पेचिङ (चीन) । चिनियाँहरुमाझ कुखुराको खुट्टा निकै लोकप्रिय छ । घर मा होस् वा पार्टीमा चीनभर कुखुराको खुट्टा निकै रुचीका साथ खाइन्छन् । चीनले वर्षेनी आयात गर्ने चिकन प्रडक्टमा सबैभन्दा ठूलो हिस्सा कुखुराको खुट्टाले ओगट्ने गरेको छ ।
अमेरिकाबाट मात्रै लाखौं टन कुखुराको खुट्टा आउने गरेको छ । तर अमेरिकीहरु कुखुराको खुट्टा छुँदै छुँदैनन् । यही भएर चीनमा वर्षौसम्म अमेरिकी फाष्टफूड रेष्टुराँ चेन केएफसीले आफ्नो मेन्युमा कुखुराको खुट्टा राखेन् । चिनियाँ उपभोक्ताहरुले धेरै रुचाउने भएपनि कम्पनीले यसलाई कहिले मेन्युमा ठाउँ दिएन । तर अब भने केएफसीले मेन्युमा कुखुराको खुट्टा राख्न थालेको छ ।
एक्कासी यो परिवर्तन कसरी भयो ? कम्पनीले अन्तरराष्ट्रिय बजारमा इन्धनको भाउमा भएको वृद्धिका कारण बाध्य भएर यो निर्णय गर्नु परेको चीनमा केएफसी सञ्चालक कम्पनी यम चाइनाका सीईओ जोए वाटले बताएकी छिन् । कम्पनीले आफ्नो मेन्युमा चिकन विङ्ज पनि थपेको छ ।
कच्चा तेलको भाउमा भएको वृद्धि अनि खाद्यान्नको मूल्य वृद्धिका कारण रेष्टुराँ तथा होटलहरुको उत्पादन लागत ह्वात्तै बढेको छ । तेलको भाउमा भएको वृद्धिको प्रभाव शोस्न आफूहरुले कुखुराको भुत्लाबाहेक प्रयोगमा आउन सक्ने सम्मका सबै अंग उपयोग गर्न चाहेको वाटले बताए ।
यम चाइनाले चीनमा केएफसी, पिज्जा हट र टयाको बेल चेन चलाएको छ । यम चाइनाले यस वर्ष चीनमा हजार देखि १२ सय ओटासम्म नयाँ स्टोर खोल्ने योवना ल्याएको थियो । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि संक्रमण नियन्त्रण गर्न लगाइएको लकडाउनबीच केएफसीको स्टोर सञ्चालन अवधि प्रभावित भएका छन् ।
कम्पनीले विज्ञापन र मार्केटिङ कटौती गरेको छ भने घरमालिकहरुलाई पनि भाडामा छूट दिन अनि रेष्टुराँहरुलाई आफूसँग भएको सामानको उच्चतम् प्रयोग गर्न भनिरहेको छ । एजेन्सी