सिंगो अर्थतन्त्रलाई त सुधार गर्ने खालका प्रभावकारी कार्यक्रम नल्याएको अवस्थामा शेयरबजारका लागि के काम गर्ला भन्न सकिँदैन । निर्वाचन नजिक आउँदै गरेकाले लाखौं लगानीकर्तालाई नभड्काउन सरकारले माग सम्बोधन गर्नेमा आन्दोलनकारी विश्वस्त देखिन्छन् । तर, के यसरी बढेको बजारले गति लेला ? आत्तिएका लगानीकर्ताले कर्जा पाए लगानी गर्लान् त ? त्यसो त बजार निकै तल आइसकेकाले अब योभन्दा तल बजार नझर्ने केहीको प्रतिक्रिया पाइन्छ । बैंकको ब्याजदर महँगो भएको र त्यसअनुसार शेयरले प्रतिफल दिन नसक्ने अवस्थामा कर्जा खुकुलो बनाउनुमात्रै समस्याका समाधान नहुन सक्छ ।

विनोद न्यौपाने
कलंकी, काठमाडौं ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x