कास्की (अस) । पोखरामा पहिलोपटक मिर्गौलाको सफल प्रत्यारोपण गरिएको छ । बिहीवार पोखराको रामघाटस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा एक महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरिएको हो । मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरको विशेषज्ञ चिकित्सकसहितको सहयोगमा क्षेत्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले ५० वर्षीया महिलामा मिर्गौलाको सफल प्रत्यारोपण गरेको हो ।
उक्त प्रत्यारोपण पोखरामा पहिलोपटक रहेको बताइएको छ । भक्तपुरका डा. पुकारचन्द्र श्रेष्ठको टिम र पोखराका डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाईं, डा. माया लामा, डा. जुजु श्रेष्ठ, डा. अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण गरेको अस्पतालका निर्देशक डा. भरत खत्रीले बताए । मिर्गौला प्रत्यारोपण गरिएकी महिलालाई उनकै श्रीमान्ले मिर्गौला दिएका हुन् । पोखरामा दैनिक ५०० भन्दा बढी संख्यामा मिर्गौलाका बिरामीको डायलासिस गरिँदै आएको थियो ।