ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड विशेष : मर्जरबारे कसले के भने ?

२०७९ सावन, १  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

मर्जरमा जाने कम्पनीलाई बीमा समितिले सहजीकरण गरिदिन्छ

अहिले बीमा कम्पनीहरूले जुन आकारको व्यवसाय गरिरहेका छन्, त्यसको जोखिमलाई धान्नेगरी पर्याप्त मात्रामा पूँजी छैन । साथै, कम्पनीको संख्या आवश्यकताभन्दा बढी भयो भन्ने गुनासो पनि कम्पनीहरूबाटै आइरहेको थियो । फलस्वरूप अस्वस्थ प्रतिस्पर्धा पनि बढेको थियो । यी र यस्ता विषयलाई दृष्टिगत गर्दै बीमा समितिले चुक्तापूँजी बढाउने निर्णय गरेको हो । र, आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीलाई रू. ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई रू. २ अर्ब ५० करोड चुक्तापुँजी पुर्‍याउन निर्देशन दिएका हौं । तर, बीमा कम्पनीहरूको लाभांशदर औसतमा ५–६ प्रतिशत मात्र छ । त्यो अवस्थामा लगानीकर्ताले थप पैसा हालेर पूँजीवृद्धि गर्नु त्यति उपयुक्त देखिएन । 

यसैगरी पछिल्लो समय देखिएको तरलता अभाव, आर्थिक संकट लगायत कारण लगानीकर्तालाई थप पूँजी लगानी गर्न पनि गाह्रो हुने देखियो । यी सबै पक्षलाई हेर्दा मर्जर नै उपयुक्त विकल्प देखिएपछि हामीहरूले मर्जरमा जान प्रोत्साहन गरिरहेका थियौं । हाम्रो नीतिअनुसार बीमा कम्पनीहरू उत्साहजनक ढंगले मर्जरमा सहभागी हुनुभएको छ । यो राम्रो पक्ष हो ।

नेपाली बीमा बजारलाई कति बीमा कम्पनी आवश्यक हो भनेर यकिन अध्ययन त भएको छैन । तर, बजारलाई जति बीमा कम्पनी आवश्यक हो, मर्जरमार्फत त्योअनुसार नै कम्पनीको संख्या कायम गर्ने लक्ष्य लिएका छौं । त्यसपछि बीमा बजारमा भएको अस्वस्थ प्रतिस्पर्धा घट्ने विश्वास गरेका छौं । साथै, बीमाक्षेत्र थप व्यवस्थित भएर अगाडि बढ्ने अपेक्षा पनि छ ।

समग्रमा मर्जरले बीमाक्षेत्रमा एकदमै राम्रो प्रभाव पार्ने देखेको छु । मर्जरमा सहभागी भएका सबै कम्पनी बधाई तथा सफलताको शुभकामना छ । मर्जरमा जाने मामलामा बीमा समितिले सक्दो सहयोग गर्न तयार छ ।

नयाँ बीमा कम्पनी ल्याउनुहुँदैन

वास्तवमा नेपाली बीमा क्षेत्रमा मर्जरको अभ्यास हुनुपर्ने थियो । किनकि, यहाँ बजारको आवश्यकताभन्दा बढी बीमा कम्पनी छन् । त्यो अवस्थामा नियामक निकाय बीमा समितिले पूँजी बढाउने निर्देशनसहित मर्जरको नीति ल्याउनु सकारात्मक छ । किनकि, कम्पनीहरूको व्यवसाय र जोखिम वहन गर्ने क्षमता बढाउन पूँजीवृद्धि गर्नैपर्ने थियो । तर, थप लगानी गरेर नै पुँजी वृद्धि गर्नु त्यति उपयुक्त थिएन । किनकि, बीमा क्षेत्रको रेट अफ रिटर्न नै थोरै छ । त्यो अवस्थामा पूँजी बढाउन मर्जर नै उपयुक्त विकल्प थियो  । 

समितिको नीतिअनुसार पछिल्लो समय बीमा कम्पनीहरू धमाधम मर्जर प्रक्रियामा सहभागी भएका छन् । यो स्वागतयोग्य छ । अब बीमा कम्पनीको संख्या घट्छ र स्वस्थ प्रतिस्पर्धाको विकास हुन्छ भन्ने विश्वास छ । साथै, पूँजीका आधारमा बीमा कम्पनीहरू पनि थप बलियो हुन्छन् । त्यो भएपछि बीमा कम्पनीहरूले दिने सेवा सुविधा पनि पहिलेको भन्दा राम्रो हुन्छ । 

हालसम्म मर्जरको मामलामा जे जति गतिविधि भएका छन्, त्यो राम्रो छ । कम्पनीको संख्या उच्च मात्रामा घट्ने संकेत देखिएको छ । तर, मर्जरमा जाने कम्पनीहरूलाई समय भने दिनुपर्छ । हतारमा मर्जर गर्नुस् भनेर दबाब दिनु हुँदैन । डीडीए लगायतका प्रक्रिया पूरा गर्दा धेरै समय लाग्छ । त्यो अवस्थामा समितिले तोकेको अवधिमै चुक्तापूँजी नपुग्न सक्छ । त्यसैले, यसमा मामलामा समितिले समय सीमा धेरै दिनुपर्छ । साथै, सञ्चालनमा भइरहेका कम्पनीलाई मर्ज गराएर नयाँ कम्पनीलाई लाइसेन्स दिने गल्ती पनि बीमा समितिले गर्नु हुँदैन, त्यो भएमा अर्थतन्त्र प्रभावित हुन सक्छ ।

