ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बहुराष्ट्रिय कम्पनीको नाफामा उच्च गिरावट, नेस्लेले फेरि बढायो उत्पादनको भाउ

२०७९ साउन, १२  
अन्तरराष्ट्रिय उपभोक्ता
Image Not Found

साउन १२, काठमाडौं । चकलेट वेफर किट्क्याट निर्माता कम्पनी नेस्लेले फेरि पनि आफ्नो उत्पादनको भाउ बढाएको छ । स्वीट्जरल्यान्डको विशाल खाद्य निर्माता कम्पनीले यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा विश्वभर आफ्ना उत्पादनको भाउ साढे ६ प्रतिशतले बढाएको छ । 

यसरी मूल्य बढाउनेमा नेस्ले एक मात्रै होइन । कोका–कोला, म्याकडोनल्ड्जले पनि हालै मूल्य वृद्धिको घोषणा गरेका थिए । विश्वभर इन्धन महँगो बनेको, श्रम लागत बढेको अनि कच्चा पदार्थको मूल्य बढ्न थालेपछि कम्पनीहरुको उत्पादन लागत अभूतपूर्व स्तरमा बढेको छ । 

कम्पनीले यस वर्षको पहिलो तीन महीनामै सामानको भाउ ३ दशमलव १ प्रतिशतले बढाएको थियो । आफूले मूल्य वृद्धि जिम्मेदार ढंगले कार्यान्वयन गरेको नेस्लेका प्रमुख कार्यकारी मार्क श्निेडरले भनेका छन् । आफूहरुले अनुशासित ढंगले लागत र संचालन कार्यकुशला नियन्त्रण गरेर मूल्यवृद्धिको चाप र आपूर्ति शृङ्खलाका कारण उत्पन्न सीमाहरुको प्रभाव कम गरेको उनले बताएका छन् । 

कम्पनीले मूल्य सबैभन्दा धेरै उत्तर अमेरिकामा ९ दशमलव ८ प्रतिशतले बढाएको छ । यूरोपमा पनि भाउ ४ दशमलव ९ प्रतिशतले बढाइएको बताइएको छ । समीक्षा अवधिमा कम्पनीको कुल मुनाफा ११ दशमलव ७ प्रतिशतले घटेर ५ अर्ब २० करोड डलरमा झरेको छ । 

मार्चमा कम्पनीले रूसमा लगानी बन्द गरेर त्यहाँको बजारबाट आफ्ना लोकप्रिय ब्रान्डहरु झिकेको थियो । रुसमा व्यवसाय र सम्पत्तिको अपलेखनका कारण यस वर्ष पहिलो त्रैमासमा कम्पनीको मुनाफामा तीव्र कमी आएको हो । 

अमेरिकी बहुराष्ट्रिय हल्का पेय पदार्थ निर्माता कम्पनी कोका–कोलाले पनि विश्वभर आफ्नो उत्पादनको मूल्य औसत झन्डै ५ प्रतिशतले बढेको बताएको छ । फाष्टफूड चेन म्याकडोनल्ड्जले पनि आफ्ना केही परिकारको भाउ बढाएको छ । एजेन्सी

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement