ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

छायामा परेको पर्यटकीय धार्मिक स्थल

स्थानीय सक्रिय भए प्रशस्त छ आर्थिक अवसर

२०७९ असार, ८  
लेख | दृष्टिकोण
Image Not Found
author avatar कमलराज ढुंगेल

केही दिनअगाडि म खोटाङ जिल्लामा पर्ने धार्मिक स्थल हलेसी महादेव पुगेको थिएँ । प्राकृतिक ओडारलाई मर्मत सम्भार गरेर आकर्षक र सुन्दर बनाइएको छ । ओडारको तल्लो भागमा सजिसजाउ र सिंगारपटार गरेर महादेवको स्थान बनाइएको रहेछ । यो ओडार आफै सुन्दर त्यसमाथि यसको तल्लो भागमा पुग्न ढुंगा बिछ्याएर खुड्किला वा सिँढी बनाइएको छ । दर्शनार्थीहरूको सुरक्षाको निमित्त खुड्किलाहरूको छेउमा माथिदेखि तलसम्म रेलिङ निर्माण गरिएको छ । मन्दिरमा दर्शन गर्न पालो कुरेर बस्नुपर्छ । पुजारी ओडारको तल्लो भागमा बसेर दर्शनार्थीलाई टीका र पाती वितरण गर्छन् ।

महादेवको मूर्तिलाई मर्मत, सम्भार गरी केही आधुनिक संरचना बनाए, महादेव खर्कले हलेसीको रूप लिन सक्छ । यसबाट बैतेश्वरवासीलाई मात्र होइन, सबै दोलखावासीलाई रोजगारी सृजना गराउन सक्छ ।

ओडारको बाहिरी भाग आकर्षकका साथै आधुनिक र परम्परागत सामग्री प्रयोग गरी सजाइएको छ । तीर्थालुलाई धूपबत्ती बाल्न सुविधायुक्त स्थान बनाइएको छ । यस स्थानको वरिपरि दुनाटपरीमा पाती र अक्षता लिएर ब्राह्मणहरू बसिरहेका हुन्छन् । यहाँ दर्शनार्थीहरू ब्राह्मणहरूका हातबाट टीका, फूलमाला र डोरो बाँध्न पालो कुरेर बसिरहेका हुन्छन् । यहाँ यस प्रकारका करीब १५–२० ब्राह्मणहरूले रोजगारी पाइरहेका छन् । उनीहरूको दैनिक आम्दानी करीब औसतमा १ हजार हुँदो रहेछ । यहाँको मन्दिरछेउमा धूप, बत्ती, टीका, फूल बेचेर कैयन् मानिसले जीविका चलाएका छन् ।

प्राकृतिक र पछि निर्मित दुवैको सम्मिश्रणले हलेसीको प्राकृतिक ओडारलाई आकर्षित बनाएको रहेछ । धार्मिकस्थल भएकाले आन्तरिक पर्यटकको घुइँचो लाग्छ । पर्याप्त मात्रामा लज र होटेलहरूको विकास भएको छ । यो व्यवसायबाट स्थानीय हजारांै मानिसलाई रोजगारी प्रदान गरेका छन् । आन्तरिक पर्यटक मात्र होइन, यहाँ बाह्य पर्यटक पनि आकर्षित भइरहेका छन् ।

धार्मिक स्थल भएकाले भारतीय पर्यटकहरू जानु स्वाभाविक नै हो । यसका अतिरिक्त यूरोप, अमेरिकाका पर्यटक पनि यस ठाउँको भ्रमण गर्न आउँदा रहेछन् । यहाँका लज, होटेल र रिसोर्टहरूमा पर्यटकको घुइँचो देखिन्छ । रिसोर्टहरू पहिला नै  बुकिङ गरिएन भने अचानक जाने तीर्थालुहरूले बस्ने ठाउँ पाउनै कठिन पर्छ । यो ठाउँमा रहेको प्राकृतिक ओडारले हलेसीवासीको मुहार नै फेरेको रहेछ ।

हलेसीमा रहेको प्राकृतिक ओडारको अवलोकनले मेरो मन मस्तिष्कमा सम्झना गरायो । मैले आफ्नो बाल्यकालमा देखेको महादेव खर्कमा रहेको प्राकृतिक ओडारको । यो दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकाको वार्ड नं ४ मा रहेको छ । यो ओडारको भूबनोट र हलेसीको ओडारको भूबनोवट वा प्रकृति एकैनासको छ । फरक यति हो, महादेव खर्कमा बाक्लो जंगल मात्र छ भने हलेसीमा पातलो पोथ्रे जंगलका साथै घना बस्ती । महादेव खर्कको प्राकृतिक ओडार हनुमन्ते पर्वत शृंखलामा अवस्थित छ । तर, यो ओडारको जानकारी नभएर नै होला छायामा परेको छ । जसरी हलेसीको प्राकृतिक ओडारमा महादेवको मूर्ति रहेको छ त्यसरी नै महादेव खर्कको प्राकृतिक ओडारमा पनि महादेवको मूर्ति रहेको छ । माथि नै उल्लेख गरिएको छ कि हलेसीमा रहेको ओडारलाई विभिन्न आधुनिक तरीकाले निर्माण गरी धार्मिक पर्यटकीय स्थलरूपमा आकर्षक बनाइएको छ । तर, महादेव खर्कको महादेव स्थानको आधुनिक स्याहारसम्भार गरेर पर्यटकीय स्थल बनाउने प्रयत्न भएको देखिँदैन । यस ठाउँलाई आधुनिक रूप दिने हो भने हलेसीजस्तै बनाउन सकिन्छ । यहाँ पनि हलेसीमा जस्तै पर्यटकको घुइँचो नै लाग्न सक्ने प्रबल सम्भावना रहेको छ । तीर्थालुहरूले महादेव खर्कको मात्र भ्रमण गर्ने छैनन् । यस स्थान वरपर अत्यन्त चर्चामा रहेका दोलखा जिल्लाका धार्मिक स्थलहरू जस्तै कालिञ्चोक, दोलखा भीमसेन स्थान, शैलुंगेश्वरीजस्ता धार्मिक स्थलको पनि भ्रमण अवलोकन गर्ने छन् । यी सबै शैलुङ र हनुमन्ते पर्वत शृंखलामा पर्छन् । महादेव खर्कको महादेब स्थानबाहेक अन्य धार्मिक स्थलहरूको भ्रमण गर्न यातायातको सुविधा रहेको छ ।

हनुमन्ते र शैलुङ पर्वत आम्नेसाम्ने रहेका छन् । महादेव खर्क अतिरमणीय ठाउँ भएकाले यदि पर्यटकीय स्थल बनाउन सक्ने हो भने मानिसको घुइँचो लाग्न सक्ने सम्भावना छ । यसका निमित्त शैलुङले केही वामे सर्न लागिरहेको छ । होटेल, लज र रिसोर्टहरूको विकासले यस ठाउँलाई पर्यटकीय स्थलमा परिवर्तित गराउनेछ । जसरी शैलुङ चर्चित र रमणीय हुँदाहँुदै पनि पर्यटकीय स्थलका लागि यसले वामे सर्न सकेको छैन त्यसरी नै हनुमन्ते शृंखलाको महादेव खर्कमा रहेको महादेव स्थानले चर्चासम्म पनि पाउन सकेको देखिँदैन । यसो हुनुको कारण यो ठाउँमा मानिसको बस्ती नहुनु हो । यो ठाउँको उत्तर–पश्चिममा मैनापोखरी पर्छ भने पूर्वमा जिरी । जिरी र मैनापोखरी बीचमा रहेको यस महादेव खर्कमा रहेको महादेव स्थानमा आन्तरिक पर्यटकको घुइँचो लाग्न सक्ने सम्भावना छ ।

शैलुङ र हनुमन्ते आम्नेसाम्ने भए पनि तामाकोशीले छुट्ट्याएकाले एक अर्कोले जोडिने अवसर भने पाएका छैनन् । यी दुई डाँडाले घेरेर एउटा सुन्दर उपत्यकाको निर्माण भएको छ । यतिमात्र होइन, दोलखा जिल्लाको सदरमुकाम शैलुङ डाँडासँगै जोडिएर रहेको पर्वत शृंखलामा पर्छ । यही पर्वत शृंखलामा कालिञ्चोक पर्छ । यो एउटा चर्चित धार्मिक स्थल हो, जहाँ आन्तरिक पर्यटकको घुइँचो लागिरहेको हुन्छ । त्यतिमात्र होइन, दोलखा बजारस्थित भीमसेन स्थान पनि यसै पर्वत शृंखलामा छ ।

दोलखावासी विशेष गरेर बैतेश्वर गाउँपालिकाका बासिन्दाको गहनाका रूपमा रहेको हनुमन्ते डाँडो आफैमा महत्त्वपूर्ण त छँदै छ, त्यसमा पनि यसको मध्य भागबाट लामोसाँगु जिरी सडकको निर्माणले यसको सुन्दरतामा नयाँ अध्याय थपिदिएको छ । यसको टुप्पोमा रहेको हनुमानको स्थान र माथि उल्लेख गरिएअनुसार एउटा आकर्षक प्राकृतिक ओडार पनि रहेको छ, जुन यसको गहना हो । यो ओडारमा महादेवको मूर्ति रहेको छ, जसमा जिल्लावासीहरूको दृष्टि पर्न सकेको छैन । त्यसको विकास गर्ने हो भने ठूलो धार्मिक स्थल बन्न सक्छ, जसरी हलेसीमा रहेको प्राकृतिक ओडारमा धार्मिक पर्यटकहरूको लर्को लागिरहेको छ । यो स्थानमा यातायातको सुविधा पुग्न सकेको छैन, जुन लामोसाँगु जिरी सडकबाट अन्दाजी पाँच किलोमीटरको दूरीमा रहेको छ । बैतेश्वर गाउँपालिकाका वासीले यसको विकासमा पहल गरेको खण्डमा यातायात सुविधा पनि पुग्न सक्छ । यसमा रहेको महादेवको मूर्तिलाइ मर्मत, सम्भार गरी केही आधुनिक संरचना बनाउन आवश्यक छ । यसको विकासले बैतेश्वर वासीलाई मात्र होइन, सबै दोलखावासीलाई रोजगारीको सृजना गराउन सक्छ । यसको तल्लापट्टि समथल भूमि छ । यसमा आधुनिक होटेलहरूको निर्माणका साथै रिसोर्टहरूको विकास हुन सक्छ । राम्रो र स्वस्थ हावापानी रहेकाले आन्तरिक धार्मिक पर्यटकमात्र होइन, बाह्य पर्यटकको भ्रमणको पनि थलो बन्न सक्नेछ । यसको विकासको निमित्त यहाँका बासिन्दाले पहल गर्न जरुरी छ ।

लेखक अर्थशास्त्री हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x