ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
TvsBiz Bazar

तनहुँमा चार पक्की पुल निर्माण सम्पन्न

२०७९ साउन, २४  
गण्डकी प्रदेश विकास
NA

तनहुँ । पूर्वाधार विकास कार्यालय तनहुँमार्फत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार पक्की पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाका विभिन्न ठाउँमा करीब रू. १६ करोड बराबरका ती पक्की पुल निर्माण सम्पन्न भएका हुन् । विभिन्न मितिमा निर्माण शुरू भएका उक्त पुल आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न भएको कार्यालयले बताएको छ ।

कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबेँसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालयका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिइन् ।

फेदीखोला मोटरेबल पुल रू. चार करोड २८ लाख ३२ हजार, बुडुवा खोला पुल रू. दुई करोड नौ लाख, रिस्ती बगुवाखोला पुल रू. चार करोड २५ लाख र रिस्ती सोतीबँेसीको पुल रू. चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो । फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव आठ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबँेसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको मिश्रले जानकारी दिइन् ।

उक्त आर्थिक वर्षमा सातओटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनओटा पुल निर्माण सम्पन्न हुन नसकेको उनले बताइन् ।

‘सातओटा पुल सम्पन्न हुन्छ भन्ने लक्ष्य थियो तर तीनओटा पुलको काममा ढिलाइ भयो, चारओटा मात्रै सम्पन्न भएको छ,’ उनले भनिन् । करिब रू. ११ करोडको लागतमा निर्माण सम्पन्न हुने तीन पुलहरू अन्तिम चरणमा पुगेका छन् । ज्वालाखोला मोटरेबल पुल रू. तीन करोड २१ लाख, द्रोपद खोला मोटरेबल पुल रू. तीन करोड ८३ लाख र बरखोला पुल रू. तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले बताएको छ ।

कार्यालयले गत आवमा ६४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । उक्त वर्ष रू. एक अर्ब ३१ करोड सात हजार ४० विनियोजन भएकामा रू. ८४ करोड ७६ लाख १४ हजार खर्च भएको बताइएको छ ।  पूँजीगततर्फ कूल रू. एक अर्ब २८ करोड ६२ लाख ८२ हजार विनियोजन भएकामा रू. ८३ करोड ३४ लाख पाँच हजार खर्च भएको कार्यालयले बताएको छ । चालुतर्फ विनियोजित रू दुई करोड ४४ लाख ५८ हजारमध्ये रू एक करोड ४२ लाख नौ हजार खर्च भएको छ । रासस

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement