नेपाल खानेपानी संस्थान, महेन्द्रनगर शाखाको स्वामित्वमा रहेको करोडौं मूल्यको पानी प्रशोधन मेशिन (आइरन रिमुभल प्लान्ट) लामो समयदेखि अलपत्र अवस्थामा छ । संस्थानको हाताभित्र रहेको सो मेशिन करीब एक दशकदेखि प्रयोगविहीन रहेको हो ।
२०५६ सालपछि संस्थानले सो मेशिन प्रयोगमा ल्याएको छैन । पानीमा आइरनको मात्रा नभएकाले मेशिनको प्रयोग गर्न नपरेको संस्थानको दाबी छ ।
शाखाका सहायक प्राविधिक अधिकृत प्रवीणसिंह थापाले बजार क्षेत्रमा अहिले पानीमा फलामको मात्रा नभएकाले मेशिन प्रयोगविहीन भएको बताए । संस्थानका अनुुसार सो मेशिनको मूल्य अहिले रू. तीन करोडभन्दा बढी पर्छ ।
जापानी सहयोग संस्था जाइकाले २०५० सालमा संस्थानलाई आइरन हटाउने डीप ट्युबवेल जडान गरिदिएपछि सो मेशिन आवश्यक नभएको हो ।
‘ट्युबवेल जडान भएपछि पानीमा फलामको मात्रा नदेखिएकाले पानीमा सामान्य रूपमा ब्लिचिङ पाउडरमात्रै प्रयोग गर्ने गरिएको छ’ थापाले भने ।
तर पनि पानीमा हाल चुनको मात्रा भने बढेको पाइएको संस्थानले जानकारी दिएको छ । चुनले गर्दा केही दिनमै पानी राख्ने भाँडो सेतो हुने र स्वास्थ्यमा समेत असर पार्ने नगरवासीको गुनासो छ ।
वर्ष ६ अंक १३ , शुक्रवार, १ असोज, २०६७