ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

एउटा अनौठो प्लान्ट जसलाई एक हप्ता खेतमा राखे युरियाको खपत आधा घट्छ

२०७९ साउन, २९  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । बालीनालीको उत्पादन बढाउने हेतुले खेतबारीमा युरिया, डीएपी, पोटासलगायत रासायनिक मल प्रयोग गर्ने चलन बढ्दो छ । तर, सरकारले बेलैमा रासायनिक मल आपूर्ति गर्न नसक्दा किसानले वर्षेनि यसको अभाव झेल्दै आएका छन् । 

पछिल्लो समय नेपालमा भित्रिएको अजोला प्लान्ट प्रविधि उपयोग गर्न सके धान बालीमा युरियाको खपत ५० प्रतिशतसम्म घटाउन सकिने विज्ञहरूले बताएका छन् । 

उनीहरूका अनुसार उत्पादन लागत पनि सस्तो पर्ने र यसको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर नगर्ने भएकाले अजोला प्लान्ट प्रविधि चीन, भारत, फिलिपिन्सलगायत देशले समेत अपनाएका छन् । नेपालमा पनि राष्ट्रिय खाद्य बैंक लिमिटेडले बर्दियाको गुलरिया नगरपालिकामा यो प्रविधिको सफल परीक्षण गरिसकेको छ ।

यस कार्यमा सहयोग गरिरहेका त्रिभुवन विश्वविद्यालय वनस्पति विज्ञान केन्द्रीय विभागका प्राडा मोहनप्रसाद पन्थीका अनुसार सय किलो युरिया प्रयोग गर्नुपर्ने ठाउँमा अजोला प्रयोग गरे ५० किलो युरिया भए पुग्छ ।

अजोला प्लान्ट पानीमा उम्रने एक किसिमको उन्यूँ हो । यसले हावामा भएको नाइट्रोजन आफूमा लिने र आफूसँगै उम्रिएका अन्य बिरुवालाई पनि उक्त नाइट्रोजन लिन मद्दत गर्ने भएकाले धान रोपेर जरा लागिसकेपछि यसलाई धानखेतभित्र छर्किनुपर्ने पन्थी बताउँछन् । सामान्यतया धान रोपेको १ सातादेखि १२ दिनभित्र पानीले भरिएको धानखेतभित्र यसको प्रयोग गर्न सकिन्छ । पूरै खेतमा अजोला फैलिइसकेपछि धानखेतभित्रको पानी सुकाउनुपर्छ । त्यसको केही दिनभित्र यो कुहिन्छ । त्यसपछि पुनः पानी हाल्न सकिन्छ ।

धानखेतभित्र उम्रिने अन्य झारपातसमेत नष्ट गर्ने र माटोलाई मलिलो र उर्वर बनाइराख्नमा पनि यसले मद्दत गर्छ । पानी जम्ने पोखरी बनाई सोही पोखरीमा यसको उत्पादन गर्न सकिन्छ । १ किलो अजोला प्लान्ट पोखरीमा राखेको १५ दिनभित्र दोब्बर उत्पादन हुने भएकाले यसको उत्पादन पनि सहज तरीकाले गर्न सकिने उनको भनाइ छ । 

प्राडा पन्थीका अनुसार २ पैसा प्रतिकिलोका दरले यसको उत्पादन गर्न सकिन्छ । ‘यसको सबैभन्दा सकारात्मक पक्ष भनेको धानको उत्पादन वृद्धिमा पनि यसले भूमिका खेल्छ । अजोला प्रयोग गरेको खेतमा धान उत्पादन १० देखि १४ प्रतिशतसम्म बढेको विभिन्न अनुसन्धानले देखाएका छन्,’ उनले आर्थिक अभियानसँग भने ।

कुखुरा र पशु चौपायाको दानामा समेत सुकाएर अजोला प्रयोग गर्न सकिने भएकाले यसलाई बहुउपयोगी बिरुवाका रूपमा लिइने उनले बताए । दानामा अजोला प्रयोग गर्दा कुखुराको स्वास्थ्य राम्रो भई मासु र अण्डा उत्पादन बढ्ने गर्छ । गाई, भैंसीलाई ढुटो वा भुसामा मिसाएर खुवाउनाले दूध उत्पादनसमेत १० प्रतिशतले बढ्छ ।

अजोला फ्री फ्लोटिङ फर्न हो । यसका ६ ओटा ज्ञात प्रजाति छन् । अजोला पिनाटा एशियामा सबैभन्दा प्रचलित प्रजाति हो । यसले बिरुवाको द्रुत वृद्धिका लागि पर्याप्त वायुमण्डलीय नाइट्रोजन निश्चित गर्छ । साथै बिरुवालाई जैविक नाइट्रोजन मलको स्रोत प्रदान गर्छ । यसलाई जलीय हरियो मलको रूपमा लिन सकिन्छ । पछिल्लो समय धानखेतीमा विशेष चासोका रूपमा यसलाई लिन थालिएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement