नयाँ दिल्ली (भारत) । भारतीय नियामक निकायले चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभो र यसको भगिनी संस्थामाथि सम्पत्ती शुद्धिकरण मामिलामा छानबिन गरिरहेको इकोनोमिक्स टाइम्सले लेखेको छ ।
सम्पत्ति शुद्धिकरण रोकथामसम्बन्धी प्रावधान अन्तर्गत कानून कार्यान्वयन गर्ने निकाय प्रवर्तन निर्देशालय (ईडी)ले उत्तर भारतमा रहेका भिभो र यसको भगिनी संस्थासम्बद्ध ४४ ओटा स्थानमा छापा मारेका छन् । कम्पनीमाथि केन्द्रीय अनुसन्धान विभागले छानबिन गरेर थप अनुसन्धानको जिम्मा ईडीलाई दिएको बताईएको छ ।
कम्पनीमाथि सम्पत्ति शुद्धिकरण रोकथाम कानून तोडेको अभियोग लगाइएको छ । कम्पनीका दुई चिनियाँ अधिकारीहरुले भारतमा आफ्ने झुठो ठेगाना बुझाएको पाएपछि जम्मु र कश्मिरका रहेका कम्पनीका वितरकहरुलाई अनुसन्धानको दायरामा राखेको थियो । विगत दुई वर्षयता भारत सरकारले चिनियाँ स्मार्टफोन ब्रान्डहरुमाथि कारबाही तीव्र पारिरहेको छ । केही समय अघि ईडीले साओमीको भारतीय बैंकमा रहेको ५५ अर्ब रुपयाँ भन्दा बढीको रकम रोक्का गरेको थियो । एजेन्सी