ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

येन बद्धो बलिराजा दानवेन्द्रो महाबल... (फोटो फिचर)

२०७९ साउन, २७  
फोटो फिचर
Image Not Found
author avatar सुनिल शर्मा

साउन २७, काठमाडौं । काठमाडौंको मखनस्थित महादेव मन्दिर परिसर शुक्रवार बिहानैदेखि भरिभराउ थियो । कारण थियो– जनैपूर्णिमा पर्व । 

कोही मन्दिर परिसरमा बसेका पुरोहितबाट डोरो बाँध्दै थिए त कोही जनै धारण गर्दै । पुराेहितहरूलाई पनि भ्याइनभ्याई थियो । 

मखनको महादेव मन्दिरमा मात्रै होइन, देशभरका विभिन्न तीर्थस्थलमा पनि श्रद्धालुको भीड लाग्यो । जनैपूर्णिमाकै अवसरमा ललितपुरको कुम्भेश्वरमा त मेलासमेत लाग्यो । 

श्रावण शुक्ल पूर्णिमाको दिन आज देशभर जनैपूर्णिमा पर्व धुमधामसँग मनाइएकाे छ । यस दिन वैदिक सनातन धर्मावलम्बीले गुरु पुरोहितबाट दाहिने हातमा रक्षासूत्र (डोरो) बाँधेका छन् । डोरो बाँध्दा ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ मन्त्रोच्चारण गरिन्छ । 

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएको पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलेको हो । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा पाइने धार्मिक विश्वास छ । आजकै दिन तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने धार्मिक शास्त्रमा उल्लेख छ । 

आज ११ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटीसमेत खाइएको छ । यसरी क्वाँटी बनाई खानाले रोग नलाग्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । 

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइएका छन् । 


 

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement