काठमाडौं (अस) । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । समितिले ‘कृषि तथा पशुपन्छी बीमाको वर्तमान अवस्था, कार्यान्वयनमा देखिएका समस्या तथा समाधानका उपाय’ विषयमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवं प्रभावकारी बनाएर गाउँगाउँसम्म पुर्याउने उद्देश्यले कृषक लगायत सम्बद्ध सरोकारवालाको सहभागितामा सोमवार उक्त कार्यक्रम गरिएको समितिले जानकारी दिएको छ ।
कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेमप्रसाद दंगालले हाल पाँच प्रतिशत कृषकमा मात्र सीमित रहेको कृषि तथा पशुपन्छी बीमालाई बढाउनुपर्ने बताए । उनले कम्तीमा ९५ प्रतिशत कृषकमा कृषि तथा पशुबीमा पुर्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले कृषि तथा पशुपन्छी बीमाको कार्यान्वयनमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयले रियल टाइम बेस्ड सफ्टवेयर निर्माण गरी कार्यान्वयनमा ल्याउने प्रक्रिया अगाडि बढाएको बताए । पछिल्लो समय पशुपन्छी बीमा र व्यावसायिक कृषिको बीमा गर्ने कृषकको संख्या बढ्दै गएको दाबी समेत उनले गरे ।
कृषि तथा पशुपन्छी बीमालाई प्रतिस्पर्धात्मक रूपमा अगाडि बढाउन प्रत्येक जिल्लामा कम्तीमा दुईओटा बीमा कम्पनीलाई जिम्मा दिनुपर्ने सचिव शर्माको भनाइ थियो । धान, मकै, गहुँ लगायत बालीको समूहगत बीमा गर्नेतर्फ पनि बीमा कम्पनीहरूले ध्यान पुर्याउनुपर्ने उनले बताए ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कृषि तथा पशुपन्छी बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समितिले लक्ष्य दिएर बीमा कम्पनीहरूलाई जिल्ला जिल्लामा खटाएको बताए । आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको लघुबीमा कार्यक्रम चार–पाँच महीनाभित्रै प्रत्येक प्रदेशमा नमूनाका रूपमा सञ्चालन गरिने उनले बताए ।