ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पर्यटनको अर्थतन्त्र

२०७९ साउन, १९  
लेख | दृष्टिकोण
Image Not Found
author avatar भीमप्रसाद पन्त

अर्थतन्त्रका अवयवहरूमध्ये पर्यटन पनि एक हो । सेवामूलक उद्योगभित्र पर्ने पर्यटनबाट धेरै मुलुकले ठूलो आम्दानी गरिरहेका छन् । पर्यटनको अंश विश्वको निर्यातमा ७ प्रतिशत र सेवा निर्यातमा २९ प्रतिशत रहेको मानिन्छ । नेपालमा २०१० देखि २०१७ सम्ममा नेपालको पर्यटन आय दोब्बरजति बढेको अनुमान छ । विश्व पर्यटनमा नेपालको अंश करीब शून्य नै रहेको देखिन्छ । नेपालले पर्यटक संख्या, बसाइ अवधि र खर्च बढाउन विभिन्न क्रियाकलाप गरे पनि त्यसको उपलब्धि खासै भएको देखिँदैन । सन् २०१८ मा नेपालको जीडीपीमा पर्यटनको योगदान ७ प्रतिशतको हाराहारीमा भएको विश्व पर्यटन संगठनले उल्लेख गरे पनि जीडीपीमा यसको योगदानबारे नेपाल सरकारसँग सही तथ्यांक छैन ।

पर्यटन उद्योगलाई गति दिन सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रूपमा मनाइने भएको छ । यो कार्यक्रम सफल बनाउँदा नेपालको पर्यटनले व्यापक गति लिनेछ ।

आफ्नो नियमित वासस्थानबाट बिदा मनाउने, व्यापार गर्ने वा त्यस्तै अन्य कुनै उद्देश्यले २४ घण्टाभन्दा बढी समय र लगातारको १ वर्षभन्दा कम समय बाहिर बिताउन निस्कने व्यक्तिलाई पर्यटक भनिन्छ ।  पर्यटनको अर्थतन्त्र व्यापक छ । आय वितरणदेखि स्थानीय उत्पादनको बजारीकरणसम्म यसको योगदान छ । त्यस्तै रोजगारी सृजनादेखि निर्यात वृद्धिसम्म पनि पर्यटनले योगदान दिएको छ । झन्डै १० लाखले रोजगारी पाएको यस क्षेत्रसँग हस्तकला पनि जोडिएको छ । हस्तकलाका उत्पादनको झन्डै ७० प्रतिशत अंश निर्यात हुन्छ । यो निर्यातको सम्बन्ध पनि पर्यटनसँग छ । नेपाल आउने पर्यटकले उपहारका रूपमा नेपाली हस्तकलाका सामान किनेर लैजान्छन् । कोरोना कालमा पर्यटक आगमन ठप्प हुँदा हस्तकलाको निर्यात पनि करीब ठप्प भएको थियो ।

स्थानीय स्रोतको उपयोगसँग पनि पर्यटनको सम्बन्ध छ । हस्तकलाका उत्पादनका कच्चा पदार्थ स्थानीय स्रोत नै हुन् । पर्यटनका कारण यस्ता स्थानीय स्रोतको उपयोग हुन्छ । सीमान्तकृत वर्गले हस्तकलाका उत्पादनमा योगदान दिएको देखिन्छ । त्यसैले पर्यटन क्षेत्रको विकास हुने हो भने यो वर्ग लाभान्वित हुन्छ । त्यसैले पर्यटनको अर्थतन्त्र बहुआयामिक हुन्छ ।

नेपाल आउने पर्यटक नै नेपालको प्रचारका लागि सद्भाव दूत हुन् । अर्थात् पर्यटक नै पर्यटनका असली विज्ञापनकर्ता हुन् । नेपालले पर्यटनको विज्ञापनकै लागि ठूलो रकम खर्चनु त्यति जरुरी देखिँदैन ।

व्यापारघाटाको कहालीलाग्दो तथ्यांक तथा शोधनान्तर स्थिति घाटामा गई विदेशी विनिमय सञ्चितिमा व्यापक दबाब परेको छ । यी तीनै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन क्षेत्र हो । यसलाई नेपालले पर्याप्त प्राथमिकता दिन र योजना तथा रणनीति तय गर्न सकेको छैन । तय भएका रणनीतिको कार्यान्वयन पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन
सकेको छैन ।

मुलुकको सुदृढ अर्थतन्त्र, सहज वैदेशिक व्यापारलगायत अन्य आर्थिक विषयवस्तुका सन्दर्भमा वैदेशिक मुद्राको निकै भूमिका रहेको हुन्छ । सार्क राष्ट्र श्रीलङ्कामा विषम आर्थिक अवस्था निम्तिनुको एक प्रमुख कारण वैदेशिक मुद्राको अभाव हो । नेपाल पनि त्यस्तै अवस्था आउन सक्छ भनेर राष्ट्र बैंकले आयात नियन्त्रणमा कडाइ गरिरहेको छ । यस्तो नियन्त्रणले अर्थतन्त्रका अन्य अवयवमा नकारात्मक असर पर्न सक्छ । धेरैभन्दा धेरै पर्यटक ल्याउने र तिनको नेपाल बसाइ बढाउन सक्ने हो भने यस्तो नियन्त्रण नै आवश्यक पर्दैन । नेपालको सन्दर्भमा पर्यटन वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोत हो । पर्यटन उद्योग तथा व्यवसाय फस्टाउँदा वैदेशिक मुद्रा आर्जनको बाटो खुल्छ । नेपालका बैंकहरू अहिले तरलताको अभाव भोगिरहेका छन् । यदि पर्यटन क्षेत्र चलायमान हुने हो भने तरलताको समस्या समाधानमा सहयोग मिल्छ । मुलुकमा विदेशी मुद्राको भण्डार रित्तिँदै गएकाले त्यसलाई रोक्न नेपाल राष्ट्र बैंकले आयातका लागि खोलिने प्रतीतपत्रमा शतप्रतिशत नगद मार्जिन अनिवार्य गरेको छ । कतिपय वस्तुको प्रतीतपत्र खोल्न रोक पनि लगाएको छ । बैंकहरूले कमाउने नाफामा यसको पनि राम्रै अंश हुन्छ । अर्थतन्त्रको यो क्षेत्रलाई पनि पर्यटनले प्रभावित पारेको छ ।

वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिलको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान ४ दशमलव ३ प्रतिशत रहेको थियोे । कोरोना महामारीसँगै नेपाली अर्थतन्त्रका हरेक अंशमा पर्यटन उद्योगको योगदान घट्दै गएको देखिन्छ । पर्यटन क्षेत्रमा सुधार आउँदा समग्र अर्थतन्त्रमा सकारात्मक असर पर्छ र त्यसले बैंकिङ क्षेत्रलाई पनि सहयोग मिल्छ । त्यसैले पर्यटन क्षेत्रलाई अब थप विस्तार गर्न आवश्यक भइसकेको छ । त्यस निम्ति नीति, योजना र कार्यक्रम आवश्यक भइसकेको छ । यसै सन्दर्भमा सरकारले शिथिल पर्यटन उद्योगको उत्थानका निम्ति ७३ बुँदे कार्य योजना सार्वजनिक गरेको छ ।

सरकारको पर्यटन उद्योगलाई गति दिन सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रूपमा मनाइने भएको छ । यो कार्यक्रम सफल बनाउँदा नेपालको पर्यटनले व्यापक गति लिनेछ । तर, यसका लागि गर्नुपर्ने काम थुप्रै छ । मुख्य कुरा लगानी बढाएर नयाँ पूर्वाधार बनाउन आवश्यक छ । त्यसका लागि बैंकहरूको लगानी चाहिन्छ । तर, अहिले कर्जा निक्षेप अनुपात निकै कसिलो रहेकाले बैंकहरू थप कर्जा विस्तारमा सक्षम देखिएका छैनन् ।

लेखक पर्यटन व्यवसायी हुन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement