ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौद्रिक नीति सकारात्मक, कार्यान्वयन चुनौतीपूर्ण : सिबिफिन

२०७९ साउन, ११  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं (अस) । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति समग्रमा सकारात्मक रहे पनि यसले लिएका लक्ष्यहरूको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाको कार्यान्वयन भने चुनौतीपूर्ण हुने ठहर गरेको छ । वर्तमान अर्थ व्यवस्थाको सुधारका लागि मौद्रिक नीति कसिलो बनाइएकाले यसले लिएका लक्ष्यहरूको प्राप्ति र अवलम्बन गरेका कतिपय व्यवस्थाको कार्यान्वयन चुनौतीपूर्ण हुने परिसंघको ठहर छ ।

आर्थिक एवं वित्तीय स्थिरता कायम गर्न र खस्किँदो अर्थतन्त्रलाई लयमा फर्काउन समय सान्दर्भिक नीतिहरू मौद्रिक नीतिले अवलम्बन गरेको परिसंघले बताएको छ ।
बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने कर्जाको वर्गीकरण गरी उत्पादनशील क्षेत्र र व्यापारमा जाने कर्जामा फरक ब्याजदर कायम गरिने, उत्पादनमूलक क्षेत्रको विकास एवं कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गरिने, निर्यात प्रवर्द्धनमा विशेष प्राथमिकता दिइने जस्ता सुझाव मौद्रिक नीतिमा समावेश गरिनु स्वागतयोग्य भएको परिसंघले बताएको छ । त्यस्तै विप्रेषणलाई औपचारिक माध्यमबाट स्वदेश भित्र्याएको प्रमाणका आधारमा विभिन्न सेवामा छूट हुने व्यवस्थाका लागि समेत यसै वर्ष समन्वय हुने, विदेशी लगानी आप्रवाहलाई थप स्वचालित गर्न विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मा आवश्यक संशोधन गरिने जस्ता बुँदा पनि मौद्रिक नीतिमा समेटिनु स्वागतयोग्य भएको बताइएको छ ।

नेपाल भित्रिने विप्रेषण आप्रवाहको दायरा फराकिलो पार्न विप्रेषणसम्बन्धी विद्यमान व्यवस्थामा पुनरवलोकन गरिने, विदेश जाने नेपालीले विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरिने जस्ता व्यवस्थाले विदेशी विनिमय सञ्चितिको सुधारमा टेवा पुग्ने परिसंघको अपेक्षा छ । त्यसैगरी साना, घरेलु, लघु तथा मध्यम उद्यमका लागि कर्जा पहुँचमा अभिवृद्धि, कृषिलगायत उत्पादनशील क्षेत्र, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा पुनर्कर्जाको निरन्तरता र ऋणपत्रलाई निक्षेपमा गणना गर्न पाइने व्यवस्थाले व्यावसायिक क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)