ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

शैक्षिक हब बन्दै विराटनगर, उच्च शिक्षाका लागि पूर्वका विद्यार्थीको पहिलो रोजाइ

२०७९ साउन, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

साउन २०, विराटनगर । पछिल्लो समय पूर्वको शैक्षिक हबको रूपमा विकसित विराटनगरमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दै गएको छ । काठमाडौंपछिको शैक्षिक हबको रूपमा स्थापित विराटनगरमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढेका हुन् ।

एसईईपछिको उच्च शिक्षाका लागि विराटनगर पूर्वक्षेत्रका विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । त्यस्तै कोशीपारिबाट पनि उच्च शिक्षा अध्ययन गर्न यहाँ आउने विद्यार्थीको पहिलो गन्तव्य विराटनगर नै हो ।

काठमाडौंका चर्चित विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सक्ने क्षमताका विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीको रोजाइमा विराटनगर पर्ने गरेको शैक्षिक क्षेत्रका जानकारहरू बताउँछन् । एसईई परीक्षाको नतीजा प्रकाशित भएपछि कक्षा ११ मा भर्ना हुन विराटनगरका विद्यालयहरूले सञ्चालन गरेको प्रवेश परीक्षामा विगत वर्षहरूको तुलनामा यस वर्ष दोब्बर विद्यार्थीहरू सहभागी भएको विद्यालय सञ्चालकहरू बताउँछन् ।

विराटनगरका ११–१२ पढाउने विद्यालयहरूले कक्षा ११ मा अध्ययनका लागि विद्यार्थीको प्रवेश परीक्षा लिइरहेका छन् । केही दिनअघि मात्रै विराटनगर–६ मा रहेको एभरेष्ट उच्च माध्यमिक विद्यालयले प्रवेश परीक्षा लिएको थियो । एभरेष्टमा विज्ञान र व्यवस्थापन गरी २५० विद्यार्थीको कोटामा भर्नाका लागि गरिएको प्रवेश परीक्षामा ४७६ विद्यार्थी सहभागी भएको प्राचार्य टीकाराम पुरीले जानकारी दिए ।

त्यस्तै विराटनगर–१३ मा रहेको अरनिको उच्च माध्यमिक विद्यालयले  सञ्चालन गर्दै आएको विज्ञान संकायमा भर्ना हुन २ हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका छन । अरनिकोमा ७०० विद्यार्थीको कोटा रहेको कलेजका प्राचार्य राजेश दासले बताए । उनका अनुसार गतवर्षको तुलनामा यस वर्ष प्रवेश परीक्षामा विद्यार्थीको चाप बढेको छ । 
विराटनगर–१४ मा रहेको ग्रीनल्याण्ड उच्च माध्यमिक विद्यालयमा विज्ञान, व्यवस्थापन, होटेल म्यानेजमेन्ट संकायमा अध्ययनका लागि १ हजार ७३४ विद्यार्थीले प्रवेश परीक्षा दिएको प्राचार्य प्रदीप निरौलाले जानकारी दिए । कलेजका तीनओटै संकायमा ५५० विद्यार्थीको कोटा रहेको उनले बताए । 

त्यसैगरी विज्ञान र व्यवस्थापनमा चार/चार सय कोटा रहेको  कोवास कलेजमा १ हजार २०० विद्यार्थीले प्रवेश परीक्षा दिएको प्राचार्य सुनिलकुमार श्रेष्ठले जानकारी दिए ।  

विराटनगर–१४ मा रहेको शिक्षादीप उच्च माध्यमिक विद्यालयले सञ्चालन गरेको प्रवेश परीक्षामा २ हजार ३९९ विद्यार्थी सहभागी भएका थिए । शिक्षादीपले विज्ञान संकायमा ६५० र व्यवस्थापन संकायमा २५० जना विद्यार्थीलाई भर्ना लिने प्राचार्य ज्ञानबहादुर खड्काले बताए ।  

विज्ञान, व्यवस्थापन र होटेल म्यानेजमेन्ट संकायमा गरी ६५० विद्यार्थी अध्यापन गराउन कोटा तोकिएको विराटनगरकै लर्डबुद्ध उच्च माध्यमिक विद्यालयमा ८१० जना विद्यार्थीले प्रवेश परीक्षा दिएको प्राचार्य सरोज भट्टराईले बताए । यस्तै विराटनगर–१३ मा रहेको कान्तिपुर उच्च माध्यमिक विद्यालयले सञ्चालन गर्दै आएको विज्ञान र व्यवस्थापन संकायका गरी ६४० कोटामा २ हजार ५७३ विद्यार्थीले प्रवेश परीक्षा दिएको प्राचार्य खुशीराज श्रेष्ठले जानकारी दिए ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement