ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

महँगीको मारमा उपभोक्ता, सरकार रमिते 

२०७९ असार, १०  
समाचार उपभोक्ता
Jagdamba Supershine Image Not Found
author avatar प्रतिक्षा कँडेल

असार १०, काठमाडौं । दैनिक ज्यालादारीको काम गरेर परिवार पाल्दै आएका काठमाडौं, कलंकी बस्ने शिवराम घर्ती अहिले चिन्तामा छन् । उनको चिन्ताको कारण हो– महँगी बढ्नु । दैनिक उपभोग्य सामग्रीको मूल्य बढेपछि घरखर्च कसरी धान्ने चिन्तामा छन् उनी । 

‘पहिले त जेनतेन घरखर्च चलाइएको थियो । अहिले त महँगी बढेर सामान छोइसाध्य छैन,’ उनले दुखेसो सुनाए, ‘कमाई बढेको छैन । खर्च भने ह्वात्तै बढेको छ ।’ महँगीका कारण खर्च बढेपछि परिवार पाल्न मुस्किल भएको उनको दुखेसो छ । ‘महँगी बढेपछि दाल–चामल किन्न, बच्चाको स्कुल फिस तिर्न, कोठा भाडा तिर्न धौ–धौ भइरहेको छ,’ उनले भने, ‘तर, हाम्रो समस्या कसले बुझ्ने ?’ 

उनले भनेजस्तै पछिल्लो समय तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । 

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पछिल्लो महीना तरकारीको मूल्य बढेको बताएको छ । समितिका अनुसार पछिल्लो महीना आलुको मूल्य प्रतिकिलो १० रूपैयाँ बढेर ३५ रूपैयाँ पुगेको छ । गत महीना आलुको मूल्य किलोको २५ रूपैयाँ थियो । यस्तै, काउलीको मूल्य प्रतिकिलो ३० रूपैयाँ बढेर ८० रूपैयाँ कायम भएको छ । गत महीना काउली प्रतिकिलो ५० रूपैयाँमा किनबेच भएको थियो । 

समितिको तथ्यांक अनुसार घिउसिमी, बन्दा, प्याज आदिको मूल्य १० देखि २५ प्रतिशतले बढेको छ । अहिले घिउसिमी किलोको ८० रूपैयाँ, बन्दा ९० रूपैयाँ, गाँजर १०० रूपैयाँ किलोमा बिक्री भइरहेको समितिले जनाएको छ । 

‘सरकारले मूल्यवृद्धि नियन्त्रण गरेर उपभोक्तालाई राहत दिनुपर्ने हो । तर, सरकार त रमितेजस्तो देखिएको छ ।’

कालिमाटी तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार हिउँदे तरकारीको मूल्य बढ्नु स्वभाविक रहेको बताए । वर्षा शुरु भएसँगै बालीनालीमा असर र बजार आगमन प्रभावित हुँदा तरकारीको मूल्य बढेको उनको भनाइ छ । 

तरकारीसँगै दाल, चामल, चिनी, तेल, मसलाको मूल्यसमेत बढेको छ । अहिले चामलको मूल्य बोरामा सय रूपैयाँसम्म बढेको छ । चिनीको मूल्य पनि केही दिनअघि मात्रै प्रतिकिलो ९० रूपैयाँबाट बढेर ११० रूपैयाँ पुगेको छ । यस्तै, मास र रहरको दाल किलोको २० रूपैयाँ बढेर १८० पुगेको छ । 

यसैगरी, खाने तेलको मूल्य सबैभन्दा धेरै बढेको छ । खानेतेल लिटरमा १०० रूपैयाँ बढेको छ । सनफ्लावर तेल प्रतिलिटर ३४० पुग्दा तोरीको तेल लिटरको ४०० रूपैयाँ कायम भएको छ । केराउ–चनाको दाल, मैदाको मूल्य १० देखि १५ प्रतिशतले बढेको व्यापारीले बताएका छन् । अहिले चनाको दाल प्रतिकिलो ११० रूपैयाँ, केराउ किलोको १६० रूपैयाँ र मैदा प्रतिकिलो ६० रूपैयाँमा किनबेच भइरहेको छ । 

इन्धनको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा बढेकाले खाद्यान्नको मूल्य पनि बढेको व्यापारी बताउँछन् । काठमाडौं, बाफलस्थित पाठक स्टोरका सञ्चालक नारायन पाठकले तेल, मैदा, आँटा, चिनी, चामल लगायतका खाद्यवस्तुको मूल्य बढेको बताए । ‘कम्पनीले नै सामानको मूल्य बढाएर पठाएपछि हामीले पनि बढाएका हौं,’ उनले प्रष्ट्याए । 

मूल्यवृद्धि नियन्त्रणमा सरोकारवाला निकायले चासो देखाउनुपर्नेमा उल्टै मुकदर्शक बनेको घर्ती दुखेसो पोख्छन् । ‘सरकारले मूल्यवृद्धि नियन्त्रण गरेर उपभोक्तालाई राहत दिनुपर्ने हो । तर, सरकार त रमितेजस्तो देखिएको छ’, उनी भन्छन् । 

नेपाल राष्ट्र बैंकले खाद्यवस्तुको मूल्यवृद्धि दर गत वर्षको तुलनामा बढेकाे जनाएकाे छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लाे १० महिनाको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति दर  ७.१३ प्रतिशत पुगेको छ । गत वर्ष खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति दर ४.७२ प्रतिशत थियो । सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)