ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिनियाँ पर्यटक आगमन उत्साहजनक: तथ्यांक भन्छ, २५० प्रतिशतभन्दा धेरैले बढ्यो

२०७९ साउन, २०  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, काठमाडौं। कोभिड–१९ महामारीसँगै ठप्प हुन पुगेको चिनियाँ पर्यटक आगमन पछिल्लो समय उत्साहजनक ढंगले बढ्न थालेको पाइएको छ । गत जुलाईमा जुनको तुलनामा २५० प्रतिशतभन्दा धेरैले चिनियाँ पर्यटकको आगमन बढेको तथ्यांक सार्वजनिक भएको हो ।

गएको जुनमा ४५१ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । जुलाईमा बढेर १ हजार ५९३ पुगेको छ । यसपालि जुलाईको आगमन कोरोना महामारी शुरू हुनुअघिको जुलाईको तुलनामा भने ८५ दशमलव ३ प्रतिशतले कम हो । सन् २०१९ को जुलाईमा १० हजार ८०८ चिनियाँ नेपाल आएका थिए । 

चीनले कोरोना संक्रमण रोक्नका लागि गरेको बन्दाबन्दी खुकुलो गर्न थालेसँगै चिनियाँहरू विदेश भ्रमणमा निस्कन थालेका हुन् । यद्यपि चीनका केही शहरहरूमा अझै बन्दाबन्दी कायम छ ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनको दक्षिणी पर्यटकीय शहर सान्या, नोवेल कोरोना भाइरसको उद्गमस्थल वुहानलगायत बन्दाबन्दीमा छन् । 
तर, लगभग सबै चिनियाँले कोरोनाविरुद्ध खोप लगाइसकेकाले यो बन्दाबन्दी शुरूताकाको जस्तो कठोर नहुने अनुमान गरिएको छ । नेपालमा चिनियाँ र भारतीय पर्यटकको आगमनलाई अर्थपूर्ण मानिन्छ । पर्यटन क्षेत्रको दिगो प्रगतिका लागि भारतीय र चिनियाँ पर्यटकले अरूले भन्दा बढी योगदान गर्ने यस क्षेत्रका व्यवसायी बताउँछन् । 

चीन र भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएका मुलुक हुन् । चीनको जनसंख्या १ अर्ब ४० करोड हाराहारी छ । नेपाल आउन भिसा नचाहिने भारतको जनसंख्या पनि चीनकै हाराहारी छ । यी दुवै मुलुकका नागरिक वर्षेनि करोडौंको संख्यामा विदेश घुम्न निस्कन्छन् । भारत र चीनबाट विदेश घुम्न निस्कनेको सानो अंश मात्रै नेपाल ल्याउन सके पनि नेपाली पर्यटन क्षेत्रले ठूलो फड्को मार्न सक्ने बताइन्छ ।

कतिपय जानकारहरू त भारतीय र चिनियाँ पर्यटक ल्याउन सके अन्य मुलुकका नआए पनि फरक नपर्ने बताउँछन् । 

चिनियाँ र भारतीय पर्यटकका लागि नेपाल नजिकको र कम खर्चिलो गन्तव्य पनि हो । यी दुवै मुलुकबाट खर्चालु पर्यटक पनि उल्लेख्य संख्यामा विदेश घुम्न जान्छन् । 

यस वर्ष ७ महीना (जनवरी–जुलाई) को पर्यटक आगमनले गतवर्ष सन् २०२१ को कुल आगमनलाई पनि उछिनेको छ । सन् २०२१ को वर्षभरिको तुलनामा २०२२ को ७ महीनाको आगमन झन्डै ५३ प्रतिशतले बढी भएको तथ्यांक नेपाल पर्यटन बोर्डले बिहीवार सार्वजनिक गरेको हो ।

सन् २०२२ को शुरूदेखि नै पर्यटक आगमनमा देखिएको सुधारका कारण ७ महीनामा हवाईमार्गबाट मात्रै २ लाख ८५ हजार ३६३ विदेशी नेपाल आएका छन् । बोर्डको तथ्यांकअनुसार सन् २०२१ मा स्थल र हवाई दुवै मार्गबाट गरी १ लाख ५० हजार ९६२ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना भाइरसको संक्रमण दर र घातकपन कम हुँदा विश्वभर पर्यटक आवागमनमा सुधार देखिएको छ । 

यसपालि जुलाईको आगमन सन् २०२० को वर्षभरको भन्दा पनि बढी हो । कोरोना भाइरसको शुरुआती वर्ष मानिने २०२० मा २ लाख ३० हजार ८५ पर्यटक नेपाल आएका थिए । 

बोर्डको तथ्यांकअनुसार यस वर्ष जुलाईमा मात्रै ४४ हजार ४६२ पर्यटक आएका छन् । यसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण शुरू हुनुपूर्वकै अवस्थामा पर्यटक आउन थालेको पुष्टि गर्छ । सन् २०१९ को जुलाईमा मात्रै नेपालमा ५८ हजार ८११ पर्यटक आएका थिए । बोर्डले उक्त अवधिसँग तुलना गर्दा ७५ दशमलव ६ प्रतिशतले पर्यटक आगमनमा सुधार देखिएको उल्लेख गरेको छ । 

पर्यटक आगमनका लागि यो अवधि अफ सिजन मानिए पनि तुलनात्मक रूपमा सकारात्मक मान्नुपर्ने पर्यटन व्यवसायी बताउँछन् । सन् २०२२ पछि पर्यटक आगमनमा सुधार हुने प्रक्षेपण गर्दै आएका व्यवसायी चिनियाँ पर्यटक आगमानमा आएको सुधारबाट आशावादी देखिएका छन् । गत जुलाईमा चीनबाट आउने पर्यटक संख्या ह्वात्तै बढेको छ । वर्षको शुरूदेखि मासिक ३०० देखि ४५० को संख्यामा आएका चिनियाँ पर्यटक जुलाईमा भने १ हजार ५९३ जना आएका छन् ।

नेपालमा आउने पर्यटक सबैभन्दा धेरै भारतीय हुन्छन् । दोस्रोमा चिनियाँ पर्छन् । तर, कोरोना भाइरससँगै चीनबाट आउने पर्यटकको संख्या पुछारमा देखिन थालेको छ । यसपालि जुलाईमा आगमन संख्यामा उल्लेख्य सुधार देखिएसँगै अब चिनियाँ पर्यटक नेपालमा आउने क्रम बढ्ने व्यवसायीहरूको आकलन छ । विगत महीनामा जस्तै जुलाईमा पनि भारतबाट नेपाल आउने पर्यटकको संख्या नै धेरै छ । जुलाईमा भारतबाट १७ हजार २९९ पर्यटक आएका छन् ।

यसैगरी उक्त महीनामा अमेरिकाबाट ५ हजार ८४४ पर्यटक आएका छन् । भारतपछि दोस्रो स्थानमा अहिले अमेरिकाबाट आउने पर्यटक छन् । यसपछि बेलायतबाट ३ हजार ९५३ विदेशी नेपाल आएका छन् । यस्तै सार्क मुलुक बंगलादेशबाट १ हजार ८७४ जना आएका छन् । बोर्डका अनुसार सार्क देशबाट कुल १९ हजार ९८० पर्यटक नेपाल आएका छन् । यस्तै एशियाका चीन, जापानलगायत देशबाट ४ हजार १९५, यूरोपेली देशबाट ९ हजार १२१, ओसेनिया मुलुकबाट १ हजार २१२ पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकी देशहरूबाट ५ हजार ८४४, मध्यपूर्वी देश इजरायल, टर्कीलगायतबाट ३७५ र अन्य देशबाट ३ हजार ७३५ पर्यटक जुलाईमा नेपाल भ्रमणमा आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)