ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

छोराछोरीलाई व्यक्तिगत वित्तबारे कसरी सिकाउने ? अपनाउनुस् यी टिप्स

२०७९ साउन, २५  
समाचार र यो पनि
Image Not Found

काठमाडाैं । यो ‘हेलिकप्टर अभिभावक’को युग हो । आमाबुबा हेलिकप्टरझैं छोराछोरीको वरिपरि घुमिरहने, चाहिनेभन्दा बढ्दा चिन्ता अनि चासो दिने, मुख बाएर केही कुरा माग्नुअगावै चाहिने नचाहिने सबै माग पूरा गरिदिने प्रवृत्ति अहिलेका कयौं अभिभावकहरूमा व्याप्त छ । बालबालिकाहरूले गर्नुपर्ने काम अनि सुल्झाउनुपर्ने समस्याहरू पनि अभिभावकहरू आफै अगाडि सरेर समाधान गरिदिन्छन् । आमाबुबा आफैमा व्यक्तिगत वित्तको व्यवस्थापनमा अनेक समस्या देखिन्छ । यस्तोमा केटाकेटीहरूलाई व्यक्तिगत वित्तबारे ज्ञान दिन सिकाउन कठिन छ । 

युट्यूबमा कुनै बालबालिकाले केही सामान वा खेलौना चलाएको देख्नेबित्तिकै अहिलेका बच्चालाई हातैमा त्यस्ता सामान चाहिन्छ । साथीभाइ वा छरछिमेकमा कुनै बच्चाले नौलो चिज बोकेको छ भने उनीहरूलाई त्यो नभइ हुँदैन । अभिभावकहरू पनि मागेको मात्रै होइन, आफूले देखेको अनि आफूलाई राम्रो लागेको सबै कुरा छोराछोरीलाई किनिदिन्छन् । यसले बच्चाहरूमा आफूले जे भन्याे आमाबुबाले त्याे पूरा गरिदिन्छन् भन्ने साेच पलाउँछ । 

केही बच्चाहरूमा आमाबुबासँग ‘जति पनि पैसा हुन्छ’, ‘पैसा कमाउन धेरै दुःख गर्न पर्दैन’ भन्ने बुझाई पनि पाइन्छ । मनमा विचार आउनेबित्तिकै सामान किन्नु पर्छ वा पाइन्छ, यसका लागि सोचविचार गर्नु पर्दैन भन्ने पनि उनीहरू सोच्छन् । बिना कुनै हिच्किचाहट बच्चाहरू आफ्नो माग राख्छन् ।

डेढ-दुई वर्षको उमेरदेखि नै बालबालिकाहरूले पैसा चिनिसकेका हुन्छन् । आफ्ना बालबालिकाहरूलाई ‘पैसा रुखमा फल्दैन’, ‘दुःख गरेर मात्रै पैसा कमाइन्छ’, ‘सोचविचार गरेर मात्रै खर्च गर्नुपर्छ’ लगायत पैसाको महत्त्वबारे कसरी सिकाउनु नै अभिभावकहरूको चुनौती हो । 

यसका लागि केही टिप्स छन्- 

रमाइलो गर्न पैसा चाहिन्छ भन्ने साेच हटाउनुस् 

रमाइलो गर्न केही सामान किन्नु पर्छ वा पैसा नै खर्च गर्नु पर्छ भन्ने सोच बालबालिकाहरूमा हुन्छ । पैसा खर्च नगरीकन, आफूले मागेकै खेलौना वा सामान नभए पनि रमाइलो गर्न, एक अर्कासँग रमाउन सकिन्छ भन्ने कुरा बालबालिकाहरूलाई सिकाइयो भने उनीहरू ध्यान किन्ने कुराबाट अन्यत्र मोड्न सकिन्छ । तर, यसका लागि पनि हरेक घरपरिवारमा सोही अनुरूपको व्यवहार र सिकाइ हुनु पर्छ ।

घरमा सबै जना रमाएर खाना पकाउने, सरसफाइ गर्ने, पैसा खर्च नगरी रमाइलो गर्नेलगायत वातावरण बनाउने हो भने बालबालिकाहरूमा पनि सोही अनुरूपको बानी विकास हुन्छ । 

सबै कार्यलाई संस्कार नबनाउनुस्

जीवनमा ठयाक्कै यही हुनु पर्छ वा यही नै गर्नु पर्छ भन्ने नियम हुन्न । कहिलेकाहीँ हामीहरू केही बानीलाई नियम बनाउँछौं । अनि बेलाबखतमा अर्थहीन वस्तु वा सामानमा खर्च गर्छौं, उदाहरणका लागि : कसैको घरमा जादा केही कुरा लैजाने गर्छाैं । याे देखेर बालबालिकाहरूमा पनि बेतुकका सामान उपहारको रूपमा दिने बानीको विकास हुन जान्छ । 

नियमित खालको गतिविधिलाई पैसासँग नजोड्नुस्

दैनिकरूपमा हामीले गर्ने गतिविधिलाई पैसासँग जोड्नु हुँदैन । अभिभावकले केटाकेटीलाई आफ्नो काम आफै गर्न लगाउनु पर्छ । अरुको लागि बिना पैसा वा सामानको लोभ नगरी काम गरिदिन सिकाउनु पर्छ । कुनै काम गरेपछि केही कुरा किनिदिउँला वा पैसा दिउँला भन्ने बानी गर्नु हुन्न । यस्तो बानी गरियो भने बालबालिकाहरूमा पुरस्कारको रूपमा केही सामान वा पैसा पाइने रहेछ भन्ने सोच पलाउँछ ।

