साउन १२ काठमाडौ । तनहुँको देवघाटस्थित महेश संन्यास आश्रम एवं महेश संस्कृत गुरुकुलका संस्थापक डा. स्वामी रामानन्द गिरिको पाँचौं स्मृतिदिवसको अवसरमा ‘रामानन्द प्रज्ञा वक्तृत्वकला’ प्रतियोगिताको आयोजना गरिएको छ ।
महेश संस्कृत गुरुकुल, देवघाटधामद्वारा आयोजित उपत्यकाव्यापी वक्तृत्व प्रतियोगिता काठमाडौंको नेपाल प्रज्ञाप्रतिष्ठानमा बुधवार सम्पन्न भएको हो । उक्त प्रतियोगितामा काठमाडौं उपत्यकाका ४६ विद्यालयका ४६ जना विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
महेश संस्कृत गुरुकुल तथा महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरिको सभाध्यक्षतामा सम्पन्न ‘असल नागरिक निर्माणमा नैतिक शिक्षाको भूमिका’ विषयक उक्त वक्तृत्वकलामा सहभागीहरूमध्ये सरस्वती एकेडेमी, चाबहिलकी छात्रा आयुषा सापकोटा प्रथम भएकी छिन् ।
यस्तै रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारीका छात्र सुतृष्ण पौडेल द्वितीय र नेपाल वेद विद्याश्रमका छात्र अन्जन ढुंगेल तृतीय भएका छन् ।
यसैगरी टाइमलाइन एकेडेमी, जोरपाटीकी छात्रा प्रसन्ना पुडासैनी र सैनिक आवासीय महाविद्यालय, भक्तपुरकी छात्रा कुशा पोख्रेलले प्रोत्साहन प्राप्त गर्न सफल भएको आयोजककले जानकारी दिएको छ ।
विजयी छात्रछात्रालाई प्रमुख अतिथि डा. जगमान गुरुङको हातबाट प्रमाणपत्र र सभाध्यक्ष रमणानन्द गिरिको हातबाट नगद पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितात्मक उक्त कार्यक्रमको निर्णायक मण्डलमा नेपाली साहित्यकी स्थापित कवयत्री तथा पद्मकन्या क्याम्पसकी सहप्राध्यापक प्रभा भट्टराई, वाल्मीकि विद्यापीठका सह प्राध्यापक डा. मुकुन्द लामिछाने र नेपाल संस्कृत विश्वविद्यालयका सह प्राध्यापक डा. लेखप्रसाद निरौला रहेका थिए ।
सबै प्रतियोगीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको उक्त सभामा प्रमुख अतिथि डा. जगमान गुरुङले मन्तव्यको क्रममा गुरुको स्मृतिमा महेश संस्कृत गुरुकुलले यस किसिमको बौद्धिक सभा आयोजना गरी नैतिक शिक्षा एवं गुरुकुल शिक्षाका उन्नायक ब्रह्मलीन स्वामी डा. रामानन्द गिरिजी महाराजको वास्तविक सम्मान गरेको टिप्पणी गरेका थिए ।
यस्तै कार्यक्रमका सभाध्यक्ष समेत रहेका स्वामी रमणान्द गिरिले ब्रह्मलीन गुरुको पाचौँ स्मृति दिवसका अवसरमा प्राज्ञिक विद्वज्जनसँग सत्सङ्ग तथा राष्ट्रका कर्णधार युवावर्गको दृष्टिकोण सुन्न पाउँदा गौरवम महसूस भएको भन्दै यस किसिमका सभासमारोह समयसमयमा गुरुकुलले आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै सबै अतिथि, निर्णायक, प्रतियोगी, सहभागी तथा सहयोगीहरूप्रति आभार व्यक्त गरे ।
सभामा वाल्मीकि विद्यापीठका प्राचार्य प्राध्यापक डा. भागवत ढकाल, वरिष्ठ समालोचक प्राध्यापक डा. महादेव अवस्थी, सह प्राध्यापक डा. नवराज कट्टेल, सहप्राध्यापक डा. श्रीराम अधिकारी, प्राध्यापक डा. नुरापति पोख्रेल, महेश संस्कृत विद्यापीठका प्राचार्य कमल सुवेदी, महेश संस्कृत गुरुकुल माविका प्रधानाध्यापक फणीन्द्र पौडेल, महेश छात्र परिषदका अध्यक्ष उपप्राध्यापक उमेशप्रसाद घिमिरे, डा. वैकुण्ठ घिमिरे, उपप्राध्यापक रोहिणीराज तिमल्सिना, कवि निराजन पन्त, उपप्राध्यापक शिवराज लामिछाने लगायतका विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।
सभाको शुरुमा महेश गुरुकुल माविका प्रधानाध्यापक फणीन्द्र पौडेलले स्वागत मन्तव्य र अन्तमा महेश विद्यापीठका प्राचार्य कमल सुवेदीले आयोजक संस्थाका तर्फबाट धन्यवाद मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन गुरुकुलका छात्र आचार्य पर्वत घिमिरेले गरेका थिए । प्रतियोगिताको बीचबीचमा सहभागीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्थापित युवाकविहरू सुदेश सत्याल, सच्चिदानन्द पौडेल, देवी बराल, शिवराज लामिछाने, नगाधिराज आदिले आफ्ना कविता सुनाएका थिए ।
समग्रमा उपत्यकाका स्थापित सरकारी तथा गैरसरकारी विद्यालयबाट आएका छात्रछात्रा तथा प्रतिनिधि शिक्षक, विभिन्न विश्वविद्यालका प्राध्यापक तथा स्थापित विद्वान्, सन्तमहात्मा र कविजनहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त वक्तृत्वकला समारोह सभ्य र भव्य रहेको सभामा सहभागी उपप्राध्यापक उमेशप्रसाद घिमिरेले जानकारी दिए ।