असार १५, काठमाडौं। भारतीय कार निर्माताहरूले सुरक्षा रेटिङका लागि आफ्नो कार ग्लोबल न्यू कार एसेसमेन्ट प्रोग्राम NCSP परिक्षणको लागि अन्य मूलुकमा पठाउनु नपर्ने भएको छ ।
यसकालागि भारतले आफ्नै सुरक्षा एजेन्सी एनसीएपी बनाउने भएको हो । यस एजेन्सीले त्याहाँ उत्पादित सवारी साधनलाई दुर्घटना परीक्षण र कार्यसम्पादनको आधारमा १ देखि ५ स्टार सम्मको रेटिङ दिनेछ ।
यसका लागि केन्द्रीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले भारतले एनसीएपी सुरु गर्नको लागि जीएसआर कार्यविधी मस्यौदालाई अनुमोदन गरेको बताएका छन् ।
शुक्रबार यसबारे जानकारी दिँदै उनले केन्द्र सरकारले इन्डियामा न्यू कार एसेसमेन्ट प्रोग्राम (इन्डिया एनसीएपी) प्रणाली शुरु गर्न लागेको बताए थिए । यसले उपभोक्ता केन्द्रित प्लेटफर्मको रूपमा काम गर्ने बताईएको छ ।
यससँगै ग्राहकले स्टार रेटिङका आधारमा सेफ्टी कार छनोट गर्ने विकल्प पाउनेछन् । यसका साथै देशमा सुरक्षित सवारी साधन निर्माणका लागि मौलिक उपकरण उत्पादक (ओईएम) बीच निष्पक्ष प्रतिस्पर्धालाई पनि प्रोत्साहन गरिने भएको छ ।
‘क्र्यास टेस्टको आधारमा स्टार रेटिङ दिनु भनेको कारहरूमा संरचनात्मक र यात्रु सुरक्षा निर्धारण गर्न मात्र होइन, भारतीय सवारीहरूको निर्यात योग्यता बढाउन पनि महत्त्वपूर्ण छ।‘ केन्द्रीय मन्त्री गडकरीले भने, ‘भारत एनसीएपीको परीक्षण प्रोटोकल ग्लोबल एनसीएपी क्र्यास टेस्ट प्रोटोकल जस्तै हुनेछ।‘
क्र्यास टेस्टमा हालका भारतीय नियमहरूलाई ध्यानमा राखिनेछ। कार निर्माताहरूले भारतको इन-हाउस परीक्षण सेवामा आफ्ना सवारी साधनहरूको परीक्षण गर्न सक्नेछन्।
मूल्याकंनमा धेरै स्टार प्राप्त गर्नु भनेको राम्रो सुरक्षा हुनु हो । प्राविधिक रूपमा, एनसीएपी परीक्षणमा सबैभन्दा कम मूल्याङ्कन वा स्टार भएका कारहरू दुर्घटनाको समयमा सुरक्षित मानिदैनन् । परीक्षण गरिएका कारहरूलाई शून्य देखि ५ स्टार मूल्याकंन गरिएको हुन्छ । दुर्घटना परीक्षणमा किशोर सुरक्षा, बाल सुरक्षा सहित धेरै मापदण्डहरूको परीक्षण गरिन्छ । कारमा डमीहरू प्रयोग गरि उनीहरुमा दुर्घटनाको प्रभाव अनुसन्धान गर्ने गरिन्छ ।