साउन १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितो राखेर विभिन्न शीर्षकमा लिएको कर्जा नविकरणमा पनि कडाइ गरेको छ ।
मौद्रिक नीतिमार्फत काठमाडौं उपत्यकामा बजार मूल्यको ३० प्रतिशत मात्रै कर्जा दिने निर्णय गरेको बैंकले अहिले त्यस्तो कर्जा नविकरण गर्दा पनि उक्त नियम लागू गर्नुपर्ने निर्देशन जारी गरेको छ ।
यसको अर्थ कसैले बजार मूल्यको ५० प्रतिशत ऋण पाइने व्यवस्था हुँदा कर्जा लिएको भए उसले अहिले २० प्रतिशत ऋण चुक्ता गरेपछि मात्रै नविकरण गर्न पाउँछ । कसैले ४० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था हुँदा ऋण लिएको भए अहिले १० प्रतिशत कर्जा चुक्ता गर्नुपर्ने छ । यसको अर्थ घरजग्गा व्यवसायका लागि ऋण लिएका ऋणीले कम्तिमा कुल कर्जाको १० देखि २० प्रतिशत रकम नविकरण गर्दा तिर्नुपर्ने भएको छ ।
राष्ट्र बैंकले नयाँ कर्जा, कर्जा थप्न वा कर्जा नवीकरण सबैमा कडाइ गर्दै धितो सुरक्षणको फेयर मार्केट भ्यालु बीचको अनुपात (लोन टु भ्यालु रेसियो) नयाँ कर्जा, थप कर्जा वा नवीकरण गर्दा पनि काठमाडौं उपत्यका भित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशत मात्रै कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको उक्त कार्यक्रम कार्यान्वयन गर्नका लागि बुधबार सर्कुलर जारी गरेको छ। गत वर्षको मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा धितो राखेर प्रवाह हुने कर्जा र सोको फेयर मार्केट भ्यालुबीचको अनुपात काठमाडौं उपत्यकामा बढीमा ४० प्रतिशत र अन्य स्थानमा बढीमा ५० प्रतिशत थियो । त्यो भन्दा अघि उपत्यकामा ५० प्रतिशतसम्म र उपत्यका बाहिर ६० प्रतिशतसम्म कायम थियो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निश्चित प्रयोजन नखुलेका ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा, सेयरको धितोमा प्रदान गरिने लगायत जुनकुनै शीर्षकका व्यक्तिगत प्रयोजनका कर्जाहरु प्रति ग्राहक ५० लाख रुपैयाँ मात्रै प्रवाह गर्ने व्यवस्था यथावत राखेको छ ।