ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्राविधिक शिक्षामा छात्राको आकर्षण

२०७९ साउन, २०  
गण्डकी प्रदेश
Image Not Found

म्याग्दी (अस) । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ विममा सञ्चालित श्री किसानी कृषि प्राविधिक शिक्षालयमा कृषि विषय अध्ययनका लागि १२ जिल्लाबाट विद्यार्थी आएका छन् ।

२०६८ सालमा सञ्चालन भएको किसानी कृषि प्राविधिक शिक्षालयले ११ वर्षमा पाँच सयभन्दा बढी कृषि प्राविधिक उत्पादन गरिसकेको छ । साथै पछिल्लो समय शिक्षालयले भौतिक पूर्वाधारमा समेत उल्लेख्य काम गरेको बताएको छ ।

सूचना र प्रविधिका अत्याधुनिक साधनहरूको प्रयोग गरेर शिक्षा दिँदै आएको शिक्षालयका संयोजक करण कँडेलले बताए । विद्यार्थीहरूलाई किसानका खेतबारी र पशुगोठमै लगेर प्रयोगात्मक शिक्षा दिइँदै आएको उनको भनाइ छ ।

शिक्षालयमा छात्रको तुलनामा छात्राको संख्या बढी रहेको कृषि प्राविधिक शिक्षालयको तथ्यांकले देखाउँछ ।

२०६८ मा सीटीईभीटीबाट सम्बन्धन प्राप्त गरी १८ महीने जेटिए, पाँच वर्ष अघि (विसं २०७४ सालदेखि) तीनवर्षे आइएससी (एजी) र २०७६ सालदेखि भेटेरीनरी (पशु रोगको चिकित्सा वा उपचार सम्बन्धी) शिक्षा अध्यापन हुँदै आएको छ । शिक्षालयमा अहिले सुर्खेत, जुम्ला, हुम्ला, मुगु, कैलाली, चितवन, कास्की, बागलुङ, म्याग्दीलगायत १२ जिल्लाबाट अध्ययनका लागि विद्यार्थी आएका छन् ।

संयोजक कँडेलका अनुसार हाल शिक्षालयमा ९० जना छात्रा र ५१ जना छात्र अध्ययनरत छन् । हाल शिक्षालयमा विभिन्न जिल्लाका १४१ जना विद्यार्थीहरू अध्ययनरत छन् । कृषि डिप्लोमा ५१ जना, डिप्लोमा पशुतर्फ ६० जना र प्रि डिप्लोमातर्फ ३० जना गरी १४१ जना विद्यार्थीले कृषि र पशु सम्बन्धी अध्ययन गरिरहेका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement