ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पूँजी बजार सुधारको किचलो

२०७९ असार, ८  
सम्पादकीय
Image Not Found

नेपालको शेयरबजार ३२ सयको उच्चतम विन्दुबाट झरेर १९ सयको वरिपरि घुमिरहेका बेला लगानीकर्ताले ठूलो रकम गुमाइसकेका छन् । यही बेला शेयरबजारमा सुधारको माग राखेर आन्दोलन शुरू गरिएको छ । आन्दोलनमा अघि सारिएका कतिपय माग जायज पनि छन् । तर, अहिलेको आन्दोलन समग्र पूँजी बजारको भन्दा पनि शेयर ट्रेडर (सट्टेबाज) को हो । नियामक निकायले ४/१२ को मागलाई सम्बोधन गर्ने हो भने सम्भवत: तुरुन्त यो आन्दोलन रोकिन सक्छ ।

आन्दोलनको माग पूँजी बजारको सुधारका लागि भनिए पनि बजार उकालो लाग्न थालेपछि त्यसै हराएर जाने गरेको छ । अहिले पनि त्यस्तै भइरहेको छ ।

यस्तो आन्दोलनको माग पूँजी बजारको सुधारका लागि भनिए पनि बजार उकालो लाग्न थालेपछि त्यसै हराएर जाने गरेको छ । अहिले पनि त्यस्तै भइरहेको छ । पूँजी बजार सुधारका लागि ४/१२ को माग पूरा गर्नु मात्रै समस्याको समाधान होइन । पूँजी बजारको सुधारका लागि लगानीको अनेक उपकरण थप्न बाँकी नै छ । त्यसतर्फ नियामकको ध्यान जानु जरुरी छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक बजारलाई हेरेर ४/१२ को लगानी सीमा तोकेको हो । यसलाई आवश्यक देखे उसले परिवर्तन गर्न पनि सक्छ । यसमा धितोपत्र बोर्डको कुनै भूमिका हुँदैन । तर, बजार सुधारका लागि बोर्डले गर्नुपर्ने अन्य थुप्रै काम थाती रहेका छन् ।

अझै शेयरबजारमा को दीर्घकालीन लगानीकर्ता हुन् र को सट्टेबाज हुन् भन्ने स्पष्ट किटान भइसकेको छैन । यद्यपि ३६५ दिनभन्दा बढी समयसम्म शेयर होल्ड गर्नेलाई दीर्घकालीन लगानीकर्ता मानेर उनीहरूलाई पूँजीगत लाभकर केही कम गरिएको छ । यस्तो कर निकै कम हुनुपर्ने माग आन्दोलनकारीको छ जुन निकै जायज छ ।

बजारमा सट्टेबाज र लगानीकर्ता दुवैको उपस्थिति आवश्यक हुन्छ । दुवैको भूमिका फरक फरक हुन्छ । सट्टेबाजहरूकै कारण शेयरबजारमा तरलताको सृजना हुन्छ । त्यसैले बजारमा यिनीहरूको सक्रियता अपेक्षित हुन्छ । तर, सट्टेबाजहरूका लागि आवश्यक उपकरण थप्न बाँकी छ । शर्ट सेल, इन्ट्रा डे कारोबार, फ्युचर, अप्सन, इन्डेक्स ट्रेडिङजस्ता उपकरण थपेर सट्टेबाजहरूलाई थप कारोबारको अवसर दिनुपर्छ । सट्टेबाजहरू बढी जोखिम लिन तयार हुने भएकाले त्यसैअनुसारका थप उपकरण आवश्यक परेको हो । त्यस्तै अकस्मात् नियम परिवर्तन गरेर उनीहरूलाई मर्कामा पार्ने काम पनि नियामक निकायले गर्नु हुँदैन । तर, बजार आफ्नै आन्तरिक कारणले घटबढ हुँदा सट्टेवाजले आन्दोलन गर्नु पनि जायज होइन ।

नेपालमा लगानीकर्ताभन्दा सट्टेबाजहरू निकै बढी मुखर छन् । खासगरी लगानीकर्ता संगठनका नाममा थुप्रै सट्टेबाज सक्रिय छन् जो बजार अलिक तल आउँदा होहल्ला गरेर नियामकलाई नियमनहरू परिवर्तन गर्न दबाब दिन्छन् । केही त आफ्नै मिडिया नै चलाएर त्यसमार्फत सर्वसाधारणलाई विभिन्न शेयर किन्न उक्साएर आफूले नाफा गर्ने गरेका पनि पाइन्छन् । तिनलाई आवश्यक नियम बनाएर नियन्त्रण गर्न जरुरी भइसकेको छ । यस्तै आन्दोलनहरूले गर्दा शेयरबजार सधैं बढ्दै जानुपर्छ भन्ने जस्तो सोच अत्यधिक लगानीकर्तामा (सर्वसाधारणमा समेत) छ । यो प्रवृत्तिले बजारलाई दिगो बनाउँदैन । ब्याजदरमा परिवर्तनका कारण अहिले विश्वका प्राय: शेयरबजार ओरालो लागेको पाइन्छ । तर, ती देशमा नेपालमा जस्तो आन्दोलन भएको पाइँदैन ।

शेयरबजारलाई आधुनिक बनाउने काम अझै पूरा हुन भने सकेको छैन । ती काम भएमा पूँजी बजारमा लगानीका लागि धेरै विकल्प उपलब्ध हुन्छन् । सट्टेबाज र लगानीकर्ताले आफ्नो लगानीको उद्देश्यअनुसार उपकरण चयन गर्न पाउँछन् । संसद्को अर्थसमितिले पूँजी बजारका साथै समग्र मुद्रा बजार तथा वित्तीय क्षेत्रको समेत अध्ययन गर्न उपसमिति गठन गरेको थियो । त्यस समितिले दिएका ५८ बुँदे सुझावमध्ये केही अझै कार्यान्वयनमा जान बाँकी नै छन् ।

यस्तोमा शेयरबजारका सुधारका बाँकी काम तत्कालै सम्पन्न गर्र्नेतिर लाग्नुपर्छ । लगानीकर्ताका माग राम्ररी अध्ययन गरेर दीर्घकालीन लगानीकर्ताको हित सुरक्षित हुने गरी नीति बनाउनु शेयरबजारको दिगोपनका लागि आवश्यक मात्र होइन, अनिवार्य नै देखिन्छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x