कमर्ज एन्ड ट्रष्ट बैंकले २९ औं वाणिज्य बैंकका रूपमा आगामी साताबाट कारोबार शुरू गर्ने भएको छ । गत बिहीवार नेपाल राष्ट्र बैंकबाट बैंक सञ्चालनको अनुमति पाएको हो ।
कमर्ज एण्ड ट्रष्ट बैंक २ अर्बको चुक्ता पूँजीमा स्थापना हुन लागेको हो । त्यसमध्ये १ अर्ब ४० करोड संस्थापक शेयरधनीको लगानी छ । बाँकी ६० करोडका लागि सर्वसाधारणमा शेयर जारी गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले बताए । बैंकमा ३ सय ६० जना संस्थापक शेयरधनी छन् ।
बैंकले कमलादीस्थित केन्द्रीय कार्यालय एवम् मुख्य शाखाबाट कारोबार शुरू गर्नेछ । ‘यो वर्षभित्र काठमाडौंमा न्यूनतम दुई शाखा खोल्ने योजनामा छौं, ’ भट्टराईले भने । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत उपत्यकामा शाखा खोल्न उपत्यकाबाहिर दुई शाखा खोल्नुपर्ने निर्देशन जारी गरेको छ ।
अन्य दुई पनि तयारीमा
दुई महिनाभित्र अन्य दुई वाणिज्य बैंक पनि थपिने भएका छन् । सिभिल बैंक र सेन्चुरी बैंकले डेढ साताभित्रै सञ्चालनको अनुमतिका लागि राष्ट्र बैंकमा निवेदन दिन लागेका हुन् ।
वर्ष ६ अंक २, आइतवार २० भदौ, २०६७