ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सातामा करीब २३ अर्बको धितोपत्र खरीदविक्री, कुल बजार पूँजीकरण भने ४० अर्ब ६४ करोडभन्दा बढीले घट्यो

२०७९ साउन, २१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता


साउन २१, काठमाडौं । यो साता धितोपत्र दोस्रो बजार ८१ दशमलव ५५ अंकले घट्दा कुल बजार पूँजीकरणमा रू. ४० अर्ब ६४ करोड १९ लाखले कमी आएको छ ।

गत साताको अन्तिम कारोबार दिन २ हजार १४० दशमलव ५२ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ११३ दशमलव ५५ विन्दुमा बन्द भएको हो ।
समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकमा कमी आउँदा सूचीकृत धितोपत्रहरूको मूल्यमा पनि कमी आएको देखिन्छ । त्यसैले गत साताको अन्तिम कारोबार दिन रू. ३० खर्ब ५६ अर्ब ५३ करोड ५९ लाख रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू. ३० खर्ब १५ अर्ब ८९ करोड ३९ लाखमा झरेको हो ।

साताको ६ कारोबार दिनमा नेप्से परिसूचक दुई दिन बढेको छ भने चार दिन घटेको छ । पहिलो कारोबार दिन ५४ दशमलव ५८ अंकले बढेको नेप्से दोस्रो दिन १ दशमलव १५ प्रतिशत बढेको हो । त्यस पछिका चार कारोबार दिन नेप्से परिसूचक निरन्तर घटेर बन्द भयो । तेस्रो दिन २ दशमलव ७६ अंक, चौथो दिन ६ दशमलव ७२ अंक, पाँचौ‌ं दिन ३८ दशमलव ६१ अंक र छैठौं दिन ३४ दशमलव ६१ अंकले नेप्से घटेको हो ।

धितोपत्र दोस्रो बजार सूचनाको बजार भन्ने टिप्पणी गरिरहँदा बजारसँग सम्बन्धित धेरै जसो सूचनाहरू सकारात्मक रहे पनि बजार भने सकारात्मक बन्न सकेन । गत साता नियामक निकाय नेपाल धितोपत्र बोर्डले बजार विकास र विस्तारका लागि तय गरिएका नीतिले बजारमा सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरूको थियो । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको व्यवस्था कार्यान्वयनका लागि यसै साता निर्देशन जारी गरेको थियो । राष्ट्र बैंकले तय गर्ने बैंक दर तथा नीतिगत दर परिवर्तन भएमा तत्काल ब्याजदर परिवर्तन गरी प्रकाशन गर्न सकिने व्यवस्था गरेको थियो । सो निर्देशन पछि ब्याजदर बढ्ने हल्लाले लगानीकर्ता आत्तिएर शेयर विक्री गर्न सक्रिय भएको देखिन्छ । वाणिज्य बैंकर्स संघले भने तत्काल ब्याजदर नबढाउने निर्णय गरेको छ । पूँजीबजार र बैंक तथा वित्तीय संस्थाको ब्याजदरबीच नकारात्मक सम्बन्ध देखिँदै आएकाले पनि ब्याजदर परिवर्तन सम्बन्धी समाचारले बजार प्रभावित बन्दै आएको छ । 

कतिपय लगानीकर्ता सूचना पाएर पनि त्यसको सही मूल्या‌कन गर्न नसक्दा आत्तिएको अनुमान ब्रोकरहरूले गरेका छन् । हल्लाको भरमा कारोबार गर्ने परिपाटी अझै जारी रहेकाले बजार सम्बन्धी सही सूचना तथा जानकारीलाई गलत हल्लाले गलत नै बनाउने र सोही हल्लाको पछि लाग्ने परिपाटीको सिकार पछिल्लो समय बजार बन्दै आएको टिप्पणी ब्रोकरहरूले गरेका छन् ।

सम्बन्धित निकायबाट आधिकारिक निर्णय सार्वजनिक नहुँदै सामाजिक सञ्जालमा अनेक तर्क वितर्क हुने गरेको र धेरैजसो लगानीकर्ता सामाजिक सञ्जालको गलत सूचनाको सिकार बनेको जानकारी समेत ब्रोकरहरूले दिएका छन् । अनुभवी लगानीकर्ताहरूले भने यो समय कम्पनीहरूको लाभांश लक्षित लगानीको समय भएकाले अन्य कुराहरूप्रति ध्यान नदिईकन राम्रा कम्पनी र आकर्षक लाभांशप्रति लक्षित भई लगानी गर्न सुझाव दिएका छन् ।

परिसूचकमा उतारचढाब देखिए पनि यो साता कारोबार रकम भने बढेको छ । गत साता रू. २० अर्ब ८७ करोड २० लाख ३८ हजार भन्दा बढीको ४ करोड ९६ लाख ८१ हजार ७१९ कित्ता धितोपत्र खरीदविक्री भएकोमा यो साता रू. २२ अर्ब ९९ करोड ८१ लख ७० हजार बराबरको ५ करोड ४१ लख ९९ हजार ५६० कित्ता धितोपत्र खरीदविक्री भएको छ । 
यो साता सर्वाधिक गुमाउनेमा वित्त समूह 
यो साता कारोबारमा आएका १३ ओटा समूहगत उपसूचकहरूमध्ये सात समूहको उपसूचक घटेको छ । यीमध्ये पनि वित्त समूहको उपसूचक सर्वाधिक ६ दशमलव ७३ प्रतिशतले घटेको छ ।

वित्त समूहसँगै विकास बैंक समूहको ६ दशमलव ४१ प्रतिशत, होटल तथा पर्यटन समूहको ५ दशमलव २० प्रतिशत, लघुवित्त समूहको ३ दशमलव शून्य ९ प्रतिशत, अन्य समूहको २ दशमलव ७० प्रतिशत, बैंकिङ समूहको शून्य दशमलव ८६ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव १७ प्रतिशत उपसूचक घटेको हो । 

यो साता लगानी समूहको शून्य दशमलव २१ प्रतिशत, जलविद्युत समूहको शून्य दशमलव ४८ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ५४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव १० प्रतिशत, निर्जीवन बीमा समूहको १ दशमलव ४२ प्रतिशत र व्यापारिक समूहको ४ दशमलव ७२ प्रतिशत उपसूचक बढेको छ । 

साताको कारोबारमा व्यापारिक समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement