ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कर्णालीमा बालीको उत्पादन घट्यो : प्रतिवेदन 

२०७९ साउन, १२  
कर्णाली प्रदेश उपभोक्ता
Image Not Found

साउन १२, सुर्खेत । कर्णाली प्रदेशमा गत आर्थिक वर्षकाे ६ महीनामा बालीको उत्पादन घटेको छ । नेपाल राष्ट्र बैंक, सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार कर्णालीमा गत आर्थिक वर्षको पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११ दशमलव २४ प्रतिशतले घटेको पाइएको छ । अघिल्लो आवको साेही अवधिकाे तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्पादन घटेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकको प्रादेशिक कार्यालय सुर्खेतले मुगुको स्थलगत र अन्य जिल्लाको गैरस्थलगत रूपमा कृषि, उद्योग र सेवा क्षेत्रको तुलनात्मक स्थिति, पूर्वाधार विकास, रोजगारीलगायत आर्थिक परिदृश्यको अध्ययन गरेको थियो । 

प्रतिवेदनले कृषि बालीले ढाकेको क्षेत्रफल ६ दशमलव १९ प्रतिशतले घटेको देखाएको छ । यस्तै, प्रमुख बाली धन, मकै र गहुँले ढाकेको क्षेत्रसमेत घटेको प्रतिवेदनमा उल्लेख छ, जसमा धानबाली ११ दशमलव ९० प्रतिशत, मकै ८ दशमलव ६५ प्रतिशत र गहुँ ४ दशमलव ९५ प्रतिशतले घटेको छ । प्रतिवेदनले कोदो, फापर, भटमास, दलहन र तेलहनले ढाकेको क्षेत्रफल भने वृद्धि भएको देखाएको छ । 

धानबालीको उत्पादन २१ दशमलव ८९, मकैबाली २ दशमलव १ प्रतिशतले बढेको जनाइएको छ । यस्तै, कोदो र फापरको उत्पादन क्रमशः ४० दशमलव ९० प्रतिशत र ९ दशमलव ४० प्रतिशतले घटेको छ। 

कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायाले परम्परागत कृषि प्रणाली यथावत हुनु, समयमा पर्याप्त मल र बीउ नपाउनु, सिँचाइको उपलब्धता नहुनुजस्ता कारणले कृषि बाली क्षेत्र घट्न गई उत्पादनमा कमी आएको हुनसक्ने बताए । ‘कतिपय अवस्थामा जीविकोपार्जन गर्नसमेत गाह्रो हुने भएपछि श्रमशक्ति कृषि क्षेत्रबाट पलायन भएर अन्य क्षेत्रमा लागेको देखिन्छ,’ उनले भने, ‘पछिल्लो समय सहरमा बसाइँसराइका कारण पनि पहाडी जिल्लामा खेती घट्दै गएको छ ।’ 

कर्णाली प्रदेशमा आव २०७८/७९ को पुस मसान्तसम्म दूध उत्पादन ८ दशमलव ४८ प्रतिशतले बढेको छ भने मासु उत्पादन ० दशमलव १२ प्रतिशतले घटेको छ । अण्डा र माछा उत्पादन १२ प्रतिशतले बढ्न पुगेको छ । अघिल्लो वर्षको सोही अवधिभन्दा २०७९ को पुस मसान्तसम्म कृषि कर्जा प्रवाह ३८ प्रतिशतले बढेर रु चार अर्ब ५४ करोड १४ लाख पुगेको राष्ट्र बैंकको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ ।  

कर्णालीमा मझौला तथा ठूला उद्योग स्थापना र औद्योगिक कर्जा प्रवाहको अवस्था न्यून छ । सञ्चालित लघु, घरेलु तथा साना उद्योगको संख्या २९ हजार दुई सय ४८ पुगेको छ । सबैभन्दा बढी औद्योगिक कर्जा सुर्खेत र कम डोल्पामा प्रवाह भएको छ । 

कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा भारत, चीन र तेस्रो मुलुकबाट आउने पर्यटकको संख्या बढ्दै गएको छ । सुर्खेत, जुम्ला र मुगुको रारामा पर्यटकलक्षित ठूलो होटल तथा रेष्टुराँ खोल्ने क्रम बढेको देखिएको छ । कोरोना महामारीको प्रभाव कम भएसँगै पर्यटन क्षेत्रले आफ्नो लय समातेको छ । अध्ययन प्रतिवेदनअनुसार होटल व्यवसायले सिर्जना गरेको प्रत्यक्ष रोजगारीमा ४० दशमलव २९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको सोही अवधिमा होटल व्यवसायले प्रदान गर्ने रोजगारीमा ३१ प्रतिशतले ह्रास आएको थियो । दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन्को क्रममा चिनिया नागरिकको आगमनले ती मुलुकका पर्यटकको सङ्ख्या बढी देखिएको छ ।

आर्थिक सर्भेक्षणअनुसार कूल ग्राहस्थ उत्पादनमा कर्णालीको हिस्सा ४ दशमलव १ प्रतिशत रहेको छ । राष्ट्र बैंकका प्रादेशिक कार्यालयका उपनिर्देशक विनय सिग्देलले कर्णालीमा प्राकृतिक स्रोत–साधनको उपलब्धता र प्रचुर सम्भावना हुँदाहुँदै पनि उत्पादन तथा राष्ट्रिय अर्थतन्त्रमा रहेको योगदान अन्य प्रदेशको भन्दा कम रहेको बताए । कूल ग्राहस्थ उत्पादनमा कर्णालीको कृषि क्षेत्रको ३१ दशमलव ५, उद्योग क्षेत्रको ११ दशमलव १ र सेवा क्षेत्रको योगदान ५७ दशमलव ४ प्रतिशत छ । 

‘कोरोना महामारीले शिथिल देखिएको कर्णालीको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका कृषि, उद्योग, सेवा, पूर्वाधारलगायत क्षेत्र क्रमशः चलायमान बन्दै गइरहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement