असार ८, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मोरू डिजिटल वालेटबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
बिगत २० वर्षदेखि कार्ड लगायत भुक्तानीका विभिन्न सेवा दिदैं आएका स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरू डिजिटल वालेटबीच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।
यस सम्झौतासँगै ५ लाख मोरू वालेट प्रयोगकर्ताले १ लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् भने मोरू वालेटमार्फत विभिन्न व्यापार-व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् ।
उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्यौट गर्ने भएकाले इ.एम.भि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने बताइएको छ ।
पे नेप (मोरू) कोे कार्यलयमा आयोजित कार्यक्रमकाबीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको होे ।