ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

चीनमा फेरि देखियो अर्को भाइरस, ३५ जनामा छुचुन्द्रोबाट सर्ने ल्यांग्रा भाइरसको संक्रमण 

२०७९ साउन, २७  
अन्तरराष्ट्रिय
Image Not Found

पेचिङ (चीन) । चीनमा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । पूर्वी चीनमा छुचुन्द्रोबाट फैलिएको ल्यांग्रा भाइरसका कारण मानिसहरू संक्रमित भएका छन् । श्रीउ प्रजातिको छुचुन्द्रोमा उक्त भाइरस पाइएको छ ।

शानतोङ र हनन प्रान्तमा ३५ जना बिरामीहरूमा ल्यांग्रा हेनिपाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितहरूमा ज्वरो आउने, थकान र खोकी जस्ता लक्षणहरू देखिएका छन् । संक्रमण जनावरबाट मानिसमा सरेको ठानिएको छ । अनुसन्धाताहरूले यो भाइरस छुचुन्द्रोको एउटा प्रजातिमा पाएका छन् । यो जनावर ल्यांग्रा भाइरसको प्राकृतिक भन्डार भएको पाइएको छ । 

हेनिपा भाइरसको प्रकार भएकोले यो पशुबाट मानिसमा सर्न सक्ने भए पनि यो कोरोना भाइरस जत्तिकै संक्रामक नभएको बताइएको छ । यो भाइरस मानिसबाट मानिसमा सर्छ कि सर्दैन भन्नेचाहिँ  अहिलेसम्म पुष्टि भइसकेको छैन । यद्यपि, सतर्क रहन भने चेतावनी दिइएको छ ।

परीक्षणका क्रममा २ प्रतिशत बाख्रा र ५ प्रतिशत कुकुरमा ल्यांग्राको संक्रमण पाइएको थियो । २५ प्रजातिका जंगली जनावरमा गरिएको परीक्षणमा पनि २७ प्रतिशतमा संक्रमण भेटिएको बताइएको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढेसँगै त्यहाँ ज्वरो आएका बिरामीहरूमा परीक्षण तीव्र पारिएको थियो । बिरामीहरूबाट संकलन गरिएको स्वाबको नमूना पहिचान गरेर छुट्याइएको थियो । यस क्रममा ३५ जनामा ल्यांग्रा भाइरसको पुष्टि भएको हो ।

वन्यजन्तुहरूको बढ्दो शोषण र जलवायु परिवर्तनका कारण भविष्यमा पनि यस्ता थप रोगहरू देखा पर्न सक्ने भन्दै यसअघि नै संयुक्त राष्ट्र संघले चेतावनी दिएको थियो । 

के के छन् लक्षणहरू ?

संक्रमितहरूमध्ये २६ प्रतिशतमा ज्वरो देखिएको छ । ५४ प्रतिशतमा थकानको समस्या छ । ५० प्रतिशतले खोकी अनि ३८ प्रतिशतमा खिन्नताको समस्या पाइएको छ । केहीमा भने टाउको दुख्ने, बान्ता हुने समस्या पनि भेटिएको छ । केही बिरामीमा मिर्गौला र कलेजोमा समस्या पनि पाइएको छ । 

यसअघि विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमण पनि चीनबाटै फैलिएको थियो । 

Neco insurance Limited

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement