साउन १८, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८, बेलडाँडीका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानले बाँदरका कारण हैरानी खेप्नुपरेको छ । बारीमा लगाएको तरकारी बाँदरले खाइदिन थालेपछि किसान मारमा परेका हुन् ।
लौका, काँक्रा, बोडी, करेलालगायतका तरकारी बाँदरले नोक्सान गर्दै आएका छन् । ‘गाउँ नजिकैको कालिका सामुदायिक वन क्षेत्रबाट आउने बाँदरको हुलले बारीमा फलेका तरकारी केही बाँकी राख्दैनन्,’ स्थानीय तेजबहादुर चौधरीले भने, ‘असारयता किसानको लाखौं मूल्यको तरकारी बाँदरले खाइसकेको छ ।’
बाँदरले चौधरीको मात्रै रू ३५ हजार मूल्य बढीको तरकारी नोक्सानी गरेको छ । अर्का व्यावसायिक तरकारी खेतीमा संलग्न किसान वीरेन्द्र चौधरीको रू २० हजार बराबरको तरकारी बाँदरले खाइदिए ।
दैनिक बाँदरको हुल गाउँमा पस्ने गरेको छ । स्थानीयवासीले भगाउँदा सामुदायिक वनका नजिकका रुखमा बस्ने र तरकारी बारीमा कोही नभएको बेला हुलका हुल आएर एकैपटक पूरै बारीको तरकारी खाने र तोडेर लैजाने गरेको स्थानीय चन्द्रबहादुर चौधरीले बताए । ‘बालबालिका र महिलाले धपाउन जाँदा टेर्दैनन्,’ उनले भने, ‘आक्रमण गर्न आउँछन् । बाँदरकै लागि बारीमै ढुकेर बस्नुपर्ने अवस्था छ ।’
बजारमा बेच्नका लागि तयार भएको मकैसमेत बाँदरले बाँकी नराखेको उनले बताए । बेलडाँडी गाउँका अधिकांश किसान तरकारी खेतीमा संलग्न छन् । बाँदरको हुल नै बारीमै पसरेर तरकारी नोक्सानी गर्न थालेको छ ।
बाँदर नियन्त्रणका लागि स्थानीय किसानले माग गरेका छन् । ‘बाँदरले निकै सताउन थालेका छन्,’ स्थानीय मीना चौधरीले भने, ‘सामुदायिक वन छेउका घरभित्रै पसेर अन्नसमेत खाइदिने गरेको छ । बारीमा लगाएको तरकारी बाँदरकै कारण टिप्न पाएका छैनौं ।’
स्थानीय जनप्रतिनिधिसँग छलफल गरी बाँदर नियन्त्रणका उपायका लागि कार्य अगाडि बढाउनसमेत अनुरोध गरिएको किसानको भनाइ छ । बाँदर नियन्त्रणका लागि आग्रह गरिँदै आए पनि कुनै पनि निकायले यसबारे चासो नदिएको उनीहरूको भनाइ छ ।
अर्कोतर्फ सामुदायिक वन संरक्षण भई हराभरा भएपछि जंगली बँदेलले समेत यस क्षेत्रका किसानलाई सताउन थालेको छ । किसानले खेतमा लगाएको धान, गहुँलगायतका अन्न बँदेलले नोक्सान गर्दै आएका छन् । तीन वर्षदेखि यस क्षेत्रका किसान जंगली बँदेलबाट समेत पीडित छन् । रासस