ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मेलम्ची/हेलम्बुवासीमा बाढीको त्रास कायमै, बस्ती स्थानान्तरण र पुनर्निर्माण अलपत्र

२०७९ असार, १७  
समाचार विकास
Image Not Found
फोटो : हिमा वि.क/आर्थिक अभियान
author avatar हिमा वि.क.

काठमाडौं । गतवर्षको असार र साउनमा आएको बाढीले प्रभावित मेलम्ची/हेलम्बुवासीको उचित व्यवस्थापन नहुँदा यो वर्षको वर्षामा पनि उनीहरूमा उत्तिकै त्रास छ । सरकारले बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने, जग्गा नभएकालाई सुरक्षित स्थानमा जग्गा किन्न ३ लाख रुपैयाँ दिने जस्ता घोषणा गरे पनि कहाँ र कति बस्ती सार्ने भन्नेबारे अध्ययनसमेत भएको छैन ।

मेलम्ची नदीमा आएको ठूलो बाढीका कारण मेलम्ची बजार, हेलम्बु गाउँपालिकाको चनौटे बजार र त्यसभन्दा माथिल्लो भेग नराम्रोसँग प्रभावित भएको थियो । 

त्यसको एक वर्ष बितिसक्दा समेत बाढीप्रभावितहरू त्रासमै जीविका चलाउन बाध्य छन् । बाढीका कारण घरवास गुमाएकामध्ये केहीसँग मेलम्ची नगरपालिकाले निजी आवास पुनर्निर्माणका लागि सम्झौता शुरू गरेको छ । २४२ लाभग्र्राहीसँग सम्झौता हुने मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए । ‘मनसुनजन्य निजी आवास पुनर्निर्माण तथा पुनःस्थापना कार्यविधि २०७७’ अनुसार नयाँ आवास बनाउन सम्झौता गरिँदै छ । ‘यो कार्यविधिअनुसार पहिला बस्ती तथा आवास भएका स्थानमा घर बनाउन दिँदैनौं,’ धितालले भने, ‘अर्को कुनै सुरक्षित स्थानमा लाभग्राहीलाई स्थानान्तरण गरिनेछ ।’ आवास भने लाभग्राहीका रूपमा पहिचान भएकाकै जग्गामा निर्माण गरिनेछ । यद्यपि उक्त जग्गा सुरक्षित हुनुपर्छ । बाढीले क्षति पुर्‍याएको मेलम्ची खोला आसपास बजार क्षेत्रमा बस्न नमिल्ने भनिएको छ ।

कार्यविधिअनुसार जग्गा जोखिममा भएका तर सुरक्षित स्थानमा जग्गा नभएकालाई भने ३ लाख रुपैयाँ दिने योजना नगरपालिकाको छ । जग्गा नभएको भनेर अहिलेसम्म पाँचजनाले मात्र निवेदन दिएका छन् । आवश्यक कागजात पु¥याएर निवेदन आए ३ लाख रुपैयाँ दिइने धितालले बताए । ठूलो विपद् भए पनि यसपछिको व्यवस्थापनमा सरकारकै स्पष्ट मार्गदर्शन नभएको बताइएको छ । नगरपालिकाले प्रभावित भएका स्थानमा नबस्न भने पनि उनीहरू भने बालुवा, लेदो सफा गरेर पुनः बसेका छन् । ‘स्थानीय सरकारसँग स्रोतसाधन सीमित हुन्छ,’ धितालले भने, ‘धेरै ठूलो विपद् भएको र जिल्ला नै विपद्ग्रस्त घोषणा गरिए पनि संघको मार्गदर्शन र उपस्थिति भएन, हाम्रो तहबाट हुने राहत दिने, लाभग्राही घोषणा गर्ने काम गरिरहेका छौं ।

गतवर्षको बाढीले मेलम्ची नगरपालिकामा मात्रै १ हजार ८८२ रोपनी व्यक्तिगत जग्गा र १ हजार २०० रोपनी सार्वजनिक जग्गामा क्षति पुगेको थियो । नगरपालिकाका अनुसार बाढीले घर तथा भवनमा ५४ अर्ब ९६ करोड रुपैयाँ बराबरको क्षति भएको छ भने पशुपक्षी, चौपाया तथा माछाफार्ममा भएको क्षतिको मूल्यांकन १ करोड २० लाख रुपैयाँ छ । बाढीबाट वडा नं ६, ७, ८, ९, १०, ११ र १२ प्रभावित भएका छन् ।

यता, हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले विस्थापितहरूलाई दीर्घकालीन रूपमा पुनःस्थापित र जीविकोपार्जनमा सघाउन टोल–टोलमा गएर उनीहरूका समस्या र मागहरू टिपोट गर्न शुरू गरिएको बताइन् । विस्थापितहरूलाई एकीकृत बस्तीमा सार्ने, जीविकोपार्जनका लागि होमस्टेसम्बन्धी तालीम दिने र समुदायमा आधारित पेशागत शीपका लागि पनि तालीम दिने योजना छन् । बाढीबाट बगरमा परिणत भएको खेतीयोग्य जमीन र उत्पादनका आधारमा प्रभावितलाई अनुदान दिने तयारी पनि भएको उनले बताइन् । चनौटे, ग्याल्थुमका साथै अन्य स्थानमा जोगिएका बस्ती तथा घरमा थप क्षति हुन नदिने र खोलालाई पुरानै धारमा फर्काउन तटबन्ध बनाउने जस्ता काम भइरहेको उनको भनाइ छ । उनका अनुसार असार र साउनमा आएको बाढीले यो गाउँपालिकामा ३०८ ओटा घर/भवन बगाएको थियो । यद्यपि गाउँपालिकाले अझै पनि विस्थापित र प्रभावितहरूको लगत संकलन सम्पन्न गरिसकेको छैन ।

गतवर्षको बाढीको प्रकोप आँखै अगाडि देखेका हेलम्बु गाउँपालिकास्थित चनौटे बजारका ३४ वर्षीय रविन कक्षपति बर्खा लागेसँगै आफूहरू त्रासमा रहेको बताउँछन् । भेम्राथाङसँग जोडिएका पहाडबाट दुईओटा खोला बग्छन्– मेलम्ची र इन्द्रावती । पोहोरको बाढीले मेलम्चीमा लेदोसहित ढुंगा, काठ आइदियो, जसले गर्दा मेलम्चीमा भन्दा चनौटे बजार र हेलम्बुतिर धेरै क्षति भएको उनको भनाइ छ ।

सामूहिक प्रयासमा अहिले नयाँ चनौटे बजार स्थापना भएको छ । बाढीपूर्व चनौटे बजारमा ६२ ओटा पक्की भवन रहेकोमा अहिले २९ ओटामात्र छन् । यद्यपि प्रयोगमा भने आएका छैनन् । व्यापार र खेती गर्ने यहाँका स्थानीयहरू अहिले अस्थायी टहरामा व्यापार व्यवसाय गरेर जीविकोपार्जनमा जुटेका छन् ।

पुरानो चनौटे बजारको दक्षिणतर्फ करीब ७ रोपनी जग्गामा अस्थायी टहरा बनाएर व्यवसाय शुरू गरिएको छ । प्रतिरोपनी वार्षिक २० हजार रुपैयाँ तिर्ने र वार्षिक १० प्रतिशतका दरले यो मूल्य बढ्ने सम्झौताअनुसार यहाँ हार्डवेयर, कपडा, किराना, सैलुन र खाजा पसलहरू सञ्चालनमा छन् । अझै ४/५ वर्ष पुरानै स्थानमा बजार बसाउन नसकिने व्यवसायी बताउँछन् । २/४ वर्ष खोला तथा बाढीको चक्र हेरेर त्यसपछि हुने अवस्थाले भविष्यमा चनौटे बजारलाई जीवन दिन सकिन्छ कि भन्ने आशामा उनीहरू छन् । यस्तै हेलम्बुमा बाढीले ११ ओटा माछा फार्म बगायो । ग्याल्थुम, चनौटे र तिम्बुमा यस्तो व्यवसाय हुँदै आएको थियो । अहिले स्थानीयहरूले तिम्बु, सिर्सेमा माछापालन व्यवसाय शुरू गरेका छन् ।

यता, मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले सामाजिक उत्थानका लागि न्यून बजेट विनियोजन हुने गरेको बताए । मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित हुनेहरूका लागि हरेक वर्ष १४/१५ करोड रुपैयाँ बजेट मात्र विनियोजन हुने उनको भनाइ छ । यद्यपि यो चालू आर्थिक वर्ष बजेटको आकार बढाएर २३ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले बाढी प्रभावित र बस्ती स्थानान्तरणको काम नभएको बताए । ‘प्रमुख जिल्ला अधिकारीले माग गरेर पठाएअनुसार बस्ती सार्ने हो,’ उनले भने, ‘अहिले बस्ती बसाल्न सकिने वा नसकिने भन्ने विषयमा अध्ययन भएको छ, त्यसको प्रतिवेदन आएपछि वैकल्पिक उपायमा जानेछौं, अहिले नै बस्ती सारिएको अवस्था भने छैन ।’ बाढीबाट प्रभावितले आफू बसोवास गर्दै आएको स्थान सुरक्षित नलागे अर्काे स्थानमा जग्गा किनेर निजी आवास बनाउन चाहे ३ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा सरकारले गरेको छ । निजी आवास बनाउन भने हिमालमा ५ लाख, पहाडमा ४ लाख र तराईमा ३ लाख रुपैयाँ उपलब्ध गराउने प्राधिकरणको कार्यविधिमा उल्लेख छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement