काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर ढुवानी गर्ने मुख्य सडकको रूपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण शुरू भएको आठ वर्षमा पनि सम्पन्न हुन सकेन । पटक–पटक समय थप्दा समेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ ।
सडकको अवस्था खराब हुँदा एम्बुलेन्सलगायत अत्यावश्यक सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको स्थानीयवासी र जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् । दुई ठेक्कामा निर्माण अघि बढाइएकोमा एउटा ठेक्का तोडिइसकेको र अर्काे ठेक्का तोड्दा निर्माण व्यवसायी अदालती प्रक्रियामा गएकाले निर्माण अवरुद्ध बनेको छ ।
बालाजु–रानीपौवा सडक खण्ड निर्माणको जिम्मा सन् २०१४ जुन ५ मा सैलुङ (नेपाली कम्पनी) र एआईपीएल (भारतीय कम्पनी)लाई दिइएकोमा गत असार ५ गते तोडिएको थियो । १७ दशमलव एक किलोमिटर लम्बाइको सो सडक निर्माणका लागि सातपटकसम्म समय थप गरिएको थियो । पछिल्लोपटक चैतमा अवधि सकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । सो ठेक्कामा भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४९ दशमलव ३२ प्रतिशत थियो ।
सडकको अवधि थप गरिरहँदा त्यो अवधिभित्रै सम्पन्न गर्न पटक–पटक निर्माण कम्पनीलाई सचेत गराइएको विभागका महानिर्देशक थापाले बताए । उनका अनुसार सडकको नियमित मर्मत सम्भारमा ध्यान नदिएकाले वर्षाको समयमा यातायात सञ्चालनमा कठिनाइ भएर स्थानीयवासीले सास्ती भोगेका थिए ।
८ वर्ष बितिसक्दा निर्माणस्थलमा कुनै पनि सामग्री नरहेको, कामदार नभएको र निर्माणको गतिविधि ठप्प रहेको पाइएको थियो । ‘यसअघि निर्माण भइसकेका संरचना र अरू काम पनि स्वीकार गर्न नसकिने अवस्थामा पाइएको थियो,’ उनले भने । रासस