काठमाडौं । पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६ प्रति नेपाल भेटेरिनरी एशोसिएशनले आपत्ति व्यक्त गरेको छ । संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले प्रतिनिधिसभामा पेश गरेको पशु प्राविधिकलाई मात्र नियमन गर्न ल्याइएको उक्त विधेयकको एशोसिएशनले विरोध गरेको हो ।
भेटेरिनरी डाक्टर र पशु प्राविधिकहरूलाई समान अधिकार प्रदान गरिने भनेर आउन लागेको उक्त ऐनप्रति एशोसिएशनको गम्भीर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख छ । विधेयक गत २२ साउनमा संसद्को कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्णकुमारी सुवेदीले प्रतिनिधिसभामा पेश गरेकी थिइन् ।
स्नातक गरेका भेटेरिनरी डाक्टर र अधिकतम ३० महीना डिप्लोमा (१०+२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र अधिकारमा कुनै भिन्नता नराखी ल्याइएको उक्त विधेयक एकपक्षीय, दमनकारी र षड्यन्त्रपूर्ण रहेको एशोसिएशनका अध्यक्ष सितलकाजी श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त विधेयकमा भएका त्रुटिहरू सच्याउन विज्ञप्तिमार्फत माग गरिएको छ ।