ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

किन भइरहेको छ बेलायतमा ३० वर्षयताकै ठूलो रेल हड्ताल ? 

२०७९ असार, ८  
अन्तरराष्ट्रिय
Image Not Found

असार ८, लन्डन (बेलायत) । बेलायतको रोजगारी बजार अहिले समस्याग्रस्त छ । अर्थतन्त्रलाई चलायमान बनाउन त्यहाँ पर्याप्त कामदार छैनन् । महँगी आकाशिएपछि तलबले जिविका धान्न नसक्ने भएपछि कर्मचारीहरुमा असन्तुष्टी बढिरहेको छ ।

मंगलवार हजारौं रेल कर्मचारीहरुले तलब बढाउनु पर्ने र काम गर्ने वातावरणमा सुधार गर्नुपर्ने माग राख्दै हड्ताल शुरु गरेका छन् । यो ३० वर्षयताकै ठूलो रेल हड्ताल भएको बताइएको छ । हड्तालका कारण देशभरमा रेल सेवा अवरुद्ध भएका छन् । 

१० औं लाख यात्रीहरु प्रभावित बनेका छन् । मंगलवारदेखि हड्ताल शुरु भएको भएपनि बुधवार भने हड्ताल गरिएको छैन । यो दिन भने करीब ६० प्रतिशत रेल चल्ने अपेक्षा गरिएको छ ।

यद्यपि, वार्ता सफल भएन भने बिहीवार र शनिवार फेरि हड्ताल हुनेछ । लन्डन भूमिगत रेलसेवाका कर्मचारीहरुले पनि छुट्टै हड्ताल गरेपछि ट्यूब सेवा रोकिएको छ । रेल्वेको यो हड्ताल महीनौंसम्म चल्न सक्ने रेल, जल र यातायात कर्मचारी राष्ट्रिय संघले बताएको छ । 

महँगी बढेअनुरुप तलब नभएपछि शिक्षक, नर्स र अन्य कामदारहरुले पनि यस्तै खालको हड्ताल गर्न सक्ने सम्भावना बढेको छ । यो वर्षको अन्त्यतिर बेलायतमा महँगी थप बढेर ११ प्रतिशतमाथि उक्लिने प्रक्षेपण गरिएको छ । आफू हड्ताल गर्न तयार रहेको सार्वजनिक क्षेत्रका १३ लाख कामदारको प्रतिनिधित्व गर्ने संगठन यूनिसनले बताएको थियो ।

अहिले भइरहेको रेल्वे हड्तालले पर्यटन विलासी र थिएटर उद्योगलाई १ अर्ब पाउन्डभन्दा धेरैको घाटा हुने अनुमान गरिएको छ । कर्मचारीहरुले तलब ७ प्रतिशतले बढाउनु पर्ने माग राखेर हड्ताल गरिरहेका छन् ।

तर रोजगारदाताहरुले अधिकतम् ३ प्रतिशतले मात्रै तलब बढाउने बताइरहेका छन् । महँगी दर हाल ९ प्रतिशत रहेको र शरदमा ११ प्रतिशतमा उक्लिने प्रक्षेपण बेलायती केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ (बीओई) ले गरेको छ । 
बेलायतमा अहिले कामदार अभाव देखिएको छ ।

आर्थिक सहकार्य तथा विकासका लागि संगठन (ओईसीडी) का अनुसार श्रम बलमा काम गर्ने उमेर समूहको हिस्सा सन् २०२० देखि २०२१ को बीचमा घट्ने बेलायत जीसेभेनको एक मात्र देश हो ।

आगामी वर्ष बेलायती अर्थतन्त्र खुम्चने ओईसीडीको अनुमान छ । सन् २०२३ मा जी सेभेनका अधिकांश देश बढ्ने अपेक्षा गरिएको छ । अहिले झन्डै १० लाख काम गर्ने उमेर समूहका बेलायतीहरु कार्यबलबाट गायब भइरहेका छन् । दीर्घकालीन स्वास्थ्य समस्याका कारण ५० वर्ष माथिका कामदारहरुले धमाधम जागिर छाडिरहेका छन् । 

बेलायतमा काम गर्नका लागि सधैं काम गर्न तयार कामदार पाइन्थ्यो । तर यूरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमनपछि यूरोपेली कामदारहरुलाई बेलायतमा काम गर्न गाह्रो भएको छ । विगतमा कामदार अभाव हुँदा पनि यूरोपका अन्य देशबाट कामदारहरु आउने भएकोले समस्या हुँदैनथ्यो । तर अहिले यस्तो छैन ।  महँगी बढेपछि मानिसहरुले थोरै तलब भएको जागिर छाडिरहेका छन् ।

मानिसहरु राम्रो तलब पाइने जागिर खोज्नतिर लागेका छन् । बेलायतमा तलब बढ्दै नबढेको होइन, बढिरहेको छ । तर तलब वृद्धि मुद्रास्फीतिसँग समायोजन गर्दा भने गत वर्षको सोही अवधिको तुलनामा फेब्रअरीदेखि अप्रिलको बीचमा तलब २ दशमलव २ प्रतिशत  थोरै छ ।

वास्तविक तलबमा आएको यो कमी एक दशकभन्दा बढी समययताकै धेरै भएको त्यहाँको सरकारी तथ्यांक कार्यालयले बताएको छ । महँगी नियन्त्रण गर्न केन्द्रीय बैंक ‘बैंक अफ इंगल्यान्ड’ ले कर्मचारीहरुलाई तलब वृद्धिको माग नगर्न भनेका छन् । महँगी नियन्त्रण गर्न बीओईले डिसेम्बरयता पाँच पटक ब्याजदर बढाइसकेको छ । एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x