काठमाडौं (अस) । नेपालमा दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्न अमेरिकी दूतावास र अमेरिकन चेम्बर अफ कमर्श (एमच्याम नेपाल)ले सहकार्य गर्ने भएका छन् । दूतावासले एमच्याम नेपालसँगको सहकार्यमा व्यवसायी र सरकारी अधिकारीहरूसँग लगानी प्रवर्द्धनको विषयमा अन्तरक्रिया गरेको छ । नेपालको व्यावसायिक वातावरणको अवस्था र लगानी नीतिबारे अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा उद्योग, व्यवसायका संगठित संस्थाका प्रतिनिधि, विकास नियोगका प्रतिनिधि, विज्ञ र सरकारी अधिकारीको उपस्थिति थियो । नेपालमा अमेरिकी लगानी र व्यावसायिक सहकार्य बढाउन प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अमेरिकी दूतावासले जानकारी दिएको छ ।
दूतावासका कार्यवाहक राजदूत म्यानी पी. मिक्कलर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेलले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए । नेपालमा निजीक्षेत्र आर्थिक विकासको प्रमुख संवाहक रहेको दूतावासका कार्यवाहक राजदूत मिक्कलरले बताए । निजीक्षेत्रले रोजगारी सृजना र राष्ट्रिय आयमा सबैभन्दा बढी योगदान गर्ने उनको भनाइ थियो ।