साउन १४, कञ्चनपुर । अनुदानको मल नपाएपछि धानखेती गरेका कञ्चनपुरका किसान दोब्बर मूल्य तिरेर भारतबाट अबैधरूपमा ल्याइएको ‘गुणस्तरहीन’ मल प्रयोग गर्न बाध्य छन् । यसले आर्थिक भार त छँदैछ, उत्पादन पनि घट्छ कि भन्ने उनीहरूमा चिन्ता छ ।
कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइँदा रू. एक हजार ६०० भन्दा बढी तिरेर भारतबाट अबैधरूपले ल्याइएको मल खेतमा हाल्नुपरेको बताए । ‘धानमा मल हाल्नुपर्ने बेला अनुदानको मल पाइएन,’ उनले भने, ‘त्यसपछि चर्काे मूल्य तिरेर अबैधरूपले ल्याइएको मल प्रयोग गरेका छौं ।’
भारतबाट तस्करी गरी ल्याइएका मल बजारमा खुलेआम बिक्री भइरहेका छन् । यसरी भित्र्याइएको मलको जाँचसमेत नभएकाले गुणस्तरीय छ/छैन भन्न सकिँदैन । जानकारहरू भने यस्ताे मल गुणस्तर हुनेमा शंका गर्छन् ।
अनुदानको मलभन्दा भारतको मल दोब्बर महँगो
सहकारी संस्थाले अनुदानको युरिया मल प्रतिबोरा रू. १ हजारमा किसानलाई बेच्ने गरेको छ । तर, भारतबाट ल्याइएको युरिया मल भने प्रतिबोरा १ हजार ६०० देखि १ हजार ८०० सम्ममा विक्री भइरहेको छ । यस आधारमा अनुदानकाे मलभन्दा भारतकाे मल झण्डै दाेब्बर महँगाे छ ।
साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड, महेन्द्रनगर उपशाखाले ६ हजार बोरा रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई विक्री गरेको जनाएको छ । चालु आवको साउन महिनाको पहिलो सातामै उपशाखाले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल विक्री गरेको हो ।
युरिया मल प्रतिबोरा रू. ८८१ मा सहकारीमार्फत किसानलाई विक्री गरेको उपशाखा प्रमुख दीपक भट्टले बताए । उनका अनुसार उपशाखामा अझै १ हजार ८८४ बोरा युरिया र दुई हजार १०० बोरा डिएपी मल मौज्दात छ । ‘पाँच दिनअघिदेखि किसानलाई युरिया मल विक्री गरिरहेका छौं,’ उपशाखा प्रमुख भट्टले भने, ‘युरिया मलको माग अधिक छ । थोरै मौज्दातले पुग्दैन ।’ मौज्दात रहेको मल एक–दुई दिनमै सहकारी संस्थालाई विक्री गरिसक्ने उनले बताए ।
कर्पाेरेशनमा १०२ ओटा सहकारी संस्था सूचीकृत छन् ।
कर्पोरेसनले ५० किलोग्रामको युरिया मल प्रतिबोरा रू. ८८१ मा सहकारीलाई विक्री गरेको छ । रासायनिक मल आपूर्ति गर्ने अर्काे सरकारी संस्था कृषि सामग्री कम्पनी लिमिटेड, महेन्द्रनगर शाखासँग भने रासायनिक मलको मौज्दात नै छैन ।
शाखा प्रमुख बलबहादुर शाहले रासायनिक मल भैरहवासम्म पनि आइनपुगेको बताए । ‘भारतको कलकता बन्दरगाहमा आइपुगेको जानकारी भएको छ,’ उनले भने, ‘भैरहवा आइपुग्न एक हप्ता बढी लाग्छ । यहाँ आइपुग्न दुई हप्ता बढी लाग्छ ।’
कैलाली र कञ्चनपुरका लागि अझै ढुवानीको टेण्डर नभइकाले यहाँका किसानले मलका लागि दुई–तीन हप्ता कुर्नुपर्ने अवस्था रहेको उनले बताए ।
कञ्चनपुरका लागि रासायनिक मलको ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले र ७० प्रतिशत रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनीले गर्दै आएको छ । दुवै कम्पनीले आपूर्ति गर्ने मलभन्दा किसानको माग अधिक छ । किसानले मागअनुसार मलको कोटा बढाउनुपर्ने सरकारसँग माग गर्दै आएका छन् । रासस