बालबालिकासम्बन्धी निर्णयमा अरुलाई हस्तक्षेप गर्न नदिनुस् 

बालबालिकाहरूलाई वित्तीय अनुशासन सिकाउन आमाबुबाहरूले कति जतन गरेका हुन्छन् । तर, घरमा हजुरबुबा हजुरआमा वा अन्य आफन्तले बच्चाहरूलाई महँगा उपहार किनिदिने, भनेको कुरा पुर्याइदिने वा पैसा दिने बानीका कारण उनीहरूको वित्तीय अनुशासन भंग भएको पाइन्छ । केटाकेटीका लागि सामान वा आवश्यक वस्तु कसले किन्ने भन्नेबारे अभिभावकले नियम बनाउनुपर्छ अनि सोही नियममा चल्नु पर्छ ।

साना केटाकेटीले जे मागे पनि पुर्याइदिने प्रवृत्तिले पनि उनीहरूलाई बिगारिरहेको हुन्छ । हुन त हजुरबुबा हजुरआमाहरूले माया देखाउन त्यस्तो गरेका हुन्छन् । तर, उनीहरूको यही बानीले केटाकेटी बिग्रिन्छन् वा उनीहरूलाई वित्तीय अनुशासनमा राख्न कठिन हुन्छ । यो कुरा हामीले आफ्नो अभिभावकलाई बुझाउन वा सम्झाउन जरुरी हुन्छ । यस्तो भएमा केटाकेटीलाई कसले भनेको मान्ने भन्नेमा द्विविधा हुन्न । 

कुनै सामान नकिन्दाको महत्त्व सिकाउनुस् 

केटाकेटीहरूलाई जे देख्यो त्यहीँ चाहिन्छ । कहिलेकाहीँ उनीहरूले एकै पटकमा धेरै कुरा माग्छन् । साना केटाकेटीहरूले अवसरको महत्त्व बुझ्छन् । राम्रो नराम्रो अनि उचित अनुचित पनि अलिअलि खुट्याउन सक्छन् । कुनै सामान नकिने काम लाग्ने ठूलै सामान किन्न सकिन्छ भनेर सिकाउन सकिन्छ । यो सिकाई महत्त्वपूर्ण छ । यो सिकाउन पनि सजिलो छ । बालबालिकाहरूलाई विकल्प दिनुस् अनि आफै रोज्न लगाउनुस्, उदाहरणका लागि : फिल्म हेर्न जाने वा बाहिर खाना खान जाने, पार्कमा खेल्न जाने कि खेलौंना किन्न आदि । हरेक हप्ता यसैगरी अभ्यास गर्दै जाँदा बच्चामा पनि सोही बानीको विकास हुन्छ । 

उपहार दिने वा केही कुरा मनाउन घुस दिने बानी बन्द गर्नुस् 

केही अभिभावकहरू कहिलेकाहीँ केटाकेटीले अचाक्ली गर्दा कराउँछन्, गाली पनि गर्छन् । तर, यस्तो फिटिक्कै गर्नु हुन्न । कतिपयले केटाकेटीकाे भनेको कुरा पुर्याउन नसक्दा उनीहरूलाई उपहार दिने वा पछि कुनै सामान किनिदिउँला भन्छन् । विशेषगरी कामकाजीहरूले छोराछोरीसँग पर्याप्त समय बिताउन नपाएकोमा आत्मग्लानी महसुस गरेर उनीहरूलाई आवश्यक अनावश्यक खेलौना वा सामान किनिदिने गरेको पाइन्छ । 

छोराछोरीसँग समय बिताउन सकिनँ, यसो उसो गर्न सकिनँ भन्ने आत्मग्लानी मनमा पाल्न छाडिदिनुस् । समयको सही सदुपयोग गरेर बालबालिकाहरूसँग समय बिताउनुस् । उनीहरूको कुरा सुन्नुस् । 

स–साना निर्णय गर्न दिनुस् 

दुई वर्षको बच्चाले पसलमा बेच्न राखिएको फलफूलमध्ये यो खान्छु भन्न सक्छ । तपाईंले पसलभर भएकामध्ये कुनै तीन-चार ओटा फलफूल छान्न भन्नुभयो भने उनीहरूले नाम भन्न सक्छन् । ठूलो हुँदै गर्दा उनीहरूलाई हिसाब नै नआउँदा पनि तुलना गर्ने अनि छान्न सक्ने बन्दै जान्छन् । आफूले किन्ने सामानको पैसा आफैं तिर्न सक्ने, आफूले गरेको कामलाई माया गर्ने बानीको विकास हुन्छ । जिम्मेवार बन्दै जान्छन् अनि निर्णय गर्दा सोचविचार गर्ने क्षमता पनि पलाउँछ । बच्चा निष्क्रिय हुने अनि हरेक कुराको लागि अभिभावकलाई दोष लगाउने बानी बस्दैन । 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement