साउन १७, काठमाडौं। व्यावसायिक घराना एमसी ग्रूपका अध्यक्ष चिरञ्जीलाल अग्रवालले आयातनिर्यातलाई प्रोत्साहन गर्न बनेका नीतिलाई कार्यान्वयन तहमा लैजान ध्यान दिनुपर्ने बताएका छन् ।
सोमवार आर्थिक अभियानसँगको कुराकानीमा उनले लगानी प्रवर्द्धन गर्न आयातनिर्यातमा दिइएका छूट र सहुलियतका प्रावधान कार्यान्वयन गर्नु आवश्यक रहेको बताए । मुलुकमा भारतीय कच्चा पदार्थमा आधारितभन्दा पनि स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दा स्थापना आवश्यक रहेको उनको भनाइ छ ।
अग्रवालले परम्परागत शैलीको व्यापारमा परिवर्तनको आवश्यकता औंल्याउँदै उच्च प्रविधिमा आधारित उद्योगमात्रै दिगो हुने र यसले नै अर्थतन्त्रमा योगदान दिने बताए । दशकौंदेखि उद्योग व्यवसायमा संलग्न अग्रवालका अनुसार नेपालमा औद्योगिक वातावरण बन्न सके व्यावसायिक घरानाहरू नयाँ सोचका साथ लगानी गर्न तयार छन् । उनले अब परम्परागत व्यवसायको विस्तार गर्न नहुने र नयाँ सोचका साथ विविधतामा आधारित व्यवसायले मात्र फड्को मार्ने बताए ।
एक शताब्दी पुरानो इतिहास बोकेको एमसी ग्रूप नेपालको अग्रणी व्यापारिक घरानाको रूपमा परिचित छ । यसले धरानबाट कपडाको व्यापार र कन्स्ट्रक्शनबाट व्यावसायिक यात्रा शुरू गरेको थियो ।
प्रदीपशमशेर राणाको लगानी रहेको नेपाल एयरवेजमा पनि ग्रूप अंशियार थियो । शुरूमा कार्गो र बुकिङबाट व्यावसायिक यात्रा शुरू गरे तापनि पछि एयरवेज नै बन्द भएको उनको भनाइ छ । नेपालमा पेप्सीको फ्रेन्चाइज पनि उनले नै शुरू गरेका हुन् ।
सन् १९८६ बाट नेपालमा पेप्सी उत्पादन भइरहेको छ । कामको अनुभव र व्यावसायिक इमानदारी देखेर विदेशीले नेपालमा पेप्सीकोलाको प्लान्ट स्थापना गर्न प्रोत्साहन गरेको र प्लान्ट स्थापना गरेको ७ महीनामै उत्पादन शुरू गरेको अग्रवालले सुनाए ।
बहुराष्ट्रिय कम्पनी पेप्सीमा शुरुआती समयमा हिम्मत गरेर श्रम र लगानी गरेको तर यसको उत्पादन र पूर्वाधारमा लगातार लगानी थप्दै जानुपर्ने बाध्यताले हात झिक्नुपर्दा दुःख लागेको उनले सुनाए । उनका अनुसार एमसी ग्र्रूपले हाल व्यापार व्यवसायलाई विविधीकरण गर्दै लैजानुपर्छ भन्ने मान्यताअनुरूप विभिन्न क्षेत्रमा लगानी विस्तार गरिरहेको छ ।
यसले सुपर लेमिकोट्स, हनुमान मेटल्स, विनायक एग्रो तथा ट्रेडिङतर्फ धातु, नेपाल मार्केटिङ, मेड इन नेपाल, रियल इस्टेटतर्फ केएल दुगडको ज्वाइन्ट भेन्चरमा स्काइलाइन डेभलपर्स, शिक्षातर्फ डीएभी स्कूल, बैंक तथा वित्तीय संस्थातर्फ सिद्धार्थ बैंक, बीमातर्फ नेपाल रिलायबल लाइफ इन्स्योरेन्स र ऊर्जाक्षेत्रमा लगानी गरेको छ ।
व्यापार र कन्स्ट्रक्शनबाट उठेका अग्रवाल उत्पादनमूलक र उद्योगमा जमेका छन् । सन् १९७० मा धरानबाट काठमाडौं प्रवेश गरेका उनले व्यापार विस्तार गर्ने क्रममा गोदावरी मार्बल्स, कपडा र ऊन उद्योगमा पनि लगानी गरेका थिए ।