ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दबाबमा भारतीय मुद्रा, डलर भारु विनिमय दर कीर्तिमानी न्यून स्तरमा आउन सक्ने !  

२०७९ साउन, १९  
अन्तरराष्ट्रिय
Image Not Found

काठमाडौं । हालैका दिनहरूमा भारतीय मुद्रा तीव्र दबाबमा परेको छ । रुस र युक्रेनबीच जारी युद्ध, कच्चा तेलको भाउमा भइरहेको तीव्र वृद्धि, विश्वभर केन्द्रीय बैंकहरूद्वारा एक पछि अर्को गर्दै ब्याजदर वृद्धि लगायतका बाह्य कारकहरूका कारण रुपयाँको भाउ दबाबमा आएको हो । हालैका हप्तामा रुपयाँको भाउ कीर्तिमानी न्यून स्तरमा ओलिएर प्रतिडलर ८० रुपयाँ पार गरेको थियो ।

जुलाईमा कम्तीमा २ पटक विनिमय दर ८० नाघेको थियो । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले रुपयाँको तीव्र अवमूल्यन रोक्न बजारमा हस्तक्षेप गरेपछि रुपयाँको भाउमा सुधार आएको थियो । बिहीवार डलर–रुपयाँ विनिमय दर ७९ रुपयाँ २१ पैसामा आएर बन्द भएको थियो । रुपयाँको तीव्र अवमूल्यनका कारण सेल–अफको जोखिम बढेर भाउ झनै ओरालो लाग्ने जोखिम बढेपछि नीतिनिर्माताहरू समेत तत्कालै प्रतिक्रिया दिन बाध्य भएका थिए ।

विश्वव्यापी घटनाहरूका कारण भाउ दबाबमा आएकोमा विश्लेषकहरू पनि सहमत छन् । विश्व बजारमा कच्चा तेलको भाउमा आएको तीव्र वृद्धिका कारण व्यापार घाटा फराकिलो हुँदा यसको प्रभावले भारु कमजोर भएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा डलरको तुलनामा भारुको भाउ ५ प्रतिशतभन्दा धेरैले घटेको छ । भारत विश्वमा तेस्रो ठूलो इन्धन आयातकर्ता हो ।

विश्व बजारमा कच्चा तेलको मूल्यवृद्धि उसका लागि निकै चुनौतीपूर्ण हुने गरेको छ । भारतले डलर तिरेर तेल किन्ने गरेको छ । रुपयाँको भाउ कमजोर हुँदा तेल खरिद झनै महँगिन्छ । तेलको भाउ प्रतिब्यारेल १ डलर मात्रै बढ्दा भारतको आयात महसुल २ अर्ब १० करोड डलरले बढ्ने बजार अनुसन्धाता संस्था नोमुराका विश्लेषकहरूले बताएका छन् ।

रुसले युक्रेनमाथि फेब्रुअरीको अन्त्यमा आक्रमण गरेयता विश्व बजारमा तेल झनै महँगो भयो । यस्तोमा व्यापार घाटा कम गर्न भारतले रुसबाट भारी छुटमा इन्धन खरिद बढाएको छ । भारु कमजोर बनेपछि निर्यात नाफामुलक बन्छ । तर, आयात महँगो हुन्छ । अन्तरराष्ट्रिय व्यापारमा रुपयाँको प्रयोग भयो भने तेल आयातकर्ताहरूबाट डलरको माग घट्नेछ । 

विप्रेषणमा सुधार 

कमजोर रुपयाँका कारण अन्य देशबाट भारतको आयातमा दबाब बढाए पनि विदेशबाट विप्रेषण आप्रवाह वृद्धिमा टेवा दिनेछ । गएको वर्ष त्यहाँ विप्रेषण ८ प्रतिशतले बढेर ८९ अर्ब ४० करोड डलरमा पुगेको थियो । रुपयाँको भाउमा भएको वृद्धिका कारण विदेशबाट आएको विप्रेषणको रुपयाँमा मूल्य बढ्छ । 
तर, भारतको फराकिलो चालु खाता घाटाले रुपयाँको भाउमा निरन्तर दबाब सृजना गर्ने अपेक्षा गरिएको छ । यसमाथि पूँजी बजारबाट धमाधम लगानी पलायनले पनि रुपयाँको भाउमाथिको दबाब घट्ने लक्षण छैन ।

कमोडिटिजको उच्च मूल्यका कारण व्यापार झट्का जारी रहँदा बाह्य सन्तुलन खस्किएर चालु खाता घाटा फराकिलो बन्ने अनुमान पनि गरिएको छ । यस वर्षको जुलाईसम्मको अवधिमा भारतको पूँजी बजारबाट २८ अर्ब ९० करोड डलर बाहिरिसकेको नोमुराले हालै एक नोटमा भनेको थियो । यो जापानबाहेक एशिया क्षेत्रका देशहरूबाट बाहिरिएको दोस्रो उच्च रकम हो । रुपयाँको भाउलाई टेवा दिन आरबीआईले पनि ठूलो रकम खर्च गरेको छ भने पूँजी प्रवाहलाई प्रोत्साहित गर्न विदेशी निक्षेपसम्बन्धी नियम खुकुलो बनाउने, कर्जा बजारमा विदेशी लगानी प्रवाहसम्बन्धी नियम खुकुलो पार्ने लगायत पहलहरू गरिसकेको छ । 

सन् २०१३ मा अमेरिकी केन्द्रीय बैंकले व्यापक स्टिमुलस कार्यक्रममा कटौती गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबीच रुपयाँको भाउमा देखिएको प्रदर्शनसँग तुलना गर्ने हो भने अहिले भार नियन्त्रित नै देखिन्छ । फेडको सो निर्णयपछि उदीयमान बजारहरूबाट धमाधम पूँजी पलायन हुन थालेपछि रूपयाँको भाउमा तीव्र कमी आएको थियो ।

अहिले रुपयाँमा अवमूल्यनको दबाब सन् २०१३ को जस्तो उच्च नभएको डीबीएस बैंककी वरिष्ठ उपाध्यक्ष तथा अर्थशास्त्री राधिका रावले भनेकी छन् । अहिले विश्वभर अमेरिकी डलर महँगो बनेपछि सोको प्रभावस्वरूप रुपयाँको भाउ दबाबमा आएको हो । अमेरिका र भारतमा नीतिगत भिन्नताका कारण पनि रुपयाँ दबाबमा आएको राव बताउँछिन् । दबाब थप चर्कियो भने भारत सरकारले उच्च परिमाणमा डलर खर्चेर प्रतिरक्षाका सामान किन्ने कामलाई थाँती राख्नेलगायत डलरको माग घटाउने विकल्प अपनाउन सक्ने उनका
भनाइ छ ।  

विश्वभर अवस्था अनिश्चित नै रहेकोले रुपयाँ आगामी महीनाहरूमा झनै घट्ने विश्लेषकहरू बताउँछन् । फेडको आक्रामक ब्याजदर वृद्धि, अमेरिका मन्दीमा जान सक्ने सम्भावना र भारतको बाह्य सन्तुलन चुनौतीपूर्ण रहेको अवस्थामा आगामी दिनमा रुपयाँ झनै कमजोर बन्ने गोलम्यान श्याख्समा भारतीय अर्थशास्त्री सान्तनु सेनगुप्ता बताउँछन् ।  

हालैका दिनमा अमेरिकी डलरको तुलनामा भारतीय रुपयाँको भाउ कीर्तिमानी न्यून स्तरमा ओर्लिएपछि रुपयाँसँग स्थिर आबद्धता रहेको नेपाली रुपैयाँ पनि चपेटामा आएको छ । हालैका महीनामा अमेरिकी डलरको तुलनामा रुपैयाँको भाउ कीर्तिमानी न्यून स्तरमा आएको थियो । डलरको तुलनामा रुपयाँ थप सस्तो बनेर अहिलेसम्म नदेखिएको न्यून स्तरमा आयो भने रुपैयाँको भाउ पनि सोही अनुपातमा कमजोर बन्नेछ । एजेन्सी

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement