ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सफ्टपावरको समय

२०७९ असार, ९  
सम्पादकीय
Jagdamba Supershine Image Not Found

जुन २१ मा नेपाल भारतलगायत विश्वभर योग दिवस मनाइयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघको ६९औं महासभामा अन्तरराष्ट्रिय योग दिवस घोषणा गर्न प्रस्ताव गरेका थिए । त्यसको पहिलो समर्थक नेपाल बनेको थियो । त्यसयता हरेक वर्ष योग दिवस मनाउँदै आइएको छ । तर, योगमा भारतको एकाधिकार जस्तो देखिएको छ जुन गलत हो । यसमा नेपालले आफ्नो मौलिकता देखाएर यसलाई सफ्टपावरका रूपमा प्रयोग गर्नु आवश्यक छ ।

पुराना संस्कृति, विचार र जीवनशैलीका कुरालाई अर्थतन्त्र विस्तार र विदेशमाझ आफ्नो अलग पहिचान देखाउने गरी बलियोसँग उपयोग गर्नु जरुरी छ ।

नेपालले माघ १ गतेलाई योग दिवस मनाउँदै आएको थियो । तर, जुन २१ लाई पनि योग दिवस मनाउन थालिएपछि माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा सीमित गरिएको छ । अहिले विश्वभर योग अभ्यासको जुन लहर छ त्यसले पूर्वीय जीवन शैली र संस्कारलाई विश्वव्यापी बनाएको छ । भारतका पतञ्जली योगपीठका बाबा रामदेवले योगलाई शारीरिक स्वस्थताका लागि आवश्यक व्यायामका रूपमा विश्वमाझ प्रतिस्थापित गराएका छन् । तर, उनले विश्वभर फैलाएको योग हठयोग हो, जसको प्रवर्तक नेपालका गुरु गोरक्षनाथ हुन् ।

योगका विविध स्वरूप छन् । राजयोग र ज्ञानयोग पनि प्रचलनमा रहेको छ । योग दर्शनका प्रवर्तक पतञ्जलिले यम, नियम, आसन, प्रणायाम, प्रत्यहार, ध्यान, धारणा र समाधि गरी योगका आठ नियम प्रतिपादन गरेका छन् । अहिले योग भनेर विश्वमा जसलाई अभ्यासमा ल्याइएको छ त्यो आसन र प्राणायाम मात्रै हुन् । त्यसैले अहिले जुन खालको हठ योग विश्वभर प्रचलित छ त्यसको जन्म नेपालमा भएको हो । यो तथ्य नेपालले राम्ररी विश्वलाई बुझाउन सक्नुपर्छ । योगको माध्यमबाट भारतले जसरी सफ्टपावर प्राप्त गरेको छ त्यो नेपालले प्राप्त गर्नुपर्ने हो । तर, नेपालले आफ्नो चिनारीलाई विश्वमाझ राख्न सकिरहेको छैन ।

नेपालको परराष्ट्र नीतिले पनि सफ्टपावरलाई केही न केही मान्यता दिएको छ । नेपालको परम्परागत विशिष्टताहरूको प्रचारप्रसार गर्ने, लुम्बिनी र पाशुपत क्षेत्रलाई बौद्ध र हिन्दू दर्शन र सभ्यताको प्रमुख केन्द्रका रूपमा प्रवर्द्धन गर्ने र नेपालको प्राचीन विशिष्टतालाई विश्वसामु उजागर गर्ने नीति लिइएको छ । नेपाली खाना, नेपाली चाडपर्व, जीवनशैली सफ्टपावर हुन् । तर, नेपालले आफ्नो यस्तो सफ्टपावरलाई अझै राम्ररी बुझ्न सकेको छैन । सफ्टपावरको संरक्षण र प्रवर्द्धनबाट ठूलो लाभ लिन सकिन्छ । त्यसैले नेपालका परम्परागत विविध प्रचलनलाई आधुनिकतासँग जोडेर लाभ लिन पहल गर्नु आवश्यक देखिन्छ ।

उदाहरणका लागि नेपालमा विद्यमान धामीझाँक्रीलाई लिन सकिन्छ । यसलाई अन्धविश्वास र गलत परम्परा भनेर निन्दा गर्नुको साटो धामीझाँक्रीलाई आधुनिक उपचारसँग जोड्न सकिन्छ । यसलाई मनोविज्ञानसँग जोडेर यसको मौलिकताको संरक्षण र प्रचार गर्न सके यही हेर्न र अध्ययन गर्नकै लागि पनि पर्यटकहरू नेपाल आउन सक्छन् । त्यस्तै विश्वका अधिकांश मुलुकमा यस्तो चलन रहेकाले उपचारकै लागि पनि विदेशीहरू नेपाल आउन सक्छन् । अहिले नेपाली खानाले विश्वव्यापी चर्चा पाउन थालेको छ । यो एकप्रकारको सफ्टपावर हो तर नेपालीहरूले विदेशी मुलुकमा रेस्टुराँ खोले पनि नेपाली खानाको पहिचान भने दिन सकेका छैनन् ।

बौद्ध र हिन्दू संस्कृतिका लागि नेपाल विशिष्ट क्षेत्र हो । विश्वभरका हिन्दू र बौद्धका लागि नेपाल पवित्रतम भूमि हो । तर, नेपालले यो पहिचानलाई जोगाएर त्यसबाट आर्थिक लाभ लिन प्रयास नै गरेको पाइँदैन । मुलुकका लागि अनावश्यक बोझ मान्ने सोचका कारण यस्तो शक्ति जोगाउन पहल नगर्दा यो सफ्टपावरमा भारतको एकाधिकार कायम हुँदै गएको छ । अझै समय छ । सफ्टपावरलाई चिनेर त्यसलाई मुलुकको समृद्धिसँग जोड्न सकिन्छ । यसका लागि नेपालले विशेष रणनीति नै लिनुपर्ने हुन्छ । पुराना कुरा भनेका नराम्रा नै हुन् र नयाँ चाहिँ राम्रा हुन् भन्ने सोच बदलेर पुराना संस्कृति, विचार र जीवनशैलीका कुरालाई अर्थतन्त्र विस्तार र विदेशमाझ आफ्नो अलग पहिचान देखाउने गरी बलियोसँग उपयोग गर्नु जरुरी छ । नेपालले योगलाई ब्रान्डिङ गर्न सक्ने सम्भावना भएकाले पर्यटन विकासमा मद्दत पुग्न सक्छ । साथै, कुटनीतिक क्षेत्रमा पनि सफ्टपावरको प्रयोग गर्नुपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)