ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जोसँग घरमा बिजुली जोड्ने पैसा थिएन

२०७९ असार, १७  
समाचार
Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar प्रशान्त खड्का

काठमाडौं । नेपाली हस्तकला उद्यममा श्यामवदन श्रेष्ठ स्थापित नाम हो । स्कूले जीवनदेखि नै हस्तकला क्षेत्रमा सक्रिय श्यामवदन नेपालका ६५ भन्दा धेरै जिल्लाबाट कच्चा पदार्थ संकलन गरेर उत्पादनमा विविधता ल्याई नेपाली हस्तकलालाई विश्वसामु चिनाउने महिला उद्यमी हुन् ।

ललितपुरमा जन्मेर पनि संघर्षपूर्ण जीवनका अनेक रङ देखेकी उनी उद्यम यात्राको शुरुआती दिनबारे भन्छिन्, ‘२०१३ सालतिर पाटनको मंगलबजारस्थित आदर्श कन्या निकेतनमा पढ्दै गर्दा मैले ८ वर्षको उमेरमै आमाको साथमा हस्तकला उद्योगमा काम गर्न थालेकी हुँ । म गर्भमै छँदा बुवा बित्नुभएकाले बाल्यकालदेखि नै मेरो जीवन निकै संघर्षमय बन्यो ।’ 

आफूभन्दा जेठा अरू सन्तान नहुँदा संघर्ष थप जटिल बनेको उनको अनुभव छ । दिउँसो स्कूल जानुपर्ने भएकाले बुन्ने, बुट्टा भर्नेजस्ता काम घरमै ल्याएर गर्थिन् । ‘त्यसबेला हामीसँग घरमा बत्ती जडान गर्ने पैसा पनि थिएन । राति २ बजेदेखि बिहानसम्म टुकी बत्तीमा बसेर आमाछोरी काम गर्थ्यौं,’ श्यामवदन जीवनको अँध्यारो कालखण्डबारे भन्छिन्, ‘उज्यालो भएपछि अरू काम शुरू गथ्र्यौं र बिहान ९ बजेसम्म मैले करीब ६/७ घण्टा काम गरिसकेकी हुन्थें ।

एउटा श्रीमान् बितेको महिलाले आफ्नो टुहुरो बच्चा हुर्काउन समाजमा कुन स्तरसम्म संघर्ष गर्नुपर्छ भन्ने कुरा मेरो त्यस बेलाको समाजले पाठ सिकायो । साथै शिक्षित महिला र अशिक्षित महिलालाई समाजले हेर्ने दृष्टिकोणसमेत फरक थियो, जसले गर्दा पढ्नैपर्छ र जीवनमा उकालो यात्राको तय गर्नैपर्छ भन्ने कुरा सिकायो । त्यसपछि १२/१३ वर्षकै उमेरमा स्नातकोत्तर तहसम्म पढ्नुपर्छ भन्ने एउटा दृढसंकल्प मनमनै गरें ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषामा पढाइ सकेर १३ वर्षसम्म विभिन्न विद्यालय र कलेजमा पढाएपछि जीवनमा म आफूमात्रै सफल भएर हुँदैन मजस्तै धेरै महिला दिदीबहिनीलाई पनि आर्थिक रूपमा बलियो बनाउनुपर्छ भन्ने लागेर करीब ४० वर्षअघि मैले २ सय रुपैयाँ लगानीमा नेपाल नट क्राफ्ट उद्योग स्थापना गरी औपचारिक रूपमै हस्तकला व्यवसाय शुरू गरेर उद्यम यात्रा तय गरें ।’ शुरुआती दिनमा काठमाडौं उपत्यकामा पाइने कच्चा पदार्थबाट हस्तकलाका सामान उत्पादन गरेकी उनले पछि नेपालमा पाइने रैथाने कच्चा पदार्थको अनुसन्धानका लागि करीब ६५ जिल्लाको भ्रमण गरिन् । त्यहाँ पाइने अल्लो, अलैंची, मकैको खोस्टा, मुच, काँस, बाबियो, पराल, जलकुम्भी झार, बाँस, बेत, निगालो आदि फाइबरयुक्त ४५ किसिमका रेशादार बिरुवाको खोज अनुसन्धान गरिन् । अहिले उनले गर्ने उत्पादन फाइबर र रेशादार वस्तुका धेरै हुन्छन् ।
रेशादार बिरुवाबाट बन्ने हस्तकलाका सामग्री उत्पादन गरेबापत नै उनी विश्वभरका महिला सहभागीलाई पछि पार्दै वर्ल्डक्राफ्ट काउन्सिल नेचुरल फाइबर अवार्ड जित्न सफल भइन् । त्यसैगरी उनले २०१८ मा सार्क वुमन आन्त्रप्रेनरसिप प्रतिस्पर्धामा समेत प्रथम हुँदै अवार्ड हात पारिन् ।

उनको व्यवसायमा अहिले वार्षिक करीब १ करोड रुपैयाँ बराबरको कारोबार हुन्छ । महिला सक्षम भएनन् भने उनीहरूले आफ्ना छोराछोरीलाई सक्षम बनाउन सक्दैनन् भन्ने कुरालाई राम्रोसँग मनन गरेकी उनले आफ्नो व्यवसायमा करीब ३ सय महिलालाई रोजगारी दिएकी छन् ।

हस्तकलाकै काम गरेर जीवन सफल बनाएकी उनी अन्य सयौं महिलाको जीवन यही कर्मबाट सफल बनाउने अभियानमा छिन् । त्यसैले त उमेरले ६० वर्ष काटे पनि आफ्नो पेशामा दिनरात तल्लीन छिन् । विभिन्न जिल्लामा पुगेर शीप सिकाउँदै नयाँ उद्यमी जन्माउने काममा उनी सक्रिय छिन् ।

पाटन औद्योगिक क्षेत्रभित्र रहेको उनको उद्योगले उत्पादन गरेका सामान यतिबेला यूरोप, अमेरिका, जापानलगायत देशमा निर्यात हुने गरेका छन् । हराउन लागेको नेपाली हस्तकलाको शीपलाई जोगाउन आफूले नेपाली कच्चा पदार्थलाई नै विशेष जोड दिएको उनी बताउँछिन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement