नयाँ दिल्ली (भारत) । भारतीय कम्पनीहरूले रुससँग किनेको कोइलाको भुक्तानी प्रायः एशियाली मुद्राहरूमा गर्ने गरेका छन् । भन्सारको तथ्यांक र उद्योगसम्बद्ध स्रोतको भनाइअनुसार अमेरिकी डलरको प्रयोग टार्न र रुसमाथि पश्चिमी देशहरूले लगाएको प्रतिबन्ध टार्न कम्पनीहरूले एशियाली मुद्रा प्रयोग गरिरहेका छन् ।
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले यसअघि नै कम्पनीहरूले ठूलो परिमाणमा कोइला आयात गर्न चिनियाँ युआनको प्रयोग गरिरहेको भन्दै समाचार छापेको थियो । तर, पछिल्लो समय एशिया क्षेत्रका अन्य मुद्राको प्रयोगको प्रचलन पनि सामान्य बन्दै गएको देखिन्छ । युक्रेनमाथि आक्रमण शुरु भएयता रुसले पश्चिमी प्रतिबन्धको प्रभाव कम गर्न र अन्यत्रको भन्दा भारी छूटमा तेल र कोइला बेचेर इन्धन आम्दानी बढाउन थालेको छ । यस्तोमा भारतले रुससँग आक्रामक ढंगले तेल र कोइला किनिरहेकाे छ ।
जुलाईमा रुस भारतको तेस्रो ठूलो कोइला आपूर्तिकर्ता बनेको छ । जुनमा पनि कोइलाको आयात २० प्रतिशतले बढेर २० लाख ६० हजार टनमा उक्लिएको थियो । जुनमा भारतीय क्रेताहरूले अमेरिकी डलर बाहेकको मुद्रा प्रयोग गरेर ७ लाख ४२ हजार टन कोइला किनेको भन्सारको कागजपत्रले देखाएको छ । यो रुसबाट आयातित कोइलाको करीब ४४ प्रतिशत हो । भारतीय स्टिल निर्माता र सिमेन्ट उत्पादकहरूले हालैका हप्ताहरूमा दिराम, हङकङ डलर, युआन र यूरोमा भुक्तानी गरेका छन् ।
रुसबाट आयात गरिएको कोइलाको डलरबाहेक अन्य मुद्रामा भएको भुक्तानीमा युआनको हिस्सा ३१ प्रतिशत रहेको छ । २८ प्रतिशत भुक्तानीमा हङकङ डलरको प्रयोग भएको छ । एक चौथाई हिस्सा यूरोले ओगटेको छ भने १६ दशमलव ६६ प्रतिशतमा संयुक्त अरब इमिरेट्सको दिराम प्रयोग भएको छ । यस मामिलामा अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय र रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) कसैले पनि कुनै प्रतिक्रिया दिएका छैनन् ।
आरबीआई हालै मात्रै विदेश व्यापारमा भारतीय रुपयामा कमोडिटिजको भुक्तानीलाई मञ्जुरी दिएको छ । कम्पनीहरूले डलर खर्चेर अन्य मुद्राहरू किनेर रुसलाई भुक्तानी गरिरहेका छन् । रुसमाथि अमेरिका र अन्य पश्चिमी देशहरूले प्रतिबन्ध थप कसिलो पारेको अवस्थामा उत्पन्न हुने झट्काबाट बच्नका लागि व्यापारीहरूले डलर बाहेकका मुद्रामा कारोबार गरेको भारतीय व्यापारीहरू बताउँछन् ।