साउन २६, काठमाडौं । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन् ।
बिहीवार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले पूर्व म्यादी र रिटायर्ड सुरक्षाकर्मीले पहिलो प्राथमिकता पाउने बताएका हुन् ।
अहिले म्यादी प्रहरीको संख्या निक्र्यौल भइनसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको सिंहले बताए ।
उनले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने बताए । महानिरीक्षक सिंहले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताए ।
मंसिर ४ को निर्वाचनको लागि प्रारम्भिक चरणमा गरिने कामको तयारीमा प्रहरी प्रधान कार्यालय छ । म्यादी प्रहरी, नेपाल प्रहरीहरु खटाउँदा लाग्ने खर्चको बारेमा गृह मन्त्रालयमा पठाइसकेको पनि सिंहले बताए ।
उनले नेपाल प्रहरी निर्वाचनको तयारीका साथै अपराध अनुसन्धान र नियन्त्रणमा पनि गम्भीर बनिरहेको समेत बताए ।