सिड्नी (अष्ट्रेलिया) । अष्ट्रेलियाको नियामकले दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङलाई ९७ लाख डलर जरिवाना तिराएको छ । कम्पनीका केही स्मार्टफोनमा जल प्रतिरोधी फिचर छ भनेर झुक्याएको भन्दै अष्ट्रेलियाको प्रतिस्पर्धा हेर्न नियामकले बिहिबार सामसङको स्थानीय एकाईलाई उक्त जरिवाना तिर्न आदेश दिएको हो ।
केही ग्यालेक्सी फोनको जल प्रतिरोधी स्तरबारे आफूले क्रेताहरुलाई भ्रममा राखेको सामसङ अष्ट्रेलियाले स्वीकार पनि गरेको अष्ट्रेलियाको प्रतिस्पर्धा तथा उपभोक्ता आयोग (एसीसीसी)ले बताएको छ । नियामकले सामसङलाई शुरुमा सन् २०१९ मा मुद्दा हालेको थियो ।
सन् २०१६को मार्च र सन् २०१८ को अक्टोबरको बीचमा कम्पनीले स्टोर र सामाजिक सञ्चालमा फोन पूल वा समुद्रको पानीमा पनि चलाउन सकिने भनेर विज्ञापन चलाएको थियो । तर प्रयोगकर्ताहरुबाट पानीमा परेपनि स्माटफोनले राम्रोसँग काम नगरेको वा पूरै काम गर्न छाडेको भन्दै सयौं गुनासा आएको एसीसीसीको भनाइ छ ।
कम्पनीले ग्यालेक्सीका फोनहरु बेञ्च पानी परेपनि नबिग्रिने फिचरको प्रवद्र्धन गरेको थियो । विज्ञापन हेरेर ग्यालेक्सीका फोन किन्ने कयौं उपभोक्ताहरु ठगिएको एसीसीसीका अध्यक्ष जिना कास–गोत्तिलिएबको भनाइ छ । यस मामिलाबारे अन्रराष्ट्रिय समाचार संस्था रोयटर्सले सोध्दा सामसङले केही प्रतिक्रिया नदिएको बताइएको छ । एजेन्सी