ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वैदेशिक अध्ययनमा किन जाने ? नेपालमै सम्भव छ गुणस्तरीय शिक्षा

‘विदेशमा गएर कोही पढ्न चाहन्छ भने अहिलेको लोकतान्त्रिक प्रक्रियामा नपढ, विदेश नजाऊ भन्न हामी सक्दैनौं,’ मन्त्री पौडेल, पढाईसंगै कमाईको लागि विदेशिन्छन् नेपाली बिद्यार्थी : विज्ञ

२०७९ साउन, २०  
शिक्षा अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रतिक्षा कँडेल

साउन २०, काठमाडौं  । कपनका सुरेन्द्र कोइरालाले हालै एसईईमा ३.८ जीपीए ल्याए । ए लेभलको पढाइका लागि भारतको बैंगलोर जाने उनको सोच थियो । तर उनका धेरै साथीहरूले स्वदेशमै ए लेभल पढाइ हुने भन्दै सम्झाएपछि कोइरालाले पनि अन्ततः यहीं पढ्ने निधो गरे । 

काठमाडौंका विभिन्न कलेजमा ए लेभलको पढाइ हुने भएपछि अहिले उनी विभिन्न कलेजबारे बुझ्दै छन् । उनी र उनका सबै साथीहरू स्वदेशमै अध्ययन गर्ने तयारीमा छन् । पछिल्लो समय नेपालमा नै अन्तरराष्ट्रियस्तरको पढाइ हुने गरेको छ ।

नेपालमा गुणस्तरीय शिक्षाको अभावमा विद्यार्थी विदेशिने गरेको भन्ने बुझाइ गलत रहेको शिक्षामन्त्री देवेन्द्र पौडेल बताउँछन् । नेपालमै गुणस्तरीय पढाइ हुने गरेकाले विद्यार्थीहरू अध्ययनका लागि बाहिरिनुपर्ने अवस्था नरहेको उनले बताए । ‘विदेशमा गएर कोही पढ्न चाहन्छ भने अहिलेको लोकतान्त्रिक प्रक्रियामा नपढ, विदेश नजाऊ भन्न हामी सक्दैनौं,’ मन्त्री पौडेलले भने, ‘तर एसईईपछि विद्यार्थीले प्राप्त गरेको प्राप्तांक अनुसार नेपालमै चाहेको विषय संस्थागत र सार्वजनिक रूपमै पठनपाठन हुने व्यवस्था छ ।’ नेपालको पढाइमा विषय र पाठ्यक्रमको कमी नरहेको मन्त्री पौडेलले बताए ।

खासमा स्वदेशमा राम्रो रोजगारीको अभावले पनि पढाइका नाममा विदेश जाने र उता गइसकेपछि पढ्दै काम गर्ने चलन रहेको शिक्षाविद्हरू बताउँछन् ।

कतिपय विषय र पाठ्यक्रम हाम्रो जनशक्तिलाई चाहिनेभन्दा पनि बढी रहेको उनको भनाइ छ ।  ‘अझै पनि अन्तरराष्ट्रिय विषयहरू हाम्रा विद्यार्थीले पढ्न चाहन्छन् भने त्यो पनि पढाउने एजेन्सीहरू अगाडि बढाउँदै छौं,’ मन्त्री पौडेलले भने, ‘नतिजा प्रकाशन छिटो गर्न विश्वविद्यालयलाई सिस्टममा लैजाने कार्यहरू पनि भइरहेको छ । अहिले धेरैजसो विद्यार्थीहरू आईटी, इञ्जिनियरिङ, मेडिकलजस्ता विषय पढ्दा छिटो र सजिलै जागिर पाइन्छ भन्ने उद्देश्यले पढ्ने गर्दछन् ।’

९, १०, ११ र १२ कक्षा माध्यमिक तहकै स्कूल भएकाले एसईईका कारण अनावश्यक संघर्ष थपिएको शिक्षाविद् बताउँछन् ।  प्राध्यापक बालचन्द्र लुइँटेलले एसईईमा कम ग्रेड ल्याउने विद्यार्थी भारतमा गएर पढ्ने चलन रहेको पनि बताए । उनले भने, ‘यहाँका कलेजमा माथिल्लो ग्रेडलाई बढी प्राथमिकता दिने गरेको पाइन्छ । त्यसकारण थोरै ग्रेड ल्याउने विद्यार्थी भारतमा गएर नर्सिङ तथा प्राविधिक विषय पढ्ने गरेको देखिन्छ ।’ ९ कक्षादेखि १२ सम्मलाई नै सेकेण्डरी स्कूल मानिएकाले एसईईको ब्रेकलाई हटाउनुपर्ने आवश्यकता रहेको उनले बताए । 

उनले भने, ‘पाठ्यक्रमले हामीलाई ९ देखि १२ सम्म सेकेण्डरी स्कूल नै भनेको छ तर एसईईको ब्रेकले गर्दा विद्यार्थीलाई के पढ्ने, कहाँ पढ्ने जस्ता कुरामा अनावश्यक सोच्न बाध्य बनायो ।’

हुन त धेरैजसो विद्यार्थी पढाइलाई देखाएर कमाउनकै लागि विदेशिने गरेका छन् । खासमा स्वदेशमा राम्रो रोजगारीको अभावले पनि पढाइका नाममा विदेश जाने र उता गइसकेपछि पढ्दै काम गर्ने चलन रहेको शिक्षाविद्हरू बताउँछन् । 

प्राडा विद्यानाथ कोइराला यहाँको पाठ्यक्रमभन्दा पनि पढाइ नहुने, समयमा स्कूल, कलेज नखुल्ने, समयमै जाँच नहुने जस्ता समस्या रहेको बताए । त्यसैले विद्यार्थी विदेशिन बाध्य भएको उनले बताए ।  कुनै पनि राजनीतिक विषयले बच्चाको शिक्षामा असर पार्न नहुने उनको भनाइ छ ।

‘विद्यालयमा पढाइ हुँदैन भने बच्चाहरूलाई घरमै बसेर पढ्ने वातावरण पनि सरकारले बनाइदिनुपर्छ,’ उनले भने, ‘एसईईपछि विद्यार्थीले ए लेभल, सीडीएससीजस्ता कोर्स पढ्न चाहन्छन् किनभने ती व्यावहारिक कोर्सलाई संसारका सबै विश्वविद्यालयले प्राथमिकता दिएका छन् ।’

यसले गर्दा पनि विद्यार्थीहरूले बाहिरिने इच्छा गरेको उनले बताए । पछिल्लो समय विश्वभर ए लेभल लगायतका कोर्स लोकप्रिय बन्नुको कारण यसको वैज्ञानिक पाठ्यक्रम, व्यावहारिक शिक्षा, विश्वस्तरको मान्यता र उत्कृष्ट नतिजा दिनु रहेको उनले बताए ।  उनले भने, ‘हामीले पढिरहेको ज्ञानलाई प्रयोगात्मक रूपमा पनि उतार्नु आवश्यक छ । बच्चाहरूलाई पढाइरहेको कुरालाई व्यावहारिक ज्ञानमा लैजानुपर्छ ।’ नेपालमा पनि अहिले यस्तो अभ्यास हुँदै गएको उनले बताए । 

प्लस टु मात्रै नभई स्नातक तहका लागि पनि अन्तरराष्ट्रियस्तरका ठूला विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरू नेपालमै खुलेका छन् । प्लस टु सकेपछि भने कतिपय विद्यार्थी स्नातक अध्ययनका लागि बाहिरिने गरेका छन् । कथम् कदाचित् स्नातक तह यहीं पढे भने स्नातकोत्तर तहमा उनीहरूलाई स्वदेशमै अडाउन गाह्रो छ । नेपालमा हुने पढाइको सम्बन्धमा विद्यार्थीका लागि राम्रो काउन्सिलिङको अभाव देखिएको लुइँटेल बताउँछन् ।

मुख्यतः विदेशमा गएर पढेपछि त्यहाँ जागिरको ठूलो समस्या रहँदैन तर नेपालमा जागिरको समस्या हुने भएकाले पनि स्नातक वा स्नातकोत्तर पढ्नका लागि विद्यार्थी विदेशिने गरेको शिक्षाविद्हरू बताउँछन् ।

विदेशमा निश्चित लेभलसम्मको अध्ययनपछि जागिरको सुनिश्चितता पनि हुन्छ तर नेपालमा त्यो सुनिश्चितता नहुने, अझ जागिर नै नपाइने समस्याका कारण विद्यार्थीमा विदेशिने रहर जाग्ने उनीहरूको भनाइ छ । 

यद्यपि ११ वा १२ पढ्नका लागि विदेशिनेको संख्या भने न्यून रहेको लुइँटेलले बताए । ‘कतिपयका अभिभावक नै विदेश भएको खण्डमा मात्रै जान्छन्, केही भने स्नातक वा स्नातकोत्तरका लागि सहज होस् भन्नका लागि विदेश जान्छन् । एसइईपछि नै विदेश जानेहरू कम हुन्छन्,’ उनले भने । यद्यपि स्नातक र स्नातकोत्तर तहका लागि विदेशिने युवाको संख्या पनि कम छैन ।

 पछिल्लो समयमा नेपालमा राम्रा–राम्रा विद्यालय स्थापना हुने क्रम बढेकाले स्वदेशमै गुणस्तरीय र चाहेको विषय पढ्न पाइने विद्यालय सञ्चालक बताउँछन् । विद्यार्थीले इच्छा र चाहना अनुसार अध्ययन गर्न पाउने भएपछि विदेश जानुपर्ने कारण नरहेको उनीहरू बताउँछन् ।

आफूलाई भविष्यमा जे विषयमा रुचि छ, त्यही पढ्नुपर्ने शिक्षाविद्को सुझाव छ । कसैको दबाब र साथीहरूले भनेकै भरमा विषय छान्न नहुने उनीहरूको सुझाव छ । साथीहरूकै कारण प्लस टु एउटा विषय पढ्ने तर स्नातकमा गएर अर्को विषय पढ्नेहरू पनि प्रशस्त छन् । तसर्थ विश्वविद्यालयमा जुन विषय पढ्ने हो, ११ र १२ मा पनि त्यसैसँग सम्बन्धित क्षेत्रको पढाइ रोज्नुपर्छ ।


गुणस्तरीय शिक्षामा ह्वाइटफिल्ड विद्यालय

काठमाडौं (अस) । २०३७ सालमा स्थापना भएको रक्तकाली एजुकेसन फाउन्डेसनले २०५४ सालमा ह्वाइटफिल्ड मा.विको स्थापना गरेको हो । फाउन्डेसन अन्तर्गत ह्वाइटफिल्ड इन्टरनेसनल कलेजसँगै ह्वाइटफिल्ड मावि, ह्वाइटफिल्ड स्राइन प्रि–स्कुल, ब्रुकफिल्ड एकडेमी, सेन्ट्रल कलेज स्थापना गरी शिक्षा क्षेत्रमा योगदान गर्दै आएको छ ।

काठमाडौंको नयाँबजारमा अवस्थित यस ह्वाइटफिल्ड मावि/इन्टरनेसनल कलेजमा उच्च शिक्षा परिषद्को कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी विषयसँगै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी व्यवस्थापन संकायमा स्नातक तहको बीसीएम र बीबीएस कार्यक्रम सञ्चालन भइरहेको छ । 

कलेजले शैक्षिक गुणस्तर कायम गर्दै स्टुडेन्ट काउन्सिलको अग्रसरमा विभिन्न कार्यक्रम गर्दै आएको छ । कलेजले अतिरिक्त क्रियाकलाप, टीक्यूएम तथा प्रोजेक्ट वर्क जस्ता विषयलाई प्राथमिकता दिएको छ । ह्वाइटफिल्ड विद्यालय तथा कलेजको आफ्नै भवन भएको हुँदा न्यून शुल्कमा पनि गुणस्तर शिक्षा प्रदान गर्न सफल भइरहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement