ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs

१० जिल्लामा १४ ओटा खाद्य गोदामघर बनाइँदै, ७७ करोड ७१ लाख रूपैयाँ निकासा

२०७९ साउन, ३०  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारले साढे ७७ करोड रुपैयाँ लगानीमा देशका विभिन्न १० जिल्लामा १४ ओटा खाद्य गोदामघर निर्माण गर्ने भएको छ । खाद्यान्न भण्डारणका लागि सरकारले विशेषगरी तराईका र केही पहाडी जिल्लामा खाद्य गोदामघर निर्माण गर्न लागेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । 

बारा, रौतहट, सप्तरी, नुवाकोट, कपिलवस्तु, सर्लाही, स्याङ्जा, बर्दिया, झापा र चितवन गरी १० जिल्लामा खाद्य गोदामघर निर्माणका लागि छानिएका प्रस्तावका लागि सरकारले ७७ करोड ७१ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ । बारामा २ हजार मेट्रिक टन, सप्तरीमा ४ सय टन, नुवाकोटमा हजार टन, कपिलवस्तु र सर्लाहीमा सय सय टन, स्याङ्जा र बर्दियामा २–२ सय टन क्षमताका भवन बन्नेछन् । 

त्यसैगरी झापामा २३ सय १६ टन क्षमताको गोदामघर र ५ हजार टन क्षमताको थ्रेसिङफ्लोर भवन बन्नेछ । चितवनको राप्ती नगरपालिकामा हजार टन क्षमताको गोदामघर र थ्रेसिङफ्लोर भवन बन्नेछ भने खैरहनी नगरपालिकामा २ सय १० टन क्षमताको एउटा गोदामघर बन्नेछ । रौतहटको चन्द्रपुर नगरपालिकामा ५५ हजार र गढीमाई नगरपालिकामा ४ हजार टन क्षमताका एकएकओटा खाद्य गोदामघर बन्नेछन् ।

मन्त्रालयमार्फत कृषि पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रहेर स्थानीय निकायको लागत सहभागिता रहने गरी बाइब्याक मेकानिज्ममा खाद्य गोदामघर निर्माण गर्न लागिएको प्रवक्ता सञ्जेलको भनाइ छ । 

उनका अनुसार गोदामघरसहित त्यसका लागि आवश्यक पर्ने अन्य पूर्वाधार सहयोगका लागि उक्त बजेट निकासा गरिएको हो । मन्त्रालयले गत आर्थिक वर्षको बजेटबाटै काम हुने गरी यो कार्यक्रम अघि सारिएको बताएको छ ।

रकम निकासा भएसँगै टेन्डर प्रक्रिया शुरू भई टेन्डरको टुंगो लागेपछि निर्माणको काम शुरू हुने बताइएको छ । नयाँ गोदामघर निर्माण भएपछि ती क्षेत्रमा उत्पादन हुने मुख्य खाद्यबाली धान, गहुँ, मकैलगायत खरीद गरी मौज्दात गरिने र आवश्यक परेको ठाउँमा सहुलियत दरमा विक्रीका लागि पठाइने बताइएको छ ।

यसका साथै कृषि विकास पूर्वाधार कार्यक्रमअन्तर्गत नै नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजनाबाट चितवनको रत्ननगरमा पशु हाटबजार निर्माणको काम भइसकेको छ । सोही कार्यक्रमअन्तर्गत रूपन्देहीको कर्साघाटमा आधुनिक कृषि बजार निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव तयार गरिएको छ । तराईका आठओटा जिल्लामा डिप ट्युबवेल निर्माण गरी हजार हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

Neco insurance Limited
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement