ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाइन काटेर एक करोड बक्यौता असुल

२०७९ साउन, २४  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

पर्वत (अस) । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत पर्वत वितरण केन्द्रले गत आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुलमा बक्यौता रहेको रू. १ करोड तीन लाख रुपैयाँ असुल गरेको छ । केन्द्र प्रमुख शिवनारायण गोसलीका अनुसार लामो समयसम्म पनि महसुल नतिर्ने ग्राहकको विद्युत् कटौती अभियान थालेपछि एक वर्षमा उक्त रकम असुल गरिएको हो । महसुल समयमा नै नबुझाएका सरकारी कार्यालयदेखि व्यक्तिका घरसम्मको विद्युत् कटौती गर्ने क्रममा ६७६ ओटा मिटरहरूमा जोडिएको विद्युत् काटिएको कार्यालयले जानकारी दिएको छ ।

मिटर रिडिङ गरेको ६०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाएका ग्राहकलाई सूचनामार्फत महसुल बुझाउन कार्यालयले ताकेता गर्दै आएको थियो । तर, पटक–पटक ताकेता गर्दा पनि महसुल बुझाउन अटेरी गरेपछि केन्द्रले ६०औं दिनपछि विद्युत् लाइन काट्न शुरू गरेको थियो । ‘केही महीनाअघि शुरू गरिएको सो अभियानअन्तर्गत फागुन मसान्तसम्ममा ३०५ जनाको लाइन काटेर रू. ४८ लाख २६ हजार असुल गरिएकोमा अरू रकम चैतदेखि असारसम्म असुल गरेका हौं,’ केन्द्र प्रमुख गोसलीले भने, ‘ग्राहकहरूलाई समयमै महसुल बुझाएर छूट सुविधा लिन अनुरोध पनि गरिएको हो । छूट दिँदा पनि महसुल नतिरेकाहरूको मात्रै लाइन काटिएको हो ।’

कार्यालय प्रमुख गोसलीले विद्युत् महसुल संकलन विनियमावली २०७८ को विनियम ८ को उपविनियम २ को व्यवस्था अनुसार मिटर रिडिङ गरेको ३१औं दिनदेखि ४०औं दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने र ४०औं दिनपछि महसुल बुझाएमा २५ प्रतिशत दस्तुर लाग्ने बताए । यस्तै, विनियमावलीको विनियम १० मा मिटर रिडिङ गरेको ६०औं दिनसम्म विद्युत् महसुल नबुझाएमा विनासूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काट्न सकिने व्यवस्था छ । सोही अनुसार पर्वतमा पनि लाइक काट्दै बाँकी रहेको महसुल असुल गरिएको उनको भनाइ छ ।

केन्द्रले बक्यौता महसुल संकलनसहित अन्य शीर्षकमा पनि प्रगति गरेको छ । सडक बत्ती बाहेकको विद्युत् महसुल संकलनमा शतप्रतिशत प्रगति भएको छ । विद्युत् चुहावट नियन्त्रणतर्फ ६ प्रतिशतको लक्ष्यमा साढे ४ प्रतिशत लक्ष्य पूरा भएको छ । नयाँ लाइन विस्तार, वितरण लाइनको सुदृढीकरण, नयाँ ट्रान्सफर्मर थप, मोदी गाउँपालिकाको पातिचौरमा नयाँ नो लाइट भवन निर्माण, विद्युत् चुहावट कारबाही, छूट युनिट असुललगायतका काम भएको केन्द्र प्रमुख गोसलीले बताए ।

उनका अनुसार कार्यालयमा गत आर्थिक वर्षमा ६१६ नयाँ ग्राहक थपिएका छन् । ५१ किलोमिटर ११ केभी ४००/२०० भोल्ट लाइन निर्माण गरिएको छ । छ ओटा नयाँ ट्रान्सफर्मर थप भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)