अब ढुक्क भएर ठूलो जोखिमको बीमा गर्न सकिन्छ

यो मर्जरबाट हामी एकदमै आशावादी छौं । यसले पक्कै पनि ग्राहक, कर्मचारी, लगानीकर्ता लगायत सबै पक्षलाई फाइदा पुग्छ । साथै, समग्र बीमा बजारमा पनि सकारात्मक प्रभाव पार्छ भन्ने विश्वास छ । 

विशेषगरी हामीले अर्थतन्त्र र बीमा बजारको वर्तमान परिस्थितिलाई समेत दृष्टिगत गरेर मर्जरमा जाने निर्णय गरेका थियौं, जुन सफल भइसकेको छ । हामीले जुन उद्देश्यले मर्जर गर्ने निर्णय गरेका थियौं, त्यो पुरा हुनेमा पनि विश्वस्त छौं । 

मर्जरसँगै अहिले हाम्रो चुक्तापूँजी लगायत वित्तीय सूचकको आकार बढेको छ । हामीसँग अनुभवी कर्मचारी पनि थपिएका छन् । फलस्वरूप अब हाम्रो व्यवसाय गर्ने तथा जोखिम वहन गर्ने क्षमता पनि बढेको छ । अब हामी ठूला जोखिमको पनि ढुक्क भएर बीमा गर्न सक्छौं । अब हामीप्रति ग्राहकको आकर्षण समेत बढ्छ । फलस्वरूप हाम्रो व्यवसाय थप बढ्नेछ । त्यसको सकारात्मक प्रभावले हाम्रो लाभांश दरमा सुधार आउने विश्वास छ । ठूलो पूँजीको कम्पनी भएसँगै अब हामीलाई विदेशी पुनर्बीमा कम्पनीले हेर्न दृष्टिकोण पनि फरक हुन्छ । अब हामी नेपालमा गर्ने व्यवसायको सहज रूपमा पुनर्बीमा गर्न सक्छौं । 

मर्जरले अस्वस्थ प्रतिस्पर्धा घटाउन सहयोग पुग्छ 

बीमा समितिको निर्देशनअनुसार आगामी चैत मसान्तभित्र निर्जीवन बीमा कम्पनीले न्यूनतम रू. २ अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउर्नैपर्ने छ । तर, समग्र बीमा क्षेत्रको रेट अफ रिटर्न (लाभांश दर) राम्रो नभएको बेला थप पूँजी लगानी गरेर चुक्तापूँजी वृद्धि गर्दा त्यति राम्रो हुने देखिएन । त्यसमाथि बीमा कम्पनीको संख्या पनि बढी छ । त्यही कारण बीमा बजारमा अस्वस्थ प्रतिस्पर्धा पनि बढी छ । यी र यस्ता विषयलाई दृष्टिगत गरेर हामी मर्जरमा जाने निर्णय गरेका हौं, जुन सफल भइसकेको छ । 

हामीले मर्जर सहमति गरेपछि अन्य बीमा कम्पनीहरू पनि मर्जरमा जान थालेका छन् । योसँगै अब बीमा कम्पनीहरूको संख्या घट्ने देखिएको छ । त्यो अवस्थामा अस्वस्थ प्रतिस्पर्धा केही कम हुन्छ । साथै, पूँजीको आकार बढ्दा व्यावसायिक क्षमता पनि बढ्छ । त्योअनुसार व्यवसाय बढाउन सकियो भने लाभांश दर पनि बढ्ने विश्वास छ । यस्ता विषयलाई दृष्टिगत गर्दै हामी मर्जरमा सहभागी भएका हौं । यसले राम्रो प्रतिफल दिन्छ भन्ने अपेक्षा छ ।

ग्राहकहरू उत्साहित छन् 

नियामक निकायले पूँजीवृद्धि गर्ने नीति ल्याएको अवस्थामा बीमा कम्पनीहरू मर्जरमा नगई सुखै थिएन । किनकि, अहिले बीमा कम्पनीहरूले प्रतिफल (लाभांश) क्षमता औसतमा ५–६ प्रतिशत मात्र छ । त्यो अवस्थामा लगानीकर्ता आफूले पूँजी थप गरेर कम्पनीको पूँजी बढाउँदा त्यति उपयुक्त हुने थिएन । त्यसैले हामी मर्जरमा गएका हौं । यसलाई एकदमै सकारात्मक रूपमा लिएका छौं । 

मर्ज भएपछि कम्पनी चुक्तापूँजी लगायत सूचकका आधारमा बलियो भएको छ । कम्पनीमा अनुभवी कर्मचारीको संख्या बढेको छ । दुवै कम्पनीको व्यावसायिक फोर्टफोलियो मिलेको छ । हिमालयन जनरलको ठूलो आकारमा बीमा गर्ने ग्राहक छन् । एभरेष्टले सानो सानो आकारको व्यवसाय गरिरहेको छ । यो अवस्थामा हामीले मर्जर भएर संयुक्त रूपमा कारोबार गर्दा पक्कै पनि राम्रो नतीजा आउँछ । 

मर्जमा जाने निर्णय गरेसँगै ग्राहक पनि खुशी भएका छन् । हाम्रो पूँजीसँगै व्यावसायिक क्षमता पनि बढेको छ । त्यो अवस्थामा हामीले दिने सेवा सुविधा पनि स्वाभाविक रूपमा पहिलेको भन्दा राम्रो हुन्छ । त्यसकारण ग्राहकहरू उत्साहित छन् । साथै, कम्पनीले दिने लाभांश पनि पहिलेको भन्दा राम्रो हुन्छ । समग्रमा कम्पनीको भविष्य राम्रो छ । किनकि, हामी ठूलो आकारको कम्पनी भइसक्यौं । पहिला १ अर्बको व्यवसाय गर्दथ्यौं भने अब ४ अर्बको गर्छौं । यसले समग्र बीमाक्षेत्रलाई नै सकारात्मक प्रभाव पार्छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement