ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड विशेष : यो मर्जरबाट फाइदै फाइदा छ (अन्तरवार्ता)

२०७९ सावन, १  
अन्तरवार्ता अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर भई हिमालयन जनरल इन्स्योरेन्स बनेको छ । यो नेपालको बीमाक्षेत्रमा पहिलो मर्जर हो । साविकको हिमालयन जनरलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाह मर्जरपछि यस कम्पनीको सीईओका रूपमा नेतृत्व गर्दै छन् । मर्जरपछि कम्पनीले केकस्तो व्यावसायिक रणनीति लिन्छ भन्ने विषयमा केन्द्रित भएर सीईओ शाहसँग आर्थिक अभियानले गरेको कुराकानीको सार :

मर्जरपछि हिमालयन इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा नेतृत्व गर्दै हुनुहुन्छ । कम्पनीलाई सफल बनाउन कस्तो व्यावसायिक रणनीति बनाउँदै हुनुहुन्छ ? 

मर्जर आजको दिनमा आवश्यक छ । कम्पनीलाई अझ बलियो बनाउन, जोखिम वहन गर्ने क्षमता बढाउन तथा व्यवसाय विस्तार गर्न पनि मर्जर आवश्यक परेको हो । व्यावसायिक सफलताका लागि ठूलो पूँजी र नेटवर्थको आवश्यकता थियो । यसलाई दृष्टिगत गर्दै हामीले मर्जरमा जाने निर्णय गरेका हौं । र, अहिले हामी एकीकृत कारोबार गर्ने चरणमा आइसकेका छौं । हामीले यो मर्जर सफल बनाउँदै गर्दा बीमाक्षेत्र नै तरंगित छ । अहिले धेरै बीमा कम्पनीले मर्जरका लागि उपयुक्त साझेदार खोजी रहेका छन्, यो राम्रो पक्ष हो ।

अब हामी बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी रू. २ अर्ब ५० करोड समयमै पूरा गर्न सक्छौं । मर्जपछि हाम्रो चुक्ता पूँजी २ अर्ब २३ करोड रूपैयाँ पुगेको छ । बाँकी चुक्तापूँजी बोनस शेयरबाट पूरा गर्छाैं ।  त्यसरी चुक्तापूँजी पुगेपछि बजारमा एक किसिमको सकारात्मक सन्देश जान्छ ।

हाम्रो कम्पनी शाखा सञ्जालको दायरा पनि फराकिलो हुन्छ । कतिपय ठाउँमा एभरेष्ट इन्स्योरेन्सको शाखा थिएन, कतिपय ठाउँमा हिमालयन जनरल इन्स्योरेन्सको शाखा थिएन । अहिले दुवै कम्पनी एकै ठाउँमा आउँदा शाखा कार्यालयको आधारमा हाम्रो दायरा ह्वात्तै बढ्छ । हामीले तत्कालै ७५ शाखाबाट बीमा सेवा प्रवाह गर्न सक्छौं ।
हामीसँग बीमाक्षेत्रमा लामो समयदेखि कार्यरत अनुभवी तथा विज्ञ कर्मचारीहरू पनि हुन्छन् । त्यसले गर्दा हामीलाई नयाँनयाँ ठाउँमा व्यवसाय विस्तार गर्न पनि धेरै सहज हुन्छ । यसैमा आधारित भएर व्यावसायिक रणनीति बनाउँछौं । शाखा कार्यालय व्यापकरूपमा बढाउने, व्यवसाय विस्तार गर्ने, पूँजीको अधिकतम परिचालन गर्ने, जोखिम वहन गर्ने क्षमता बढाउने नै अबको व्यावसायिक रणनीति हुनेछ ।

कम्पनी मर्ज भएसँगै अब ग्राहकको चाहना पनि बढ्छ । ग्राहकले बीमा सेवामा सीमितता मात्र हुँदैन, त्यो भन्दा पनि माथिको बीमा सेवा हुने रहेछ भनेर सोच्छन् । ग्राहकको त्यही चाहनाले नै बीमाको व्यवसाय बढ्ने हो । त्यसकारण हामी एकदमै आशावादी छौं । समग्रमा हामीले आव २०७९/८० मा ४ अर्ब २५ करोड बीमाशुल्क संकलन गर्ने लक्ष्य लिएका छौं । 

मर्जपछि कम्पनीले दिने बीमा सेवा कस्तो हुन्छ ?

हामीले दिने सेवा अब छिटोछरितो र सरल हुन्छ । किनकि हाम्रो शाखा कार्यालयको संख्या बढ्छ । हिमालयन जनरलले ५ वर्ष पहिलेदेखि नै आफ्नाे सेवासुविधालाई डिजिटाइजेशन गर्दै आएको छ, तर त्यसले पूर्णता पाएको थिएन । अब डिजिटाइजेशनलाई पूर्णता दिन्छौं । त्यसपछि ग्राहकहरू बीमा सेवा लिन हाम्रो कम्पनीको कार्यालयसम्म आउनै पर्दैन । ग्राहकहरू जहाँ छन्, त्यहीबाट नै हाम्रो सेवा सुविधा लिन सक्छन् । त्यसपछि ग्राहकले दावी भुक्तानीसमेत छिटोछरितो र सहजरूपमा हुनेछ ।

मर्जरको आवश्यकता किन देखियो ? पूँजी बढाउनै हो कि अरू नै कारण छ ? 

सतही रूपमा हेर्दा चुक्तापूँजी बढाउनै मर्जरमा गएको जस्तो देखिन्छ । तर, हाम्रो कारण त्यो मात्र थिएन । यसको पछाडि धेरै रणनीतिक कारण पनि छन् । तिनै कारणले गर्दा हामी मर्जरमा गएका हौं । साथै, बीमा समितिले तोकेको २ अर्ब ५० करोड रूपैयाँको चुक्ता पूँजी पुर्‍याउन मर्जरमा गइहालेको पनि हो । बीमा समितिको निर्देशन पालना गर्नैपर्ने थियो । साथै, नियामक निकायले शुरू गरेको अभियानमा साथ दिनु हाम्रो कर्तव्य पनि हो । त्यसकारण हामी तत्काल मर्जरमा गएका हौं । यसमा अन्य रणनीतिक कारण पनि छन् ।

अहिले नेपाली बीमा बजारमा २० निर्जीवन बीमा कम्पनी छन् । यति धेरै कम्पनी हुँदा सेवा विस्तारमा भने डुब्लिकेशन छ । शहर जस्ता ठाउँहरूमा बीमा कम्पनीहरूको आवश्यकताभन्दा बढी शाखा कार्यालय छन् । तर, जहाँ बीमाको आवश्यकता बढी छ, त्यहाँ बीमा कम्पनीको शाखा कार्यालय नै पुगेको छैन । अब त्यसभन्दा माथि उठेर सबै ठाउँमा शाखा विस्तार गर्नुपर्ने पनि छ । किनकि, हाम्रो लागि नेपाल नै बजार हो । यो सीमित बजारमा सीमित ग्राहकको पछि सबै कम्पनी लाग्नु राम्रो होइन । अब नयाँ नयाँ ठाउँमा बीमा कम्पनी पुग्न आवश्यक छ । समग्रमा सबै ठाउँका सबै क्षेत्रलाई बीमामा ल्याउने उद्देश्यसहित हामी मर्जरमा गएका हौं । यसका लागि हामीलाई पूँजी, जनशक्तिलगायत पक्ष व्यापकरूपमा चाहिन्छ । सानो पूँजी, थोरै म्यानपावरबाट यो सम्भव पनि थिएन । त्यसैले मर्जरमा गएका हौं ।

मर्जरको फाइदा के के देख्नुहुन्छ ? 

मर्जरको सबैभन्दा ठूलो फाइदा भनेको दुवै कम्पनीका उत्तम अभ्यासलाई छनोट गरेर अगाडि बढ्न सकिन्छ । कथंकदाचित् कुनै कारणले कम्पनीमा खराब अभ्यास छिरेको भए पनि सुधार गर्ने मौका पाइन्छ । यसका अतिरिक्त हाम्रो विश्वसनीयता पनि बढ्छ । ठूलो पूँजी हुने कम्पनीप्रति पक्कै पनि आम ग्राहकको दृष्टिकोणमा कुनै न कुनैरूपमा विश्वास बढी हुन्छ । अब हाम्रो व्यवसायमा बढ्नेछ । 

आइतवारदेखि तपाईंहरूले एकीकृत कारोबार गर्दै हुनुहुन्छ । अन्य क्षेत्रमा मर्ज भएका कम्पनीले उत्साहजनक लाभांश दिन सकेका छैनन् । तपाईंहरूले अब दिने लाभांशको आकार कस्तो हुन्छ ?

अहिले नै यो भन्न सकिँदैन । साथै, म सीईओको पदमा बसेर यस सम्बन्धमा तत्काल बोल्दा पनि त्यति राम्रो हुँदैन होला । तर, म के आश्वस्त गराउन चाहन्छु भने मर्जरले पहिलाको भन्दा राम्रो मुनाफा दिन्छ, त्यो पनि सबैलाई । यसले कर्मचारीको वृद्धि विकासदेखि लगानीकर्ता राम्रो प्रतिफल दिन सहयोग पुग्छ । साथै, बीमितहरूले पाउने सेवासुविधा पनि पहिलाको भन्दा राम्रो हुुन्छ । मैले यो मर्जरबाट फाइदै फाइदा देखेको छु ।

एकीकृत कारोबारपछिको चुनौती पनि केही छन् कि ?

दुई कम्पनी मर्ज हुँदा केही न केही चुनौती पक्कै हुन्छ । हामी दुवै फरकफरक कार्यसंस्कृति र शैलीमा सञ्चालन भएका कम्पनी हौं । यसरी दुई कम्पनीको फरकफरक संस्कृति र शैलीलाई एकै ठाउँमा ल्याएर मिलाउन पक्कै पनि चुनौती हुन्छ । अहिलेको अवस्थामा हामीलाई यही नै मुख्य चुनौती हो । तर, यो व्यवस्थापन तहबाट समाधान भएर जान्छ ।
 
मर्जरको प्रारम्भिक सहमति गरेर एकीकृत कारोबारसम्मको अवस्थामा आउँदा केही अप्ठ्यारो परिस्थिति आयो कि ?

अप्ठ्यारोभन्दा पनि अत्यन्त सरल तरीकाले मर्जर प्रक्रिया सम्पन्न भयो । यस मामलामा म बीमा समितिलाई धन्यवाद पनि दिन चाहन्छु । सैद्धान्तिक स्वीकृति मागेको दिनमै समितिले स्वीकृति दिएको छ । मर्जर प्रक्रियामा गर्नुपर्ने दुई कम्पनीको सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) पनि सहजै भयो । स्वाप रेसियोको विषयमा पनि कुनै विवाद आएन । समग्रमा हाम्रो मर्जर सहज रूपमा भयो । 

सहजरूपमा मर्जर सम्पन्न भएकाले अझै पनि कहीँ कतै केही छुट्यो कि भन्ने डर पनि छ । त्यसलाई हामीले गम्भीररूपमा नै हेरेका छौं । तर, हालसम्म योजनाअनुसार नै काम भइरहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement