ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भ्रष्टाचार अमर रहोस्

२०७९ असार, १०  
तीतो मीठो
author avatar मदन लम्साल

देशका पौने तीन करोड जनता भ्रष्टाचारको समूल नाश गर्न चाहन्छन् । सत्ता सम्हालेका र सम्हाल्न कम्मर कसेका दलहरूको त पार्टी घोषणापत्रमै भ्रष्टाचार अन्त्य गर्ने नारा छ । सरकारले त भ्रष्टाचार अन्त्य गर्न विभिन्न संयन्त्र र कानून बनाएको छ । जसलाई भेट्यो, ऊ भ्रष्टाचारको अन्त्य गर्ने भन्दै हिँडेको छ, त्यसलाई मेटाउन उद्यत छ । त्यसैले मलाई भ्रष्टाचार महोदयप्रति सहानुभूति पो लाग्न थालेको छ । बिचरा भ्रष्टाचारले कस्को के चैं बिगार्‍या छ र होे मान्छेहरू बिचराका हात धोएर पछि लागेका छन् ?

जसरी अरिंगालहरूलाई देशभक्तिको पाठ पढाउनु बेकार छ, त्यसैगरी भ्रष्टाचार उन्मूलन गर्ने प्रयास गर्नु पनि बेकार हो ।

भ्रष्टाचार अनादि छ, नित्य छ, सर्वव्यापी छ, सनातन छ । अर्थात् यो त परब्रह्म परमात्मा भगवान् नै हो । पृथ्वीनारायण शाहले घुस दिन्या र खान्याविरुद्ध दिव्योपदेश नै दिएका छन् । चाणक्यदेखि शुक्रनीतिसम्म जताततै कसरी घुस नियन्त्रण गर्ने भन्ने कुराहरू छन् । त्यो समयमा भ्रष्टाचार थियो र त लेखियो शास्त्रमा ।

जसरी भगवान्को कुनै आकार हुँदैन, त्यसैगरी भ्रष्टाचारको पनि कुनै आकार र सीमा हुँदैन । कसैका लागि भ्रष्टाचार लाग्ने कार्य अरू कसैका लागि शिष्टाचार हुन सक्छ । श्रीमान् सीताराम पानी र दूधको मिलनलाई भ्रष्टाचार मान्दैनन् । मिठाई भण्डारजी खुवामा मैदा मिसाउने कार्यलाई व्यावसायिक धर्म मान्छन् । यातायातका हाकिम सवारी लाइसेन्स खुलेआम खरीदविक्री भइरहेको देख्दैनन् । जताततै घोटाला भइरहँदा सरोकारवाला मन्त्रीहरू त्यसलाई हटाउने वा घटाउनेमा नगई बरु आफै त्यसलाई बढाउनेमा सक्रिय हुन्छन् । यो सबै देख्दादेख्दै पनि प्रधानमन्त्री धृतराष्ट्र बनिदिन्छन् । पप्पु ठेकदार विभागीय इञ्जिनीयरलाई दश प्रतिशत कमशिन टक्य्राउँछन् र बाँकी धन आफै हजम गर्छन् । तर उनी आफूलाई पवित्र भन्छन् र विभागीय इञ्जिनीयर र नेतालाई भ्रष्ट ठान्छन् ।

यस्तो महान् सर्वशक्तिमान् भ्रष्टाचार मेटाउन किन पर्‍या छ र ? बरु प्रत्येक नेपालीको परम कर्तव्य यो हुन्छ कि ऊ भ्रष्टाचारको श्रीवृद्धि गर्नका लागि पूरा प्रयास गरोस् ।

भ्रष्टाचारबाट देशको अर्थव्यवस्थालाई गति प्राप्त हुन्छ । अर्थव्यवस्थामा सुधार भएपछि मानिसहरूले रोजगारी पाउँछन् । कुनै काम गर्दा यदि कुनै कर्मचारी, मन्त्री, नेताले केही उपहार, केही पुष्पं पत्रम्को माग गरे भन्दैमा उनीहरूको विरोधमा आलोचना गरिरहनु आवश्यक छ र ? श्रीलंकामा देख्नुभएन नेपालमा भन्दा कम भ्रष्टाचार थियो भन्थे । त्यै भएर त उसको अर्थतन्त्र नै समस्यामा परेको छ ।

पत्र–पुष्प अर्पण गर्ने त हाम्रो गौरवशाली परम्परा नै रहिआएको छ । भगवान्लाई पत्रं–पुष्पं अर्पण गरेर आफ्नो सफलताका लागि आशिर्वाद माग्छौं भने हाकिम, नेता, मन्त्रीलाई केही पत्र–पुष्प अर्पण गरेर आफ्नो कार्यसिद्धि प्राप्त गर्न कसरी अपराध भयो ? केही लिएर वा दिएर काम गर्नु गराउनु त देशको सेवा गर्नु हो नि । घुस लिनेवाला पनि आफ्नै देशका, घुस दिनेवाला पनि आफ्नै देशका । देशको धन देशमै रह्यो । विदेशमा त गएन नि । यो त आत्मनिर्भरता भएन र ?

घुस, कमिशन आदिबाट देशको आर्थिक प्रगति हुन्छ र भ्रष्टाचारबाट स्वदेशीकरणलाई प्रोत्साहन हुन्छ । घुसखोर कर्मचारी वा नेता प्राप्त धनले केही सामान, जग्गाजमीन, सुन आदि खरीद गर्छन्, यसो घुमघाममा निस्कन्छन्, होटलसोटलले दाम कमाउन पाउँछन् । जसका कारण अर्थव्यवस्थाको चक्का घुम्छ । यसले देशको आर्थिक व्यवस्था सुदृढ हुन्छ र सर्वसाधारण जनताको जीवनस्तरमा सुधार हुन्छ । त्यसैले घुसखोरीको विरोध गरेर देशको आर्थिक उन्नतिमा किन तगारा हाल्ने हँ ? बरु भ्रष्टाचार विरोधीहरू चैं उन्नतिका बाधक, देशद्रोही हुन् ।

जसरी अरिंगालहरूलाई देशभक्तिको पाठ पढाउनु बेकार छ, त्यसैगरी भ्रष्टाचार उन्मूलन गर्ने प्रयास गर्नु पनि बेकार हो । भ्रष्टाचार समाप्त पार्नै सकिन्न । किनकि यसलाई राजनीतिकी देवीले अमर रहने वरदान जो दिनुभएको छ । ‘कोरोनासँगै बाँचौं’ भनेजस्तै ‘भ्रष्टाचारसँगै नाचौं’लाई जीवनको मूलमन्त्र बनाउन अब ढिला गर्नहुन्न । नेपालले अरू क्षेत्रमा प्रगति गरे पनि नगरे पनि भ्रष्टाचारका क्षेत्रमा नयाँ नयाँ कीर्तिमान स्थापित गरिरहेकै छ । अझ देख्नुभएन अस्तिभर्खर आगामी वर्षको बजेटमा के के करामत गरियो ? हिजो भर्खरको अडियो सुन्नुभयो नि ? अब लाख, करोड हैन, अर्बको कुरा हुन्छ । बिस्तारै खर्बमा उक्लन्छ भ्रष्टाचारको अंक । नेपालले कम्ता प्रगति गरेको छ त ?

‘कोरोनासँगै बाँचौं’ भनेजस्तै‘भ्रष्टाचारसँगै नाचौं’लाई जीवनको मूलमन्त्र बनाउन अब ढिला गर्नहुन्न ।

जब सुन्छु कि इच्छाजीको इच्छापूर्ति गर्न वकिल र न्यायाधीश नै सेटिङमा छन् वा यो वर्षायाममा बाढीपहिरोबाट बचाउन कागजका हजारौं डुंगा चलिरहेका छन्, सडक, पुलहरू उद्घाटन हुनुपूर्व नै भत्किएका वा गल्र्याम्म ढलिरहेका छन्, तब मेरो छाती गर्वले फुल्छ । यस्ता पुलहरू बनाउने पप्पुहरूलाई सार्वजनिक अभिनन्दनै गर्नुपर्ने हो, जसका सुझबुझका कारण पुल उद्घाटन अघि नै धुलीसात् भयो । यस्ता कति दुर्घटनाहरूबाट पप्पुहरूले देशलाई जोगाए होलान् । सरकार लाइसेन्स बेच्ने नयाँ धन्दामा लागेको छ । सरकारी नियुक्तिहरूमा लाखौं, करोडौं लेनदेन भइरहेको छ । हाम्रा लागि यो अत्यन्त गौरवको कुरा हो कि हाम्रो देश भ्रष्टाचारको सडकमाथि तेज गतिमा कुदिरहेको छ ।

भ्रष्टाचारको सिमेन्ट, परसेन्टेजको इँटा र कमिशनको छड मिलेर बनेका यस्ता पुल सुशासनकालीन स्थापत्य कलाको अद्भूत उदाहरण हो । देशमा यस्ता महापुरुषहरूको कमी छैन, जसले त्यस्ता ठाउँमा पनि कागजी पुल बनाइदिन्छन्, जहाँ नदी नै छैन । यसरी कागजी डुंगा चलाएर लक्ष्मी माताको पूर्ण आशीर्वाद प्राप्त गरेका छन् । अनि आफ्नो र आफ्नाको गरीबी उन्मूलन गरेका छन् । यस्ता कल्पनाशील हाकिमहरू स्तुतियोग्य छैनन् र ?

भ्रष्टाचारको कुरामा देशमा कुनै प्रदेश, नगर वा वडा पछाडि छैनन् । भ्रष्टाचारको मोर्चामा सम्पूर्ण देश एक छ । यो नै देशको अनेकतामा एकताको प्रमाण हो । यसले हाम्रो राष्ट्रिय एकताको भावनालाई बलियो बनाएको छ । तर केही अबुझहरू भ्रष्टाचारको विरोध गर्छन् ।

‘जवानीका दिनहरूमा जब म पनि सरकारी भ्रष्टाचारका विरुद्धमा आगो ओकल्थेँ । समय आएपछि तेरो आक्रोश पनि व्यवस्थाको हवनकुण्डमा स्वाहा हुनेछ,’ मेरा छिमेकी काका भन्ने गर्नुहुन्थ्यो । हुन पनि भ्रष्टाचार एउटा पौराणिक विधा हो, हरेक युग, हरेक कालमा अस्तित्वमा छ । भ्रष्टाचार इमानदारीको ठूल्दाइ र बेइमानीको कान्छो सालो हो ।

भ्रष्टाचारीहरूको बहुमत छ देशमा, तर उनीहरू एक हुन सकेका छैनन् । किनकि भ्रष्टाचारीहरूलाई पाखा पारिएको छ । यो घोर अन्याय हो । वास्तवमा भ्रष्टाचार, घुसखोरी, बेइमानी र मिसावटलाई वैधता प्रदान गर्न ढिला भैसकको छ । उनीहरूलाई राष्ट्रको अझ मूलधारमा ल्याउनु जरुरी देखिन्छ । संविधान संशोधन गरेरै भए पनि भ्रष्टाचारलाई मौलिक अधिकारमा समावेश गर्नैपर्छ । आगामी चुनावमा हाम्रो भोट उसैलाई जानुपर्छ, जसले भ्रष्टाचारलाई आफ्नो पार्टीको घोषणापत्रमै मौलिक अधिकारमा राख्ने वाचा गर्छ । बरु आउनोस्, अहिल्यैदेखि सबै मिलेर भनौं– भ्रष्टाचार अमर रहोस् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement